| आइतवार, कार्तिक २९, २०८३

धार्चे गाउँपालिकाका सबै गाउँ चारदिनदेखि सञ्चारसेवा बिहिन, काशिगाउँमा चारदिनदेखि विजुली छैन

अनुपमा खनाल :
गोरखाको धार्चे गाउँपालिका बिगत चारदिनदेखि सञ्चार सम्पर्क बिहिन भएको छ । काशिगाउँ िस्थत टावरमा समस्या आएपछि गाउँपालिका नै सञ्चारबिहिन भएको नेपाल टेलिकम गोरखा शाखाका प्रमुख चन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।
धार्चेमा नेपाल टेलिकम अन्तर्गत नमस्ते र स्काइ मोबाइल मात्र सञ्चालनमा छ ।
धार्चे ७ लापुका शिक्षक वीरबल गुरुङका अनुसार गत पाँचगते साँझदेखि टेलिफोनको नेटवर्कले काम नगरेको हो । टावरमा खराबी आएपछि साबिकका लाप्राक, गुम्दा, लापु, उहिया, काशिगाउँ र केरौंजा गाविसका बासिन्दा संचारसेवाबाट बञ्चित भएका हुन् । ‘अब धमाधम एसईई आएको छ । प्रश्नपत्र वा अन्य महत्वपूर्ण सूचना सन्देश तत्काल आदानप्रदान गर्नुपर्छ । विद्यार्थीहरु घर छोडेर परीक्षाकेन्द्र आसपास डेर गरेर बसेका छन् । उनीहरुलाई पनि फोन अति आवश्यक छ’, शिक्षक गुरुङ भन्छन्, ‘यस्तो बेलामा फोनसेवा ठप्प हुँदा साह्रै समस्या भएको छ ।’
टेलिफोन सेवा बन्द हुँदा सर्बसाधारण उपभोक्ता लगायत गाउँपालिका अन्तर्गतका कार्यालयहरुको सेवा प्रबाहमा समेत समस्या परेको छ । मोवाईल सेवा अबरुद्ध हुँदा रोज गारीका क्रममा बिभिन्न सहर तथा विदेशमा रहेका आफन्तसँग सम्पर्क गर्न नसकेको लाप्राकका सुनबहादुर गुरुङले बताए । ‘आफ्नो परिवारको हालखबर पनि थाहा भएन’ उनले भने ‘दुखविमार पर्दा कसैलाई बोलाउन पनि नपाईने भो ।’ धार्चे गाउँपालिका भरिमा काशिगाउँ र लाप्राकमा मात्र टेलिकमको टावर छ । लाप्राकको टावर पनि काशिगाउँकै रेडियो प्रविधिबाट चल्ने भएकाले काशिगाउँको टावरमा समस्या आएपछि अहिले दुवै टावरले काम नगरेको नेपाल टेलिकमका प्रमुख श्रेष्ठ बताउँछन् । ‘काशिगाउँ टावरको केवल जलेर समस्या भएको हो’, श्रेष्ठले भने, ‘स्थानीयबासीलाई नै समाधानका लागि पहल गर्न भनेका छौं । त्यसरी सम्भव भएन भने हाम्रो प्राविधिक टोली गएर मर्मत गर्नेछ । दुई वा तीन दिनभित्र सञ्चालनमा आउनेछ ।’

बुधबारकै चट्याङले काशीगाउँको लघुजलविद्युतका विभिन्न उपकरणमा पनि क्षति पु¥याएको छ । छोटेखोला लघुजलविद्युत आयोजना मा क्षति पुगेपछि काशीगाउँका ५ सय २८ घरमा विद्युत अबरुद्ध रहेको वडा अध्यक्ष धनकुमार घलेले बताए । ‘हामी बुधबारदेखि विद्युत सेवाबाट बञ्चित भएका छौं’ उनले भने ‘फोन पनि छैन । विजुली पनि छैन । गाउँ सञ्चारविहीन हुँदा देश–विदेशमा के भइरहेको छ भनेर देख्न, सुन्न पनि पाईएको छैन । रातको समयमा बाल बालिकालाई पढ्न, गृहिणीलाई घरधन्दा गर्न र वृद्धवृद्धालाई आउजाउ गर्न पनि समस्या छ ।’ फर्निचनर उद्योग, राइसमिल जस्ता गाउँका घरेलु उद्योग पनि विजुली नहुँदा बन्द भएका उनले बताए ।

प्रतिक्रिया दिनुहोस्