| आइतवार, कार्तिक २९, २०८३

चुमनुब्रीको बाटोमा हिउँदबर्खै पहिरो, स्थानीयबासी र पर्यटकलाई हिड्न पनि सकस

‘कति पटक पर्खाल लगाउने ? हैरान भइसकियो’, बाटोको पहिरो उकास्न पर्खाल लगाउँदाको दुख सुनाउँदै चुमनुब्री गाउँपालिका ५ का वडाअध्यक्ष सोनाम ग्याल्जेन भन्छन्, ‘अस्ति भर्खर पर्खाल लगाइ रहेका बेला पहिरो खसेर एक जनाको कान च्वाट्टै लग्यो । सबै भागाभाग भए । अब त गाउँले पनि पर्खाल लगाउन आउन मान्दैनन् ।’ सबैभन्दा हिड्ने बाटोको दुख भएको उनको भनाइ छ ।
चुमनुब्री गाउँपालिकाका कुनै पनि वडा सडक सञ्जालले जोडेको छैन । पदमार्ग पनि सुख्खा पहिरो खसिरहेका कारण ज्यादै जोखिम रहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । सो बाटोमा स्थानीयबासी र मनास्लु क्षेत्रमा आउने हजारौं विदेशी पर्यटक असुरक्षित आवत जावत गर्न बाध्य छन् ।
गाउँपालिकाको बजेटले पहिरो नियन्त्रण गर्न सम्भव नरहेको चुमनुब्री ४ का वडा अध्यक्ष पेमा डुण्डुप लामा बताउँछन् । ‘सरकारबाट टाढा भइयो । अरु सेवासुबिधा त भएन, बाटो पनि ज्यानको माया मारेर हिड्नु पर्छ’, उनले भने, ‘गाउँपालिकाको, वडाको बजेटले पहिरो नियन्त्रण गर्न सम्भव छैन ।’ सुख्खा पहिरोले बर्षैपिच्छे स्थानीयबासी तथा विदेशी नागरिकको ज्यान लिने गरेको उनले बताए ।
भूकम्पपछि बाटो यतिधेरै जोखिम भएको वडा नं. ७ का वडा अध्यक्ष पासाङफुञ्जो लामा बताउँछन् । ‘भूकम्पले पहरो थर्काइदिएछ, हावा चल्न थालेपछि सानो ठूलो पहिरो खसिरहन्छ’, उनी भन्छन्, ‘चौरीखर्क कटेर छेकम्पार पुग्न ज्यानको बाजी लगाउनु पर्छ । पारि जंगलको बाटो सुरक्षित थियो तर बुढीगण्डकीमाथि पुल छैन । कसरी तर्ने ?’ म्हुगुम्बाभन्दा केही तल सुख्खा पहिरोले हालै एकजनाको ज्यान गएको उनले सुनाए ।
ल्हो र स्यालाको बीचमा, नाम्रुङ पुग्ने बाटोमा, गप र बिहीको बीचमा, लोक्पा र चुम्लिङको बीच मा र छेकम्पार पुग्नेनेर सबैभन्दा ठूला सुख्खा पहिरोको समस्या रहेको नाम्रुङका लाक्पाढुण्डुप लामा बताउँछन् । ‘पहिरोको डरले तल माथि हेर्दै कुद्नु पर्छ’, उनले भने, ‘बाटो असुरक्षित भएर स्थानीय बासीलाई घाँस दाउरा गर्न, याकचौरी चराउन, सदरमुकाम आउन जान र पर्यटक हिड्न असाध्यै खतरनाक भएको छ ।’ बाटो सुरक्षित भएमा अहिलेको तुलनामा पर्यटकको संख्या धेरै बढ्ने उनले बताए ।
बुढीगण्डकीको तिरैतिरको बाटोमा माथिबाट खसेको सुख्खा पहिरोले लागेमा सिधै बुढीगण्डकीमा पु¥याउने अबस्था रहेको वडा नं. ६ का अध्यक्ष लोप्साङ लामा बताउँछन् । चुमचुब्री गाउँपालिका को विकास गर्न सबैभन्दा पहिले बाटोको विकास गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्