
धार्चे गाउँपालिकाद्वारा कटुवाललाई तलब
अनुपमा खनाल
गोरखाको धार्चे गाउँपालिकाले सबै वडा कार्यालयमा इन्टरनेट विस्तार गरेको छ । केहि ठाउँमा फ्रि वाईफाईको ब्यबस्था पनि गरेको छ । जिल्ला सदरमुकामसहित विभिन्न ठाउँबाट सञ्चालित एफएम रेडियो तथा टेलिभिजनको पहुँच पनि धेरैजसो गाउँमा पुगेको छ । प्रायजसो सबैको हात हातमा मोवाईल फोन छ ।
तर पनि सबैलाई सुचना र सञ्चारको पहुँचमा ल्याउन गाउँपालिकाले कटुवाल प्रणालीलाई व्यवस्थित गरेको छ । मासिक तलबको व्यवस्था गरेर गाउँपालिकाले कटुवाल प्रणालीलाई व्यवस्थित गर्न थालेको हो ।
सूचनाका बिभिन्न माध्यम हुँदाहुँदै गाउँपालिकाले विभिन्न बैठक, सभा, कार्यक्रमको खबर कटुवाल मार्फत प्रबाह गर्ने गरेको छ । साथै कटुवाललाई प्रोत्साहन गर्नका लागि चालु आर्थिक बर्षदेखि गाउँपालिकाले मासिक तलबको ब्यबस्था गरेको छ । खबर सुनाएवापत परम्परागत रुपमा गाउँबाट अन्न बटुल्ने कटुवाललाई गाउँपालिकाले मासिक एक हजार पाँच सय रुपैयाँ तलबको ब्यबस्था गरेको गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले जानकारी दिए । ‘हाम्रो धार्चेमा पाका पुस्ताले नेपाली भाषा बुझ्दैनन्’ उनले भने ‘घर घरमा रेडियो टिभी छ । नयाँ पुस्ताले मोवाईलबाटै संसारका कुरा थाहा पाउँछन् । तर पाका पुस्ताले नेपाली भाषा जान्दैनन्, बुझ्ैदनन् । त्यसैले पाका पुस्तालाई खबर सुनाउन कटुवाल प्रथालाई पनि व्यवस्थित गर्ने प्रयास गरेका हौं ।’
गाउँपालिकाभित्रका लाप्राक, लापु, उहिया, काशीगाउँ, केरौंजा, गुम्दा गाउँका कटुवालले स्थानीय भाषामा खबर बाँड्छन् । गाउँपालिका, वडा कार्यालय, विभिन्न सरकारी तथा गैह्रसरकारी संघ संस्थाका कार्यक्रम, स्थानीय स्तरका सुचना लगायतका खबर भन्न भ्याईनभ्याई हुने लाप्राकका कटुवाल डम्बर गुरुङले बताए । ‘गाउँमा कार्यक्रम हुँदा मान्छे जुटाउने काम हाम्रै हो’, उनले भने ‘जसले जे गर्न लागेको भएपनि पहिले मलाई नै भन्छन् । मैले डाँडाडाँडा पुगेर कराएर खबर गर्छु । सबैले थाहा पाउँछन्, अनि कार्यक्रममा जम्मा हुन्छन् ।’
बिगतमा कटुवाल कराएबापत अन्नको व्यबस्था थियो । अन्न संकलन गर्न सास्ती, झञ्झटिलो भएपछि कटुवा प्रथा धरासायी हुन थालेको थियो । गाउँपालिकाले तलबको ब्यबस्था गरेपछि कटुवालहरु खुसी छन् । ‘बर्षेनी एकपटक गाउँभर अन्न बटुल्न पथ्र्यो’, डम्बर गुरुङले भने ‘कसैले दिन्थे, केहिले दिदैैंनथे । कतिपयले कुहिएको अन्न पनि दिन्थे । तर अब त गाउँपालिकाले नै पैसा दिन्छ, ढुक्क भएको छ ।’ डकर्मी पेशाबाट पाँच जनाको परिवार पाल्दै आएका उनले कटुवाल कराए वापतको रकम बचत गर्न थालेका छन् । ‘घर बनाउने कामबाट भएको कमाईले घर खर्च टरिहाल्छ । कटुवाल कराएर एक बर्षको १८ हजार बुझें । त्यो पैसा जोगाएर राखेको छु । दुखसुखमा काम लाग्छ नि’, उनले भने ।




