
गण्डकी गाउँपालिकाले बेरोजगार युवालाई सीप सिकाउने
अनुपमा खनाल :
गण्डकी गाउँपालिकाले बेरोजगार युवाहरुलाई स्वरोजगारका लागि सीप सिकाउने भएको छ ।
गाउँपालिकाले चालु आर्थिक बर्षका लागि तय गरेको युवा स्वरोजगार कार्यक्रम अन्तरगत बेरोजगार युवालाई सीप सिकाईने प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले बताए ।
युवायुवतीलाई मोबाइल मर्मत, हाउस वाईरिङ, डूाइभिङ, लेथ मेसिन सञ्चालन, सिलाईबुनाई र दुना टपरी बनाउने तालिम दिईने भएको हो । जसमध्ये महिलाका लागि सिलाईबुनाई र दुना टपरी बनाउने तालिम दिईने उनले जानकारी दिए । ‘सीप सिक्न इच्छुकहरुसँग गाउँपालिकाले आवेदन माग गरेको छ’ प्रमुख प्रशासकीय अधिकृत चौलागाईँले भने ‘१७ गतेसम्म आबेदन संकलन गरेर तालिम लिने ब्यक्ति छनौट गरी यही महिनाबाट तालिम सुरु गर्छौँ ।’ मोबाईल मर्मत र डूाईभिङका लागि एसईई उर्तीण योग्यता तोकिएपनि अन्य सीप सिक्नका लागि सामान्य लेखपढ मात्रै भएपनि पुग्ने चौलागाईले जानकारी दिए । गाउँपालिकाको आठवटै वडाका बेरोजगार, काम गर्न र स्वलगानी गरी ब्यबसायिक बन्न इच्छुकलाई प्राथमिकताका आधारमा छनौट गरिने उनले बताए । ‘तालिम मात्रै लिने मान्छे खोजेका होइनौँ’, उनले भने ‘सीप सिकेर काम गर्न सक्ने मान्छे खोजेका हौं । जो स्वरोजगार बन्न सकोस् र रोजगारी पनि सीर्जना गर्न सकोस् ।’
युवा स्वरोजगार कार्यक्रम अन्तरगत गाउँपालिकाले चालु आर्थिक बर्ष दश लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जसबाट एकसय २० जनालाई सिप सिकाउने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत चौलागाईले बताए ।
हालसम्म प्राप्त आबेदनका आधारमा डूाईभिङ, हाउस वाईरिङ र सिलाईबुनाईमा युवायुवतीको बढि आकर्षण रहेको गाउँपालिकाले जनाएको छ ।
डूाईभिङ तालिम राजमार्ग आसपास चलाउने र अन्य तालिम गाउँपालिका कार्यालयमा नै सञ्चालन गरीने गाउँपालिकाले जनाएको छ ।
तालिममा सहभागीले खानेबस्ने ब्यबस्था आफै गर्नुपर्ने प्रमुख प्रशासकिय अधिकृत चौलागाईले बताए । ‘गाउँपालिकाले प्रशिक्षक ल्याएर सिप सिकाउने मात्रै हो’ उनले भने ‘खानेबस्ने ब्यबस्था सहभागी आफैंले गर्नुपर्छ ।’




