| आइतवार, कार्तिक २९, २०८३

प्रहरीको सञ्चार सम्पर्क ‘वान–वे’

लामो समयदेखि बाक्लो हिउँ जमेका कारण दुर्गमका प्रहरी चौकीहरुमा सञ्चार सम्पर्क एकातर्फी भएको छ । प्रहरी चौकी सामागाउँ, सीमा प्रहरीचौकी नाम्रुङ, सीमा प्रहरी चौकी छेकम्पार र सिर्दिबास चौकीमा चाहेका बेला सम्पर्क गर्न नसकिने गरेको जिप्रकाका प्रमुख एसपी भोला रावलले जानकारी दिए ।
यी सबै हिमालपारि रहेका प्रहरीचौकीहरु हुन् । ‘उताबाट चाहेका बेला सम्पर्क गर्छन्, हामीले यताबाट सम्पर्क गर्न खोज्दा सकिँदैन’, उनले भने, ‘प्राय उताबाट दिउसो १२ बजे, एकबजेतिर मात्र सम्पर्क गर्छन् ।’ चिसोले सञ्चार सेटको व्याट्रीले काम नगर्ने हुँदा सञ्चार सम्पर्कका लागि कठिन हुने गरेको एसपी रावलको भनाइ छ ।
सम्पर्क हुँदा अधिकांश सञ्चारसेट(वाकीट्वाकी)बाट र यदाकदा मोबाइलबाट पनि सम्पर्क हुने प्रहरीको भनाइ छ । सो क्षेत्रमा स्काइ मोबाइल सेवा सञ्चालनमा छ ।
सामागाउँ चौकी रहेको क्षेत्रमा बिगत एक महिनादेखि पाँचफिट भन्दा बाक्लो हिउँ अहिले पनि जमिरहेको छ । सञ्चार सम्पर्कको समस्याले हिमपातका कारण सो क्षेत्रमा भएको क्षतिको पूर्ण बिबरण पाउन पनि नसकिएको एसपी रावलले बताए । ‘बाक्लो हिउँ जमेको, याकचौरी र संरक्षित वन्यजन्तु मरेको भन्ने सुनिएको छ’, उनले भने, ‘तर कति वटा मरे, कति क्षेति भयो भन्ने बारे यैकिन गर्न सकिएको छैन । हामीले चाहेको बेला सम्पर्क हुदैन । त्यहाँका प्रहरीसंग यथेष्ट सम्बाद गर्न पनि सकिएको छैन ।’

क्याप्सन ः सीमा प्रहरीचौकी छेकम्पार । (फाइल तस्वीर)

प्रतिक्रिया दिनुहोस्