
यो बर्ष जनता आवास अन्तर्गत २३७ घर बन्ने
जनता आवास कार्यक्रम अन्तर्गत यो वर्ष गोरखामा बिभिन्न समुदायका दुईसय ३७ घर बन्ने भएका छन् । जनता आवास कार्यक्रम जिल्ला समन्वय समिति गोरखाको मंगलबार बसेको बैठकले यो वर्ष बन्ने घरको स्थान छनौट गरेको छ ।
गत वर्ष ८३ छनौट भएका थिए । चालुबर्ष १५४ गरी कूल दुईसय ३७ घर बन्ने शहरी विकास तथा भवन निर्माण कार्यालय गोरखाले जनाएको छ ।
सो कार्यक्रमका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष आठकरोड ७९ लाख रुपैया विनियोजन गरेको जनाएको छ । गत वर्षको ८३ बाहेक एकसय ५४ घरको छनौट गर्न भने बाँकी रहेको कार्यालयले जनाएको छ ।
यसअघि चेपाङ, कसुण्डा, गन्धर्वको घर निर्माण गरेकोमा यो वर्ष लोपोन्मुख, अति सिमान्तकृत, दलित, बिपन्न मुसलमान लगायतको घर बनाइदिने निर्णय भएको कार्यालयका प्रमुख झपटबहादुर थापाले बताए । ‘यो वर्ष चुमनुब्री, धार्चे र बारपाक सुलिकोट गाउँपालिकामा दलित, अजिरकोट र सिरानचोकका भुजेल, गोरखा र पालुङटार नगरपालिकाका वादी तथा मुस्लिम समुदायलाई पनि जनता आवास कार्यक्रममा समेट्ने निर्णय भएको उनको भनाई छ ।
जनता आवास कार्यक्रममा समेटिएको जातीय समुदाय भए पनि भूकम्पपीडित लाभग्राही सूचीमा परेकाहरु भने यो सुविधा नपाउने थापाले बताए ।
जनता आवास कार्यक्रम जिल्ला समन्वय समितिका संयोजक तथा गण्डकी प्रदेशका भूमी ब्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाको संयोजकत्वमा बैठक बसेको हो ।
यसअघि संघीय सरकार अन्तर्गत रहेको जनता आवास कार्यक्रम यो वर्ष भने प्रदेश सरकार मातहत रहेको छ । कुन सरकार मातहत रहने भन्ने अन्यौलका कारण गत आर्थिक वर्ष निर्माण सुरु भएकामध्ये केही घरको रकम भुक्तानी गर्न बाँकी छ । जनता आवास कार्यक्रम अन्तर्गत लोपोन्मुख, विपन्न, सिमान्तकृत, आर्थिक रुपले पिछडिएका, वार्षिक वजेट तथा कार्यक्रममा समावेश जातीहरुको घर सरकारले बनाइदिने गरेको छ । गत वर्षसम्म चेपाङ, कुमाल, माझी, दलित, बराम लगायत समुदायको घर बनाउँदै आइएको थियो ।
एउटा घर निर्माणका लागि सरकारले ४ किस्तामा ३ लाख ३२ हजार ५ शय रुपैया अनुदान दिने गरेको छ




