
पत्रकार गिरीलाई रिहाईको माग गर्दै गोरखाका पत्रकारद्धारा प्रशासनमा धर्ना
पोखराका पत्रकार अर्जुन गिरीलाई रिहाई गर्न माग गर्दै नेपाल पत्रकार महासंघ गोरखाले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । जिल्लाका पत्रकारहरुले विद्युतिय कारोबार ऐनको दफा ४७ र ४८ खारेज तथा पत्रकार गिरीलाई विना शर्त रिहाईको माग गर्दै बिहिबार विहान ९ः३० देखि १०ः३० सम्म एक घन्टा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन् ।
ठगीबारेको समाचार लेखेकै आधारमा ताण्डव न्यूज डटकमका प्रकाशक तथा सम्पादक रहेका गिरीलाई महानगरीय प्रहरी अपराध महाशाखा टेकुले बैशाख २ गते पक्राउ गरेर हिरासतमा राखेको छ ।
समाचारका विषयमा चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी दिन सकिने भए पनि प्रहरीले पक्राउ गरेकाले उनको रिहाईको माग गर्दै विरोधका कार्यक्रम गर्न बाध्य भएको महासंघका जिल्ला अध्यक्ष किशोरजंग थापाले बताए ।
प्रेस स्वतन्त्रता कायम गर्नका लागि सरकारले विद्युतिय कारोबार ऐनको दफा ४७ र ४८ खारेज नगरेसम्म महासंघको निर्देशन अनुसार विरोधका कार्यक्रम गरिरहने उनले जानकारी दिए ।




