
चुमनुब्रीका योजना धमाधम सदरमुकाममै सम्झौता
चुमनुब्री गाउँपालिकाका उपभोक्ता समितिले धमाधम सदरमुकाममा आएर योजना सम्झौता गरिरहेका छन् ।
गाउँमा खुलेको एकमात्र वैंकले गाउँपालिकासंग वैंकिङ कारोबार नगरेपछि उपभोक्ता समितिहरु योजना सम्झौता गरी खाता सञ्चालन गर्न सात दिन पैदल हिडेर सदरमुकाम झर्न बाध्य भएका हुन् ।
सरकारले गाउँगाउँमा सिँहदरबार भन्ने नारा दिएर योजना निर्माण, सम्झौतालगायतका अधिकार स्थानीय सरकारमा दिए पनि दुर्गमका बासिन्दा भने सदरमुकाम धाउन बाध्य भएका हुन् । उनीहरु महंगो खर्च तिरेर सदरमुकामका बिभिन्न होटलमा कार्यालय सञ्चालन गरेर योजना सम्झौताको काम भइरहेको उपभोक्ता समिति हरु बताउँछन् ।
योजना सम्झौता गर्न सदरमुकाम धाउन बाध्य भएपछि प्रमुख प्रशासकीय अधिकृत, सातवटै वडाका अध्यक्षहरु, वडा सचिव, लेखापाल समेत सदरमुकाममै छन् । चुमनुब्री गाउँपालिकाका सबै वडा हिमालपारि रहेका छन् । प्रत्येक वडामा सातवटा भन्दा धेरै योजना र सोही संख्यामा समितिहरु बनेका छन् । सबै समितिका पदाधिकारी हरुले सदरमुकामका होटल भरिएका छन् । वडा नं. १ को सातवटा योजनामध्य सबै सम्झौता गरिसकिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशभक्त त्रिपाठीले जानकारी दिए । सो वडाका लागि चालुबर्ष एक करोड १५ लाख रुपियाँ बजेट बिनियोजन गरिएको थियो । त्यस्तै वडा नं. २ मा एक करोड रुपैंयाको छ वटा योजना मध्य सबै सम्झौता भएको त्रिपाठीले बताए ।

वडा नं. ३ मा बिनियोजित एक करोड ४० लाख रुपैंयाका १५ वटा योजनामध्य पाँचवटा मात्र योजना सम्झौता गरिएका प्रशासकीय अधिकृत त्रिपाठी बताउँछन् । उनकाअनुसार वडा नं. ४ मा बिनि योजित करिब एक करोड रुपैंयाका १४ वटा योजनामध्य सबैको सम्झौता भइ सकेका छन् । वडा नं. ५ का करिब एक करोडको १२ योजना पनि सम्झौता भइ सकेका छन् भने वडा नं. ६ को एक करोड रुपैंयाका १० वटामध्य सबैको र वडा नं. ७ का एक करोडका नौ योजनामध्य सबैको सम्झौता भइसकेका प्रशासकीय अधिकृत त्रिपाठीले बताए । वैंकले गतबर्ष पनि सेवा नदिएको र यो बर्ष पनि सेवा नदिँदा दुर्गम क्षेत्रका गाउँलेले दुख पाएको गाउँ पालिकाकी उपप्रमुख कुमारी गुरुङले जानकारी दिइन् । ‘दुर्गम ठाउँको वैंक, धेरै पैसा भुक्तानी दिन सक्दैनौं भन्छ’, उनले भनिन्, ‘सबै गाउँ पालिकामा अनिबार्य वैंक खोल्ने भनेर त्यतिबेला कति पहल गरेर वैंक ल्याइयो तर वैंकले सेवा दिएन ।’ गाउँपालिकाको बजेट १३ करोड ५० लाख रहेको तर वैंकले पाँच करोड रुपैंया भन्दा धेरै दिन नसक्ने भन्दै अटेरी गर्ने गरेको उनको भनाइ छ । योजनामध्य अधिकांश बाली संरक्षणका लागि तारबारका योजनाहरु रहेका वडाअध्यक्षहरुको भनाइ छ । ‘गाउँको पहिलो प्राथ मिकता कृषि उत्पादन नै भएकाले भालुबाट बाली जोगाउन तारबारलाई नै जोड दिएका छौं’, वडा नं. ४ का अध्यक्ष पेमाडुण्डुप लामा भन्छन्, ‘सामा गाउँ, ल्हो, प्रोक र छेकम्पारका अधिकांश बजेट तारबारमा नै बिनियोजन भएको छ ।’ बिहीमा वडा कार्यालय निर्माणमा, चुम्चेतमा स्वास्थ्य चौकी भवनमा र सिर्दि बासमा सामुदायिक भवन निर्माण र ढल निकासका लागि ठूलो परिमाणमा बजेट बिनियोजन भएको उनले बताए ।




