| आइतवार, कार्तिक २९, २०८३

दुखको सागरमा चुर्लुम्म सुशीला, भाइको उपचार खर्च जुटाउँदै सदरमुकाममा

किरण लोहनी

बैशाख १३ गते शुक्रवार, दिउँको एकबजेतिर सानो बालकलाई डोहो¥याउँदै एक बालिका जिल्ला प्रशासन कार्यालय परिसरमा आइपुगिन् । केही मैलो र आफ्नो ज्यानमा ठ्याक्कै नमिलेको घाँघर लगाएकी बालिकाको अनुहारमा चिन्ता, भय र अन्यौल सजिलै पढ्न सकिन्थ्यो । उनको साथमा भएका बालकको हात प्लाष्टर गरिएको थियो । थाहा भयो, उनीहरु दिदी भाई रहेछन् । दिदी १३ वर्षकी सुशीला विक र भाई ६ वर्षका सुवास । ठेगाना, शहीद लखन गाउँपालिका वडा नम्वर ८ बुंकोटको मैलुङ ।

बैशाख १२ गते साँझतिर साथीहरुसँग खेल्ने क्रममा सुवासको हात भाँचियो । हत्तपत्त उपचारका लागि स्वास्थ्य संस्थामा जाने मेसो मिलेन । किनभने उनी भाइ सुवासको मात्र होइन, अरु दुई बहिनीकोसमेत अभिभावक थिइन् ।

आफैं अभिभावकको आश्रयमा रमाउँदै हुर्कनु पर्ने उमेरकी सुशीला एक महिनादेखि दुई बहिनी र एक भाईको संरक्षक बन्नु परेको छ । घर नजिकै मावली छ, त्यहाँसम्म खबर पुगेपछि मावलीकी हजूरआमालाई साथ लिएर उनी भाइलाई लिएर गोरखा अस्पताल आइपुगिन् । सुवासको हातमा गम्भिर चोट लागेको चिकित्सकहरुले बताए । जिल्ला अस्पतालमा हुनेसम्मको उपचारपछि उनीहरुलाई थप उपचारका लागि काठमाण्डौं जान सल्लाह दिइयो । ‘डाक्टरले छिटो उपचार गर्नु भनेका छन्, काठमाण्डौं जान, उपचार गर्न, त्यहाँ बस्न खर्च धेरै लाग्ने भएपछि सहयोग माग्न आएको’ प्रशासन कार्यालयमा दरौंदीसँग सुशीलाले भनिन्, ‘अस्पतालमा भेटिएका अरु मान्छेले यहाँ आएपछि मद्धत मिल्छ भनेर आएको ।’

जुन कार्यालयमा उनी भाईको उपचारका लागि आर्थिक सहयोगको याचना गर्दै थिइन्, त्यसको पाँचसय मिटरमात्रै तल रहेकी उनकी आमा कालीमाया विकलाई छोरोको हात भाँचिएको र छोरी सहयोग माग्दै हिँडेको पत्तो थिएन । किनकी, कालीमाया १३ दिनदेखि कारागारमा थुनामा छिन् । छिमेकीलाई गाली गलौज र कुटपिट गरेको कसूरमा कारागारमा कैद सजायँ भोगिरहेकी कालीमाया जेलमुक्त हुन सामान्यतया पाँच महिना लाग्छ, तर सुवासको उपचार एक दुईदिनभित्रै गर्नुपर्नेछ । सार्वजनिक हितविरुद्धको मुद्धामा जिल्ला प्रशासन कार्यालयले मागेको ३८ हजार रुपैया धरौटी तिर्न नसकेपछि कालीमाया कारागार पुगेकी हुन् । ‘आमालाई भेट्न र धरौटी रकम खोज्न भनेर घरबाट निस्किनुभएका बुवा पनि बेपत्ता हुनुहुन्छ’ सुशीलाले भनिन्, ‘मामाघरमा पनि सहयोग माग्ने अवस्था छैन । तीनैजना मामा पनि जेलमै हुनुहुन्छ ।’

सुवासको हातको कुहिनो माथिको भाग भाँचिएर हाडले ठाउँ छोडेको जिल्ला अस्पतालले जनाएको छ । ‘यहाँ हुने उपचार गरिएको छ । अपेरशन ठूलै चाहिने भएकाले वीर अस्पतालको टूमा सेन्टरमा रिफर गरिएको छ’ उनका उपचार गरेका बरिष्ठ स्वास्थ्य सहायक कृष्ण ढकालले भने, ‘वीरमा फोन गरेर बालकको सबै पारिवारिक अवस्था बताएर सकेसम्म निशुल्क उपचारका लागि आग्रह गरेको छु ।’ स्थानीय तहको सिफारिस लिएर गएमा निशुल्क उपचार हुने देखिन्छ ।

तर त्यसपछिको बाटो भने पूरै अनिश्चित छ । १३ वर्षकी सुशिलाले दुई कक्षामा पढ्दापढ्दै पढाई छोडेको पाँचवर्ष भैसकेको छ । ठूली बहिनी १० वर्षकी मीना स्थानीय रामेश्वरी माविमा चार कक्षामा पढ्छिन् । भाई सुवाससँगैकी जुम्ल्याहा सुजिता भने विद्यालय भर्ना भैसकी छैनन् । सुवास भर्खरै शिशु कक्षामा भर्ना भएका छन् । ‘यिनीहरुको हेरविचारदेखि स्कुल पठाउने सबै काम मैले नै गर्नुपर्छ’ अँध्यारो अनुहार बनाउदै सुशीला भन्छिन्, ‘मैले त पढ्न पाइन, भाइ बहिनीलाई चाहिँ पढाउँछु भन्ने लागेको छ ।’ उसै त विपन्न परिवारका उनीहरुलाई हेरविचार गर्ने नजिकको आफन्त खासै छैनन् । त्यसैले दुई बहिनी र भाईको लालनपालनको सबै जिम्मा सुशीलाकै काँधमा छ । ‘ढुंगा वालुवा बोक्न जान्छु, कहिले छिमेकको बारीमा मल बोक्ने काम पाइन्छ, दिनमा चारसय रुपैयासम्म कमाइ हुन्छ’ उनी भन्छिन्, ‘त्यति कमाईले नुन, तेल, चामल किन्न पनि मुश्किल छ ।’

मदिरा खाएर छिमेकीसँग झगडा गर्ने आमाबाट पनि ठूलो भरोसा पाइन्छ भन्ने आशा छैन उनलाई । ‘रक्सी खानुहुन्छ, सुरको कुरै गर्नुहुन्न, झन् जेलमा परेपछि के के भन्नुहुन्छ, जेलमा भेट्न जाँदा पनि सुरको कुरा गर्नुहुन्न ।’ आमाको पछिल्लो अवस्थाबारे सुशीलाले भनिन् । अप्ठ्यारो बेलामा कलिला छोराछोरी छोडेर हिँड्ने बुवा प्रकाश छिट्टै घर फर्किन्छन् कि भन्ने आशामा छन्, उनीहरु । ‘नफर्किए पनि पीर छैन, तीन दिदी बहिनीको एउटा भाई हो, यसलाई राम्रो गर्न पाए भोलि हामीलाई हेर्छ कि भन्ने आशा छ ।’ कलिलै उमेरमा पारिवारिक बोझ बोक्न बाध्य सुशीलाले आत्मविश्वासले भरिएको भावनात्मक कुरा गरिन् ।

प्रतिक्रिया दिनुहोस्