
चुमनुब्री गाउँपालिकाभरि अहिले पनि मुखियाकै राज
बिभिन्न कालखण्डको राजनीतिक परिवर्तनले प्रधानपञ्च, गाविस अध्यक्ष हुदै अहिले संघीय गणतन्त्र नेपाल बनिसकेको छ । नयाँ ब्यबस्था अनुसार हरेक गाउँ पालिका, नगरपालिकामा जन प्रतिनिधिको व्यबस्था भइसकेको छ । गोरखाको दुर्गम मनास्लु क्षेत्रमा भने अहिले पनि मुखियाको राज कायम छ ।
चुमनुब्री गाउँपालिका वडा नं. ५, (साबिकको बिही गाविस)मा यसअघि जस्तै अहिले पनि तीनवटा मुखिया छन् । गाउँका बिभिन्न निर्णय पहिलेको झै मुखियाले नै गर्ने वडा अध्यक्ष सोनाम ग्याल्जेनले बताए । ‘बिही गाउँमा टासी छिरिङ, क्य्राकमा नुर्बु ग्याल्जेन र कोया गाउँमा खासी डोल्मा मुखिया छन्’, उनले भने, ‘वादविवाद, झै झगडा प्राय मुखियाले नै मिलाउँछन् । गाउँमा विकास निर्माणको के काम गर्ने भन्ने योजना पनि पहिले मुखियाले तयार गरेपछि मेरो सामु आउँछ ।’ हरेक बर्षको पुस १ गते सबै गाउँमा मुखिया चुन्ने गरेको उनले बताए । आफू बरु नरहने, तर मुखिया रहिरहने अध्यक्ष ग्याल्जेनले बताए । ‘प्रधान, अध्यक्ष भन्ने कुरा त राजनीतिक परिवर्तन भएपछि फेरबदल भइरहन्छ । मुखिया भन्ने कुरा त परापूर्व कालदेखि चलिआएको हो । अहिले पनि चलिरहेको छ । पछि पनि चलिरहन्छ’, वडा अध्यक्ष सोनाम ग्याल्जेनले भने, ‘हामी बरु नरहन सक्छौं, मुखिया रहिरहन्छन् ।’ जनप्रतिनिधिलाई भन्दा मुखियाप्रति गाउँलेको आस्था रहने उनले बताए ।
चुमनुब्री गाउँपालिकाका प्रमुख धनबहादुर गुरुङको गाउँ फिलिममा पनि मुखियाको राज छ । ‘रीतिथितिका कुरा सबै मुखियाले गर्छन्, राजनीतिका कुरा, विकास निर्माणको योजना, सम्झौता जस्ता कुरा मात्रै हामी गर्छौं ।’ बर्षेनी आलोपालो प्रणालीअनुसार मुखिया चुन्ने परम्परा कायमै रहेको उनले बताए । साबिक सात वटा गाविस र हाल सातवटा वडा रहेको चुमनुब्री गाउँपालिकाका सबै वडाहरुमा मुखिया प्रथा कायम रहेको उनले स्वीकार गरे । गुम्बा पूजा, कूल देउता पूजा कहिले गर्ने, कसरी गर्ने, गोठ कहिले सार्ने, कहाँ सार्ने, गोठ जाने, पानी पँधेरो बाटो बनाउने लगायतका सबै काम मुखियाको निर्णय अनुसार हुने साबिक बिही गाविसका पूर्व अध्यक्ष नुर्बु गुरुङले बताए । ‘कसैलाई अन्याय प¥यो भने उसले मुखियालाई एक पोम रक्सी र खाता चढाउँछ । मुखियाले के भयो ? भनेर सोधेपछि उसले आफ्ना समस्या बेलिबिस्तार लगाउँछ’, पूर्व गाविस अध्यक्ष गुरुङले भने, ‘अनि मुखियाले प्रतिवादीलाई हाजिर गराउन घ्यापो(कटुवाल)लाई अह्राउँछन् । वादी र प्रतिवादीका कुरा सुनेपछि मुखियाले फैसला गर्छन् ।’ गाउँका मुखियाले गरेको निर्णय यदि वादी, प्रतिवादीले स्वीकार गरेनन् भने छिमेकी गाउँका मुखियाहरुसमेत निमन्त्रणा गरेर फैसला गर्ने चलन कायमै रहेको उनले बताए ।
मुखिया प्रथामा पीडित र पीडक दुवै पक्षसंग रकम असुल गर्ने चलन रहेको ल्होका कुन्साङ दोर्जेले बताए । ‘मुद्दा हार्नेले त यसै पनि जरिबाना तिर्नुपर्छ, जित्नेले पनि जितौरीको रुपमा केही पैसा तिर्नुपर्छ’, उनले भने, ‘उनीहरुसंग असुल गरेको रकम बैठक खर्च र गाउँको विकासमा खर्च गर्नुपर्छ ।’ मुखिया प्रथा लोकप्रिय रहेकाले आफ्नो समाजबाट नहट्ने उनले तर्क गरे ।
लेखन, संकलन : शिव उप्रेती




