
साम्दोमा सुरक्षा पोष्ट राख्ने एपिएफको तयारी
सशस्त्र प्रहरीले गोरखाको चुमनुब्री गाउँपालिकाको साम्दोमा सशस्त्र प्रहरीको शिविर राख्ने तयारी गरेको छ । सशस्त्रले देशका उत्तरतर्फका सीमाक्षेत्रका १० ठाऊँमा सुरक्षा पोष्ट स्थापनाको खाका बनाएको हो । जसमा चुमनुब्री गाउँपालिका वडा नम्वर १ को साम्दोमा पनि एउटा सुरक्षा पोष्ट राख्ने गरी खाका तयार पारिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआईजी सुरजकुमार श्रेष्ठले बताए । ‘तर तत्काल सुरक्षा टोली खटाउन भने सम्भव छैन’, उनले भने, ‘दक्षिणी सीमा क्षेत्रमा जस्तो उत्तरमा पोष्ट राख्न सहज नहुने भएकाले केही ढिलाई हुन्छ । अहिले १० ठाऊँकोे खाका मात्रै बनाइएको हो ।’ अत्यधिक चिसो र हिमपात हुने क्षेत्र भएकाले विशेष खालको तालिम गरेर मात्रै खटाउनु पर्ने उनले बताए ।
जिल्ला सुरक्षा समितिले भने चीनसँग सीमा जोडिएको गोरखाको दुईवटा नाकामा सशस्त्र प्रहरी खटाउनका लागि सिफारिस गरेको छ । ‘हामीले हाललाई साम्दोमा पोष्ट राख्ने गरि खाका बनाएका छौं, गृहबाट अरु ठाऊँको बारेमा जानकारी आएको छैन’ डिआईजी श्रेष्ठले भने, ‘सुरक्षा समितिबाट निर्णय भै आएमा हामी अर्को ठाऊँको लागि पनि तयारी गर्न सक्छौं ।’
साम्दो र छेकम्पारमा सशस्त्रको सीमा सुरक्षा पोष्ट स्थापनाका लागि गत वर्ष नै सिफारिस गरेर पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यसका लागि सशस्त्र प्रहरीको दरवन्दी सिर्जना गर्ने लगायतको प्रक्रिया अघि बढिरहेको गृहमन्त्रालय अन्तर्गतको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका उपसचिव एकदेव अधिकारीले बताए । पोष्ट रहने ठाउँ, आवश्यक दरवन्दी लगायतका विषयमा टुंगो लगाउन सशस्त्र प्रहरीलाईनै जिम्मा दिइएको उनको भनाई छ । त्यसपछि राष्ट्रिय सुरक्षा समितिले निर्णय गरेपछि मात्रै प्रहरी परिचालन गर्न सकिने अधिकारीले बताए । सामागाऊँ र छेकम्पारमा प्रहरी चौकी भएपनि सीमा नाकाबाट निकै टाढा रहेका छन् । जिल्ला सुरक्षा समितिले उत्तरी भेगकै तीन ठाऊँमा प्रहरी चौकी स्थापनाका लागि पनि गृहमन्त्रालयमा प्रस्ताव गरेको छ । गोरखा र तिब्बतको सीमानामा स्थापना हुनुपर्ने ३ प्रहरी चौकी लामो समयदेखि कागजमा मात्र सिमित बनेका छन् । प्रहरी चौकी राख्ने निर्णय २१ वर्षअघि नै भए पनि निर्णय कागजमै सिमित बनेको हो ।
रणनीतिक महत्व राख्ने बिही प्रहरी चौकी, चुम्चेत प्रहरी चौकी र ल्हो प्रहरी चौकी कागजमा भने रहेको छ । तीनवटै चौकीमा असईको नेतृत्वमा १० जना प्रहरी रहने ब्यबस्था भएपनि अहिलेसम्म चौकी खडा गरी प्रहरी राख्न सकिएको थिएन । गृहले निर्णय गरेपछि अब उत्तरी नाकाका यी प्रहरी चौकी पनि स्थापना हुनेछन् । सीमामा सुरक्षाकर्मीको उपस्थिति नहुँदा अवैध गतिविधि तथा आवतजावत रोक्न समस्या भएको स्थानीयको गुनासो छ । यद्यपी सीमा क्षेत्रमै पर्ने सामागाउँ, प्रोक र छेकम्पारमा भने प्रहरी चौकी सञ्चालनमा छन् । तर ती चौकीमा पनि दरबन्दी अनुसार प्रहरी छैनन् ।
प्रहरी कार्यालयको अभिलेखमा सामागाउँमा ३४ नम्बर, ल्होमा ३५ नम्बर, प्रोकमा ३६ नम्बर, बिहीमा ३७ नम्बर, चुम्चेतमा ३८ नम्बर र छेकम्पारमा ३९ नम्बरका जङ्गेपिलर छन् । पछिल्लो समय गृहमन्त्रालयले उत्तरी सीमानाकाहरुमा पनि निगरानी बढाउन थालेको छ । चीन हुँदै नेपालतर्फ सुन तस्करी हुने गरेको सुरक्षा विश्लेषणका आधारमा सुरक्षा निगरानी बढाइएको गृहमन्त्रालय स्रोतले बताएको छ । गएको भदौ अन्तिम साता १० किलो सुन सहित चुमनुब्री गाउँपालिकाको सिर्दिवासमा छेकम्पार घर भएका दुई नागरिक पक्राऊ परेका थिए । उनीहरुले सीमा नजिकैको तिब्बती वजारबाट सुन ल्याएको वयान गरेका थिए ।




