| आइतवार, कार्तिक २९, २०८३

पुस्तौँदेखि सुकुम्बासी रामेकोडिहीका कुमाल समुदाय

पालुङ्टार नगरपालिका ६ पौवाटार, रामेको डिहीमा बसोबास गर्ने नौ घर कुमाल पुस्तौदेखि सुकुम्बासी जीवन बिताइरहेका छन् । बिसं. १९९७ सालमा साहुको कुरियर बाधा बस्न यहाँ आएका दुईघर कुमालका सन्तानहरु अहिलेसम्म सुकुम्बासी जीवन बिताउन बाध्य भएका हुन् ।

साथमा लालपूर्जा नभएका कारण उनीहरु भूकम्पले भत्काएको घर पुनर्निर्माण गर्नबाट पनि बञ्चित छन् ।

 

गाईखुरका ओमदत्त पन्तको घरमा बाधा बसेका धनबहादुर कुमाल र नारायणप्रसाद मल्लको घरमा बसेका महेश्वर कुमाललाई बन्दीपुरका रेवतीप्रसाद पियाले रामेको डिहीको चारसय रोपनी जग्गा कुरुवाको रुपमा राखेका स्थानीय वसन्त बराकोटी बताउँछन् । ‘उनीहरुसंग जग्गा छैन भनुँ भने चारसय रोपनी जग्गा छ, तर लालपूर्जा छैन’, बराकोटी भन्छन्, ‘लालपूर्जा नहुँदा यहाँका कुमाल समुदाय धेरै कुराबाट बञ्चित छन् ।’ लालपूर्जामा आफ्नो नाम नहुँदा भूकम्प पीडितले पाउने अनुदान पाउनबाट बञ्चित भएको उनको भनाइ छ । ‘यहाँका सबैको घर भूकम्पले भत्कियो’, बराकोटी भन्छन्, ‘अरुहरु सबैले घर ठड्याइसके तर यहाँका कुमालहरुको घर अहिलेसम्म बनेको छैन ।’ आफूले कमाएको जग्गा आफ्नो नाममा नहुँदा दुख गरेर खाँदा पनि अरुको दास जस्तो भएर बाँच्नु परेको स्थानीय खड्कबहादुर कुमाल बताउँछन् । ‘बाजेको पालादेखि यहाँ आएको हो हामी । दुईपुस्ता भयो यहाँ बसेको । यही बारीमा गरेर खाएको तर के गर्नु आफ्नो नाममा छैन’, उनले भने, ‘बर्ष, दुईबर्षमा बन्दीपुरे साहुका नाति पनातिहरु गाडीमा हरर आउँछन् । बारी हेरेर फर्किन्छन् । त्यसैले अहिलेसम्म पनि हामी बन्दीपुरेको दास नै हौँ जस्तो लाग्छ ।’

लालपूर्जामा मोहीको नाम लेख्ने ठाउँमा मात्र जग्गा कमाइखाने कुमाल समुदायको नाम छ । मोहीको नाममा नाम भएर मात्र त्यसको सुविधा आफूहरुले नपाएको स्थानीय ‘मोहीको नाममा आफ्नो नाम नभएर हुने रहेनछ । जग्गाधनीको नाममा नै चाहिने रहेछ’, स्थानीय सम्झना कुमाल भन्छिन्, ‘आफ्नो नाममा लालपूर्जा बनाउन गोरखा पनि धेरैपटक धाइयो । खर्च मात्रै भयो, काम भएन ।’ कसेरीफाँटको एकहजार रोपनी जग्गा पनि बन्दीपुरे साहुले मोहीकै जिम्मा छाडेका छन् । सो फाँटको विवादले आफूहरुलाई समेत समस्या भएको उनले गुनासो गरिन् ।

प्रतिक्रिया दिनुहोस्