| आइतवार, कार्तिक २९, २०८३

मुग्लिन पुल निर्माण सकियो, जेठ १५ मा प्रमबाट उद्घाटन हुने

पृथ्वीराजमार्गको मुग्लिन पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । अब रंगरोगनको काम मात्र बाँकी रहेको पुल बिभागले जनाएको छ । जेठको १५ गते प्रधानमन्त्रीको हातबाट उद्घाटन गर्ने तयारी गरिएको पुल योजना सेक्टर नं २ का योजना प्रमुख अंगलाल रोकायाले जानकारी दिए । ‘निर्माणको काम सकियो । अब पेण्टिङको काम बाँकी छ’,रोकायाले भने, ‘पुल भन्दा सडकको लेभल केही माथि भएकाले त्यसलाई पनि मिलाउनु पर्नेछ ।’ नयाँ पुल निर्माण भएपनि पुरानो पुललाई पनि यथावत राखिने पुल बिभागको योजना छ ।

‘नारायणगढतिरबाट आउने गाडीलाई पुरानो पुलबाट र पोखरातिरबाट आउने गाडीलाई नयाँपुलबाट गुडाउने भन्ने हाम्रो योजना छ’, उनले भने, ‘नयाँ पुल चालु भइसकेपछि पुरानो पुलको मर्मतसम्भार गर्नेछौं ।’

एलाइट, एडभेन्चर र लोहनी ब्रदर्श जेभीले १२ करोड रुपैंयामा निर्माण गर्ने गरी ठेक्का सम्झौता गरेको सो काम एडभेन्चर निर्माण कम्पनीका मोती पौडेलले गरेका योजना प्रमुख रोकायाले बताए ।

मुग्लिन पुल आर्क शैलीमा निर्माण गरिएको नेपालको पहिलो पुल हो । ‘यो मोडेलको पुल नेपालमा पहिलो प्रयोग हो’, रोकायाले भने, ‘अमेरिका, स्वीडेन, चाइनातिर बढि प्रयोगमा छन् । नेपाली प्राबिधिकले चाइनाबाट सिकेर पहिलो पटक मुग्लिनमा प्रयोग गरिएको हो । चाइनामा स्टिलबाट निर्माण गरिएको हुन्छ भने यहाँ सिमेण्ट, कंक्रिट, बालुवाबाट निर्माण गरिएको छ । योचाहिँ हाम्रो मौलिक प्रयोग हो ।’
पुलको लम्बाइ १६० मिटर छ । आर्क मात्रै १०० मिटर र चौडाइ सात मिटर रहेको योजना प्रमुख रोकायाले बताए । खोलामा खम्बा राख्न राख्न समस्या हुने ठाउँमा यो प्रविधि अति उत्तम हुने र अरु पुल भन्दा बलियो हुने बताइएको छ ।

पुलले आँबुखैरेनी गाउँपालिका ४ साखर पुलजीप र चितवनको मुग्लिन जोड्ने आँबुखैरेनी गाउँपालिकाका प्रमुख गिरबहादुर थापाले बताए ।
पुल निर्माणको ठेक्का चारबर्षअघि नै भएको थियो । ७४ सालको असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि काम बाँकी रहेकाले २०७६ सालको बैशाख मसान्तसम्म म्याद थप गरिएको थियो । थप भएको म्यादभित्र काम सकिने योजना कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्