| आइतवार, कार्तिक २९, २०८३

गोरखा भूकम्पको चारबर्ष पूरा, गोरखाको नीजि आवासको पुनर्निर्माण औसतमा ८२ प्रतिशत

 

शिव, अनुपमा :

गोरखा भूकम्प गएको आज चार बर्ष पूरा भई पाँचौं बर्षमा प्रवेश गरेको छ । भूकम्पबाट गोरखामा चारसय ७२ जनाको निधन भएको थियो । आठसय ४८ जना गम्भीर घाइते भएका थिए । ५१ जना अपांग भएका थिए भने छ जना अहिलेसम्म पनि हराइरहेका छन् । भूकम्पबाट ७१ हजार पाँच वटा नीजि घर क्षतिग्रस्त भएका थिए । त्यस्तै पाँचसय १३ विद्यालय, ६६ वटा स्वास्थ्यचौकी क्षतिग्रस्त भएका भएका थिए । भूकम्पको चारबर्ष पूरा हुँदा केन्द्रविन्दू गोरखाको पुनर्निर्माणको काम ८२ प्रतिशत सकिएको छ । ७२ प्रतिशत लाभग्राहीले तेस्रो किस्ताको अनुदान रकम लिइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का प्रमुख रामशरण आचार्यले जानकारी दिए । भूकम्पमा गोरखाका ७१ हजार पाँच घर क्षतिग्रस्त भएका थिए । ‘अहिलेसम्म ४९ हजार एकसय १६ जनाले घर बनाइसकेर तेस्रो किस्ता लगिसकेका छन्’ आचार्यले भने, ‘५७ हजार नौसय ४४ जनाले दोस्रो किस्ता लगेका छन् भने ६४ हजार सातसय ६९ जनाले पहिलो किस्ता लगेका छन् ।’ भूकम्प प्रभावित जिल्लाहरु मध्य गोरखाको पुनर्निर्माण अगाडि रहेको उनले दाबी गरे ।
नीजि आवासबाहेक अन्य क्षतिग्रस्त संरचना पनि कुनै बनिसकेका छन्, कुनै बन्ने क्रममा रहेको उनले बताए ।
भूकम्पबाट गोरखामा पाँचसय १३ विद्यालय क्षतिग्रस्त भएका थिए । जसमध्य दुईसय ५० वटा विद्यालय बनिसकेका आचार्यले बताए । ‘एकसय १९ वटा विद्यालय अहिले बनिरहेका छन् । २४ वटा निर्माण गर्न बाँकी रहेका छन्’, आचार्यले भने ।
एडिबीले भूकम्पीय आपतकालीन सहायता आयोजना मार्फत जिल्ला कृषि कार्यालय, जिल्ल ाहुलाक कार्यालय, सरकारी वकील कार्यालय, राष्टिूय अनुसन्धान कार्यालय, भू संरक्षण कार्यालय, जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय निर्माण गरेको छ । त्यस्तै सोही आयोजनाले सिँचाइ कार्यालयको क्वाटर, घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय, बारपाकमा भूकम्प स्मृति पार्क, नारेश्वर स्वास्थ्यचौकी भवन निर्माण गरेको छ । सोही आयोजना अन्तर्गत भारत सरकारले २९ वटा स्वास्थ्यचौकीको भवन निर्माणको थालनी गरेको आयोजनाका गोरखा प्रमुख राम शरण आचार्यले बताए ।

भूकम्पीय आपतकालीन सहयता कार्यक्रम अन्तर्गत लुइँटेलभञ्ज्याङ नयाँगाउँ सडकको ३१ किलोमिटर खण्ड, गोरखा घ्याम्पेशाल सडकको १५ किलोमिटर खण्ड र ताकुकोट हुग्दीखोला सडकको ८ किलोमिटर सडक खण्ड कालोपत्रेको काम धमाधम भएको छ ।
भूकम्पबाट जनधनको क्षति हुनु दुखद भएपनि त्यसबाट गोरखा बासीले भूकम्पप्रतिरोधी घर र भूकम्पजस्ता प्राकृतिक प्रकोपबाट बच्ने आधारभूत ज्ञान प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठले जानकारी दिए । ‘भूकम्पपछि बिभिन्न सडक कालोपत्रे भए, पाँच ठाउँमा पक्की पुल बने । सुविधासम्पन्न विद्यालय भवन बने’, उनले भने, ‘हुन त क्रमश विकास हुने नै थियो तर भूकम्पका कारण गोरखाबासीले यी विकास निर्माणको काम अल्लि चाँडै पाएका छन् ।’

प्रतिक्रिया दिनुहोस्