
प्रधानमन्त्री वली फेरि अर्को राजा बन्दैछन् : डिना संग्रौला
गोरखा : काङ्ग्रेस हिन्दूराज्यको पक्षपाती नभएको नेपाल महिला संघकी सभापति एवं कांग्रेसकी केन्द्रीय सदस्य डिना संग्रौलाले दाबी गरेकी छन् । महिला संघको राष्ट्रिय अभियानको क्रममा गोरखा आइपुगेकी संग्रौलाले शनिबार पत्रकारहरुसंगको भेटमा पार्टीभित्र हिन्दू राज्यको बिषयमा जनमत संग्रह गर्ने बारे बहश उठे पनि त्यसतर्फ कांग्रेस नफर्कने दाबी गरिन् ।
‘हिन्दूराज्यको बारेमा बहश नउठेको होइन, महान्त्रीज्यूमार्फत बहश उठेकै हो’, उनले भनिन्, ‘तर २०६२÷०६३ को जनआन्दोलनको उपलब्धीकर्ता पनि नेपाली कांग्रेस हो । यसको संरक्षणकर्ता पनि नेपाली कांग्रेस हो । त्यसैले काङ्ग्रेस त्यो आन्दोलनको उपलब्ध गुमाउन चाहदैन ।’ लोकतान्त्रिक पार्टी भएकाले पार्टीभित्र बिभिन्न खालका बहश र छलफल स्वभाविक भए पनि जनआन्दोलनको म्यानडेटबाट पार्टी पछाडि फर्केर नजाने दाबी उनको छ ।
उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा वलीले फेरि अर्को राजा बन्ने दुष्प्रयास गरिरहेकोे आरोप लगाइन् । विधिको शासन मिचेर व्यक्तिको शासन लाद्दै प्रधानमन्त्रीले सेना प्रधानमन्त्री माताहत ल्याउने चेष्टा गरेको उनले तर्क गरिन् । ‘राष्ट्रिय सुरक्षा, काम कर्तव्य र अधिकार विधेयक २०७५ प्रस्ताब गरिएको छ’, उनले भनिन्, ‘नेपालको मौजुदा संविधानअनुसार राष्ट्रिय सुरक्षा परिषदले मन्त्री परिषदबाट पास गरी राष्ट्रपतिले सेना परिचालन गर्नुपर्नेमा सबै ऐन कानून मिचेर प्रधानमन्त्री वली फेरि अर्को राजा बन्दैछन् । यसले मुलुकलाई भयावहतर्फ धकेल्दैछ ।’ कांग्रेसले प्रधानमन्त्रीको कदमविरुद्ध प्रेस बिज्ञप्ति निकालेर र सदनमा संशोधन प्रस्ताव हालेको उनले बताइन् । सुरक्षा परिषदलाई बाइपास गरेर राष्ट्रपतिलाई छायामा राखेर प्रधानमन्त्री आफैले सेना परिचालन गर्न पाउने विधेयकले नेपालका मौजुदा संविधानलाई बाइपास गरेको उनको आरोप छ ।
सामाजिक सञ्जालमा अंकुश, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गरेर वर्तमान सरकारले अधिनायकवाद लादेको उनको आरोप छ ।
सरकार सुध्रिएन भने सडक, सदन र सत्याग्रहमार्फत खबरदारी गरिने उनको भनाइ छ।
नेत्रविक्रम चन्द समूहमाथि सरकारले प्रतिबन्ध लगाउनुभन्दा उनीसँग सरकारले वार्ता गर्नुपर्ने उनले सुझाव दिइन्।
‘प्रतिबन्ध लगाएर समस्याको समाधान निस्कँदैन। सरकारले वार्ता गर्नुपर्यो, विप्लवले पनि हतियार छाड्नुपर्यो,’ उनले भनिन्। मेलम्ची, बूढीगण्डकी र वाइड बडी खरिदमा भ्रष्टाचार भए पनि सरकार चुप बसेको उनले आरोप लगाइन्।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई प्रधानमन्त्री र गृहमन्त्रीले संरक्षण दिएर राखेको आरोप उनले लगाएकी छन् । ‘१३ बर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आठ महिना भइसकेको छ’, उनले भनिन्, ‘बलात्कार र हत्यापछि लुगा फुकालियो, शरीर पखालेर प्रमाण नष्ट गरियो । हत्यारालाई पक्राउ गरी कानूनी कठघरामा उभ्याउन देशभर अभियान सञ्चालन भए पनि हत्यारालाई सिँहदरबार र बालुवाटारबाट गृहमन्त्री र प्रधानमन्त्रीले संरक्षण दिएर राखेका छन् ।’ सरकारले ढाकछोप गरेर राखेको आरोप लगाउँदै उनले अपराध न्यूनिकरणका लागि फास्टट्रयाक कोर्टको निर्माण गर्नुपर्ने सुझाव दिइन् ।




