| आइतवार, कार्तिक २९, २०८३

ढुंगा, गिटी, बालुवा नपाए क्रसर बन्द गर्ने व्यवसायीको निर्णय, उत्खननको बाटो खुलाउँदै जिल्ला अनुगमन समिति

गोरखाका क्रसर व्यबसायीहरुले ढुंगा, गिटी, बालुवाको अभाव भएको भन्दै क्रसर बन्द गर्ने निर्णय गरेका छन् । क्रसर ब्यबसायीहरुको शुक्रबार बसेको बैठकले आइतबारबाट नदीजन्य निर्माण सामग्री प्रशोधन तथा बिक्री बितरण कार्य बन्द गर्ने निर्णय गरेका हुन् ।
जिल्लामा सिम्रन क्रसर उद्योग, माइ मनकामना क्रसर उद्योग र गोरखकाली क्रसर उद्योग सञ्चालनमा छन् ।
आवश्यक कच्चा पदार्थ नदीजन्य सामग्रीको चरम अभाव भएकाले क्रसर उद्योग बन्द गर्ने निर्णय भएको क्रसर व्यवसायी सुरेन्द्र कुँबरले जानकारी दिए ।
व्यवसायीले क्रसर उद्योग बन्द गर्ने निर्णय गरेकै दिन शुक्रबार जिल्ला अनुगमन समितिले ढुंगा, गिटी, बालुवा उत्खननका लागि सहज बाटो खुल्ला गराउने ब्यहोराको पत्र पठाउने तयारी गरेको छ । मेसिनको प्रयोग गरेर नदीजन्य सामग्री उत्खनन गर्न पत्राचार गर्ने तयारी गरिएको अनुगमन समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङले जानकारी दिए । ‘निर्धारित परिमाणको नदीजन्य सामग्री निर्धारित समयभित्र उत्खनन गरिसक्ने गरी अनुमति दिने निर्णय भएको छ’, उनले भने, ‘अब भोलि शनिबार भयो । माग गर्ने गाउँपालिका, नगरपालिकाहरुलाई अनुमति दिने पत्र आइतबार पठाउँछौं ।’

यसअघि गत चैत आठ गते अनुगमन समितिको बैठक बसी लामो समयसम्म अबरुद्ध रहेको नदीजन्य समग्री उत्खनन कार्यलाई सहज बनाउन मेसिन प्रयोग गर्न अनुमति दिने निर्णय गरेका थिए । तर समितिले बैठकको निर्णय भने सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्