| आइतवार, कार्तिक २९, २०८३

खानेपानीको लाइन धमाधम काट्दै सानासहरी, आइतबार मालपोतसहित पाँचजनाको लाइन काटियो

पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले मालपोत कार्यालयको खानेपानी लाइन काटेको छ । लामो समयदेखि महशुल नतिरेको भन्दै कारबाहीस्वरुप आइतबार लाइन काटिएको संस्थाका अध्यक्ष विनोद अर्यालले जानकारी दिए ।
मालपोत कार्यालयले भवन निर्माण गरेदेखिको एकमुष्ट दुईलाख २५ हजार ३०२ रुपैयाँ महशुल तिर्न बाँकी रहेको अध्यक्ष अर्यालले बताए । ‘उपभोक्तासंग सुका, मोहर उठाएर चलाएको संस्थालाई यति ठूलो परिमाणमा बक्यौता रहँदा पनि नतिरेकाले लाइन काट्न बाध्य भयौं’, उनले भने, ‘पहिलो चरणको कारबाहीस्वरुप लाइन काटेका हौं । यति गर्दा पनि बक्यौता उठेन भने पानीको महशुल तिर्न भनेर माथिल्लो निकायबाट प्राप्त पैसा हिनामिना गरेर कार्यालयले तिर्नुपर्ने ठाउँमा नतिरेको भन्ने ब्यहोराको मुद्दा अख्तियारमा दिन्छौं ।’ यसअघि पनि पटक पटक महशुलबापतको रकम तिर्न सूचना गरिएको तर कार्यालयले अटेरी गरेकाले लाइन काटेको अध्यक्ष अर्यालले बताए । मालपोत अधिकृत देवेन्द्र थापाले बक्यौता बारे पुरानो हिसाब किताब हेरेर गर्न सक्ने काम कारबाही गर्ने बताए । ‘मुखले त्यतिकै बोलेर हुदैन, पुरानो हरहिसाब के कति रहेछ हेरेर त्यो अनुसार गरुँला’, उनले भने ।


संस्थाले लामो समयदेखि ठूलो परिमाणमा बक्यौता रहेका अन्य उपभोक्ताहरुको लाइन पनि काटेको छ । हरमटारी चोककी चम्पादेवी श्रेष्ठ(राजकुमार श्रेष्ठ), वल्डक्यापिटलमार्गकी मायाकुमारी श्रेष्ठ, हरमटारीकै तपस थापा र हरमटारीकै कृष्णमान श्रेष्ठको घरमा जोडिएको खानेपानी लाइन पनि आइतबार नै काटिएको अध्यक्ष अर्यालले बताए । चम्पा श्रेष्ठको नाममा ४९ हजार पाँचसय ५९ रुपियाँ बक्यौता रहेको छ । त्यस्तै मायाकुमारी श्रेष्ठको नाममा ४९ हजार पाँचसय ५७ रुपियाँ, तपसबहादुर थापाको नाममा ३१ हजार नौसय ३९ रुपियाँ, हरमटारीका कृष्णमान श्रेष्ठको नाममा ३९ हजार सातसय २१ रुपियाँ बक्यौता रहेको संस्थाले जनाएको छ । हरमटारी घर भई हाल अमेरिका बस्ने राजेन्द्रप्रसाद अर्यालको नाममा एकलाख २८ हजार चारसय ८९ रुपैंया बक्यौता रहेको छ भने हरमटारीचोककी जुनुमाया श्रेष्ठको नाममा २० हजार सातसय ७४ रुपियाँ, चम्पा गुरुङ को नाममा २२ हजार एकसय २५ रुपियाँ बक्यौता रहेको अध्यक्ष अर्यालले बताए । उनीहरुको पनि लाइन काट्ने उनको भनाइ छ ।
त्यस्तै पाटेचौरका दण्डपाणि न्यौपानेको नाममा ३१ हजार ७९५ रुपियाँ, पूर्णकुमारी श्रेष्ठको नाममा १६ हजार एकसय ११ रुपियाँ, जुनु माया थापाको नाममा ४३ हजार पाँचसय ३२ रुपियाँ बक्यौता रहेको छ । छहरेका रबिनबाबु श्रेष्ठ को नाममा ३५ हजार आठसय ७१ रुपियाँ, ओमकुमार सुनारको नाममा ५७ हजार ५४ रुपियाँ, कमला कुमारी श्रेष्ठको नाममा ६२ हजार नौसय ३१ रुपियाँ, चुडानारायण किसुनबाबु श्रेष्ठको नाममा ४६ हजार सातसय ८५ रुपियाँ, बक्यौता रहेको संस्थाले जनाएको छ । उनीहरुको पनि लाइन काट्ने अध्यक्ष अर्यालले बताए ।
तीन महिना भन्दा माथि बक्यौता बाँकी रहेका उपभोक्ताको लाइन काट्ने नीति अनुसार धमाधम लाइन काट्न थालिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्