| आइतवार, कार्तिक २९, २०८३

युवा विदेशिएपछि महिला कस्सिए खेतबारी जोत्न

काम गर्ने अधिकांश युवा विदेशिएका कारण बाँझिएको खेतबारीमा काम गर्न महिलाले जोत्न थालेका छन् । शहीद लखन गाउँपालिका ८ छापथोकका महिलाहरु हाते ट्याक्टरले जोत्न थालेका हुन् ।
धेरैजसो युवाहरु विदेशिएका र फाट्टफुट्न भेटिने युवाहरुलाई काममा बोलाउँदा बिन्तीभाउ गर्नुपरेकाले आफैले जोत्न सिकेको स्थानीय फूलमाया श्रेष्ठ बताउँछिन् । ‘गाउँका छोरामान्छे जति खाडीतिर गइहाले । खेतबारी जोत्नु प¥यो भने मान्छे नै पाइँदैन’, श्रेष्ठ भन्छिन्, ‘सँधै अरुलाई बिन्तिभाउ गर्नुभन्दा आफैले काम सिक्छु भनेर मैले हातेट्याक्टरले जोत्न सिकेर जोत्न थालेको हुँ ।’
हाते ट्याक्टरले जोत्न खासै गाह्रो नभएको उनले बताइन् । ‘मान्छेले नै गर्ने काम हो भने हामी छोरीमान्छे पनि मान्छे नै त हो भनेर मैले आँट गरेर सिकेको हुँ’, उनले भनिन्, ‘अब म आफ्नो खेतबारी आफै जोत्न सक्ने भएको छु । म आफै जोत्छु ।’
शहीद लखन गाउँ कार्यपालिकाको कार्यालयले केही दिनअघि स्थानीय पाँचवटा कृषि समूहलाई ५० प्रतिशत सहुलियतमा हाते ट्याक्टर बाँडेको थियो ।
गाउँका खेतबारी बाँझो नहोउन् भन्ने उद्देश्यले गाउँपालिकाको कृषि शाखाले ५० प्रतशित सहुलियतमा हातेट्याक्टर वितरण गरेको वडाअध्यक्ष काशिनाथ अम्गाई बताउँछन् । ‘कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने लक्ष्य राखेर हाम्रो गाउँपालिकाको कृषि शाखाले १२ वटा कृषि सहकारीलाई सहुलियतमा हातेट्याक्टर वितरण गरेको थियो’, उनले भने, ‘त्यसले गाउँमा धेरै सकारात्मक प्रभाव पारेको छ ।
महिला, पुरुष सबैले काम गर्न सम्भव भएपछि बाँझो रहेका जग्गाहरु आवाद हुदैछन् ।’
गाउँ कार्यपालिकाले मनकामना कृषि सहकारी संस्था, घलेडाडाँ कृषि सहकारी घैरुङ, पाण्डे कृषि फर्म नाम्जुङ, अर्चलेबारी कृषक समुह नाम्जुङलाई एक÷एक थान हातेट्याक्टर दिईएको थियो । यस्तै, बुंकोटको भवानी कृषि समुह, पन्चकन्या कृषि सहकारी संस्था र ज्यादुलखोला कृषि सहकारी संस्था, बहीखोला कृषि तथा पशुपालन फर्मलाई पनि एक÷एक थान हाते टूयाक्टर दिएको थियो ।
नाम्जुङको सिर्जनशील कृषक समुह र बुंकोटको ग्रामीण स्वावलम्बी दुग्ध उत्पादक कृषि सहकारीलाई दुई÷दुई थान हातेटूयाक्टर दिएको गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले जानकारी दिए ।
‘अब कृषिमा आधुनिकिकरण जरुरी छ’ अध्यक्ष थापाले भने ‘किसानलाई ब्यबसायिक खेतीमा आकर्षित गर्न र बाँझो रहेका जमिनबाट उत्पादन लिन टयाक्टरले सघाउने विश्वास लिएको छु ।’
गाउँपालिकाले चालु आर्थिक बर्ष किसानलाई अनुदानमा हातेट्याक्टर वितरणका लागि नौ लाख रुपैयाँ विनियोजन गरेको थियो ।
सोही बजेटबाट दोस्रो चरणमा फेरि छ थान हातेट्याक्टर किसानलाई दिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्