| आइतवार, कार्तिक २९, २०८३

बनटारकी बबिता चेपाङको पढ्ने रहर

गण्डकी गाउँपालिका ६ वनटारकी बबिता चेपाङ तोमनडाँडा आधारभूत विद्यालयमा कक्षा चारमा पढ्छिन् । यो फागुनमा ११ पूरा गरेर १२ बर्ष पुगिन् । साथीसंगी मेलापातमा हिडेपनि उनलाई भने पढ्ने रुचि छ ।

बुबाआमाले पोहोर एकबर्षसम्म मेलापात हिडाए तर उनको पढ्ने मोह घटेन, झन बढेर आयो । त्यसैले यसबर्ष फेरि पढ्दापढ्दै छोडेकै कक्षामा भर्ना भइन् । अहिले उनको रोल नंबर एक हो । ‘बुबा आमाले पोहोर एकबर्षभरि मेलामा मात्र हिडाउनु भयो । पढ्न पाइएन’, चिनजान नभएकाहरुसंग बोल्ने बानी नभएकी बबिताले थोरै मात्र बोलिन्, ‘नत्र कुनै कक्षामा पनि फेल भएको छैन ।’ तीनकक्षाबाट फस्ट भएर चारमा पुगेको स्थानीय कमल चेपाङले बताए ।

चार दिदीबहिनी र एक भाइमध्य उनीमात्र पढ्दैछिन् ।
घरमा खाना र लेखपढ गर्ने कापी किताबको समेत ठेगान छैन ।

बबिताको तीन दिदीहरु छन् । तीनैजना पढ्दैनन् । ‘एउटा दिदीको बिहे भइसक्यो । अर्की दिदी मनकामना बजारमा होटेलमा काम गर्छिन्’, बबिता भन्छिन्, ‘एउटी दिदी मेलापात गर्छिन् । एउटा १० बर्षको भाइ छ । उ पनि पढ्दैन ।’ अरुको जे भए पनि आफू एसईईसम्म पढ्ने रहर उनले सुनाइन् । ‘कहिले कापी कलम हुन्छ, कहिले सक्किन्छ । बुबाआमालाई कापीकलम ल्याइ दिनुस् भन्यो भने एक दुई दिन पख् भन्नुहुन्छ ।’ साथीसंगीको सहयोगले काम चलाउने गरेको उनले बताइन् । बबिताको बुबा र आमा बिहानै उठेर साहुको मेलापातमा काम गर्न जान्छन् । जसको काममा जान्छन्, त्यहीँ खान्छन् र एकैचोटी साँझमा मात्र फर्कन्छन् । घरमा आए पनि अधिकांश समय रक्सीको मातमा लर्खराउँदै आउने, घर झगडा भइरहने गाउँलेहरु बताउँछन् ।

‘बिचरी बबिता घरमा पकाउने कुरा भए पकाएर खाएर स्कुल जान्छे, नभए कहिले भोकै, कहिले छरछिमेकमा जसले जे दियो त्यही खाएर जान्छे’, स्थानीय कमल चेपाङ भन्छन् ‘घरमा खानेकुराको भर हुन्न । त्यही भएर सानो भाइको पनि घरमा बास हुदैन ।’ बा(आमा हप्तामा एकफेरजसो घरमा खाना खाने उनले बताए । ‘कसले पकाइतुल्याई गरेर स्कूल पठाउने छोराछोरीलाई ? त्यही भएर कसैले पनि पढेनन्’, उनले भने, ‘बबिताले दुख गरेर पढेकी हो । त्यति हुँदा पनि पढाइ राम्रो छ, कक्षाको फस्टगल हो ।’ सन्तान धेरै जन्माउने तर छोराछोरीलाई पढ्ने वातावरण नबनाइदिएका कारण अधिकांश चेपाङ बालबच्चाको अबस्था नाजुक रहेको उनले बताए ।

बबिताका बुबा इन्द्रबहादुर बाह्रै महिना निमेक गरेर आफ्नो र परिबारको पेट पाल्छन् । उनीसंग सम्पतिको नाममा जनता आवास कार्यक्रम अन्तर्गत सरकारले बनाइदिएको एउटा घर त छ तर घरभित्र अन्नपात केही पनि छैन । नङ्ग्रा खियाएर खाने आफ्नो नामको जग्गा पनि नभएको गाउँले बताउँछन् । विद्यालयका प्रधाना ध्यापक कुलबहादुर चेपाङ बबिताको पढाइको तारिफ गर्छन् । ‘बुबाआमाले जहिले पनि मेला पातमा पठाउँदा पठाउँदै पनि बबिता तीन कक्षाबाट प्रथम भएर चारमा गएकी केटी हो’, उनले भने, ‘घरमा खानेकुरा र कापी कलम पु¥याइदिने हो भने ती बच्चीले राम्रो प्रगति गर्न सक्छिन् ।’

email:daraundidaily@gmail.com

प्रतिक्रिया दिनुहोस्