| आइतवार, कार्तिक २९, २०८३

खोलामा जेसिबी प्रयोग गर्ने अनुमति दिन जिल्ला अनुगमन समिति लचक


अनुपमा खनाल :

खोलामा मेसिन प्रयोग गर्न कडाइ भइरहेका बेला नदीजन्य पदार्थ उत्खननका क्रममा मेसिन प्रयोग गर्न जिल्ला अनुगमन तथा समन्वय समिति लचक देखिएको छ ।

मेसिन प्रयोग गर्नुपर्ने अवस्थाको पुष्टि गरेमा अनुमति दिने निर्णय भएको जिल्ला समन्वय समितिका नायब सुब्बा गोपी कोईरालाले बताए । समितिले भने लचकता देखाएको हो । ‘आईईई अनुसार नदीजन्य सामाग्री निकाल्न जिल्ला समन्वय समितिले स्थानीय तहलाई अनुमति दिएको छ’, उनले भने, ‘यदि नदीजन्य सामाग्री निकाल्न मेसिन प्रयोग गर्नुपर्ने अबस्था आएमा अनुगमन समितिमा पत्र पठाउनुपर्ने र समितिले माग मनासिब ठानेमा मेसिन प्रयोग गर्न दिने निर्णय भएको छ ।’

बैठकले राष्टिूय गौरवको आयोजना, विकास निर्माणका आयोजना र भुकम्प पछिको पुनर्निमाणमा नदीजन्य सामाग्रीको अभाव हुन नदिन स्थानीय तहलाई पत्राचार गर्ने पनि निर्णय गरेको छ । स्थानीय तहले निर्माण सामाग्री ब्यबस्थापनमा बेवास्ता गरेको भन्दै ११ किलो छेपेटार भालुस्वाँरा वारपाक सडक योजना कार्यालयले विभिन्न सडक ग्राभेलका लागि निर्माण सामाग्री ब्यबस्था गरिदिन जिल्ला समन्वय समितिमा पत्राचार गरेको थियो ।

सोही पत्र अनुसार निर्माण सामाग्री सहज उपलब्ध गराउनका लागि स्थानीय तहमा परिपत्र गर्ने पनि बैठकले निर्णय गरेको छ । नदीजन्य सामग्री उत्खनन, संकलनको जिम्मा लिएका ठेकेदार, ठेक्का लिइएको स्थान, उत्खनन गरिने नदीजन्य सामग्रीको परिमाण, घाटगद्धी गर्ने स्थान लगायतका विवरण खुलाई पठाउन पनि स्थानीय तहलाई पत्राचार गर्ने निर्णय भएको छ ।

नदीजन्य सामाग्री उत्खनन तथा विक्री वितरण मापदण्ड अनुसार भए नभएको बारे अनुगमनलाई प्रभावकारी बनाउने पनि समितिले निर्णय गरेको छ । अनुगमन समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको अध्यक्षतामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक भोला रावल, जिल्ला समन्वय अधिकारी यमेन्द्र उपाध्याय लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्