
वगुवामा निर्माणाधिन एकिकृत वस्तीको ३० प्रतिशत काम सकियो
अनुपमा खनाल ः स्थानीय बासिन्दाकै सक्रियतामा गोरखाको बगुवामा निर्माणाधिन एकिकृत वस्तीको निर्माण कार्य ३० प्रतिशत सकिएको छ ।
भीमसेन थापा गाउँपालिका– ५ बगुवाको लामाचौरमा निर्माणाधिन वस्तीको निर्माण कार्य ३० प्रतिशत सकिएको वस्ती निर्माणमा सक्रिय मिलन वस्ती सेवा समाजका सचिव चन्द्रमान श्रेष्ठले जानकारी दिए ।
‘अशक्त, एकल महिला, अपांगता भएका तथा ज्येष्ठ नागरिक मात्र बस्ने ३० घर अक्सफाम र तुलसी मेहर युनेस्को क्लबले बनाईदिएको छ’ उनले भने ‘अब एक सय ८ घर हामीले नै बनाउने हो । अहिलेसम्म ७२ घरको डिपिसि सकियो, ६ वटा घरको जग खनेका छौ । अब ३० घरको जग खन्न बाँकी छ ।’
एकिकृत वस्ती निर्माणका लागि अहिले माटो, सिमेन्ट र बालुवा मिसाएर ब्लक निर्माण हुँदैछ । सरकारी ५ रोपनी सहित स्थानीयबाटै जग्गा एकीकृत गरेर करिब २ सय रोपनी क्षेत्रफलमा २०७३ सालको माघबाट वस्ती निर्माण शुरु भएको हो । बस्तीमा प्रत्येक घरधुरीलाई ६ आना जग्गा छुट्याइएको छ । १०५ रोपनीमा घर बनाउने र बाँकी जमिनमा गोठ, सामुदायिक भवन लगायतका संरचना बनाइने भएको छ । आबश्यकता अनुसार ब्लक उत्पादन नहुँदा वस्ती निर्माणले गति लिन नसकेपछि अक्सफाम र तुलसी मेहर युनेस्को क्लबले एकिकृत वस्तीलाई मेसिन हस्तान्तरण गर्ने भएका छन् ।
एक साता भित्रै वस्तीमा नयाँ मेसिन भित्रिने मिलन वस्ती सेवा समाजका सचिव श्रेष्ठले बताए । ‘अहिले दैनिक चार सय ब्लक बन्छ’ उनले भने ‘नयाँ मेसिनले दैनिक ३५ सय ब्लक उत्पादन गर्छ । त्यसपछि श्रमदान अनिवार्य गर्नेछौ । हाम्रो कामले पनि गति लिनेमा विश्वस्त छौं ।’
भूकम्पले घर भत्किएपछि बसोबासका लागि सरकारबाट धेरै अपेक्षा गर्नुभन्दा आफ्नो ठाउँको पुनर्निर्माण आफै गरौ भन्ने सन्देश दिन बगुवावासीले एकिकृत वस्ती निर्माण थालेका हुन् ।
‘मिलन बस्ती’ नाम दिइएको सो बस्तीमा साविकको बगुवा गाविसको ४ र ५ नं वडाका ४ गाउँका बासिन्दा बस्नेछन् । बस्तीमा रिठ्ठेपानी, धरमपानी, नयाँगाउँ र पाण्डेगाउँका १३८ घरधुरीलाई स्थानान्तरण गर्ने मिलन वस्ती सेवा समाजका सचिव श्रेष्ठले जानकारी दिए । ‘भूकम्पले ति ठाउँको जमिन बस्न नमिल्ने भयो’ उनले भने ‘विज्ञको सुझावका आधारमा हामीले लामाचौरमा बस्ती सार्ने निर्णय गरेका हांै ।’
एकीकृत बस्तीको डिजाइन बगुवा रिठेपानीका बासिन्दासमेत रहेका त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डिन डा. जगतकुमार श्रेष्ठले गरेका हुन् । बस्तीमा परम्परागत शैलीमा आधुनिक घर बन्ने उनले बताए । ‘एकै प्रकारका घर बन्नेछन्’ इन्जिनियर श्रेष्ठले भने,‘ तल्लो र माथिल्लो तलामा ४÷४ कोठा हुन्छन्, बार्दली हुन्छ, तल्लामा काठ छाप्छौ, ब्लकले भवन बनाईन्छ, जस्ताको दुईपाखे छानो हुन्छ ।’ डिजाइनअनुसार प्रत्येक घर अगाडि २० फिट र घर पछाडि ५ फिटको सडक हुनेछ । ब्यवस्थित किसिमबाट ढल जडान गरिनेछ ।
सडकको दायाँबायाँ नै बिरुवा रोपेर हरियाली बनाइनेछ । एकीकृत बस्तीभित्र बालउद्यान, सभाहल लगायतका संरचना पनि निर्माण गरिनेछ । एउटा घर बनाउन ७ लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिए पनि अहिले महंगी बढेकाले केही रकम बढी लाग्न सक्ने इन्जिनिययर श्रेष्ठले बताए ।
घर बनाउन सरकारले दिएको अनुदान रकम अन्यत्र खर्च नहोस् भनेर एकीकृत बस्तीमा पर्ने सबै घरधुरीले प्राप्त गर्ने किस्ताको रकम एकमुष्ट रूपमा घ्याम्पेशालस्थित सांग्रिला बैंकमा पुनर्निर्माण समितिको खातामा राखिएको छ । इन्जिनियर श्रेष्ठका अनुसार बस्तीमा निजी घरबाहेकका अन्य संरचना बनाउनका लागि १५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
वस्तीमा पुर्वाधार विकासका लागि राष्ट्रिय पुनर्निमाण प्राधिकरणले छ करोड ५२ लाख रुपैयाँ विनियोजन गरेको इन्जिनियर श्रेष्ठले जानकारी दिए । बस्तीमा एक घर बराम सहित नेवार र ब्राम्हण समुदायको बसोबास रहनेछ । उनिहरु अहिले पुरानै गाउँमा जस्ता र पालको टहरामा गुजारा चलाईरहेका छन् । वस्ती निर्माणमा ढिलाई हुँदा असहज बसाई लम्बिदै गएको उनिहरुले बताएका छन् । २०७७ सालको असारसम्ममा वस्ती निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको इन्जिनियर श्रेष्ठले बताए ।




