| आइतवार, कार्तिक २९, २०८३

काशिगाउँमा गाडी पुग्यो, धार्चेमा अब उहिया र केरौंजा मात्र गाडी पुग्न बाँकी

गोरखाको अर्को दुर्गम गाउँ सडक सञ्जालमा जोडिएको छ ।
आरुघाट १ मान्बुको छोटेखोला हुदै धार्चे ६ काशिगाउँसम्म तीनदिनदेखि यातायातका साधन चल्न थालेको सो वडाका अध्यक्ष धनकुमार घलेले जानकारी दिए ।

दुर्गम ठाउँमा रहेको धार्चे गाउँपालिकाको लाप्राक, गुम्दा र लापुमा यसअघि नै गाडी पुगिसकेको र अहिले काशिगाउँमा समेत गाडी चल्न थालेपछि अब धार्चेमा केरौंजा र उहिया मात्र सडक सञ्जालमा जोडिन बाँकी रहेको छ । गाउँसम्म मोटर चल्न थालेपछि काशिगाउँका बासिन्दा खुशी भएका छन् । ठूलो बिरामी पर्दा, सुत्केरी र घाइते हुँदा तत्काल उपचार गर्न जान सक्ने आशा गाउँलेको छ । ‘गाडी चढ्न छ घण्टा हिडेर सोती पुग्नु पथ्र्यो’, वडा अध्यक्ष घलेले भने, ‘अब गाउँमै गाडी चल्न थाल्यो । बिरामी पर्दा र घाइते हुँदा अस्पतालको मुखै नहेरी अकालमै मर्नु पर्दैन होला ।’
गाउँपालिकाको एक करोड ४८ लाख रुपैयाँको लागतमा गतबर्ष सडक निर्माण गरिएको थियो । यसबर्ष ३० लाख खर्च गरेर सडक सफा गरेपछि गाउँसम्म यातायातका साधन आइपुगेको वडा अध्यक्ष घलेको भनाइ छ । ‘छोटेखोलासम्म तीनबर्ष अघि नै गाडी चल्थ्यो’, उनले भने, ‘अहिले गाउँमै गाडी देख्न पाइयो ।’


गाउँमा गाडी आइपुगेपछि सस्तोमा खाद्यान्न पाउने भन्दै गाउँले खुशी भएका छन् । ‘२४सय रुपैंया पर्ने जीरा मसिनो चामल अब १८ सयमा पाएका छौं । १८ सय पर्ने सोना मन्सुली १२ सय २० मा गाउँमा पायौं’, उनले भने, ‘नून, तेल सबै सस्तोमा पाएपछि गाउँले सबै दंग छन् ।’ किनमेलका लागि दिनभरिको बाटो हिडेर माछाखोला, सोती, आर्खेत, आरुघाट जाने दिन अब सकिएको उनको भनाइ छ ।
गाउँमै गाडी आएपछि गाउँमा उत्पादन हुने मकै, आलु, कोदो, चिराइतो लगायतका स्थानीय उत्पादनले बजार पाउने भन्दै वडा सदस्य आशबहादुर गुरुङले खुशी व्यक्त गरे । ‘यहाँ आलु, मकै, कोदो धेरै उत्पादन हुन्छ । आफैले खाएर मात्र सकिदैन । अब धेरैथोरै बेच्न पाइने भयो । दुईचार पैसाको मुख देख्न पाइने भयो ।’
अर्मलादेखि मान्बु जोड्ने बुढीगण्डकी नदीमाथि पुल बन्ने क्रममा छ । सो पुल बनेमा अझै ठूलो राहत पुग्ने वडा अध्यक्ष घले बताउँछन् । ‘अर्मलामा पुल नबनेसम्म मान्बु, धादिङको बसेरी, बुढाथुम हुदै आरुघाट पुग्न पाँच घण्टा लाग्छ । गोरखा पुग्न एकदिन नै लाग्छ’, उनले भने, ‘पुल बनेपछि चारपाँच घण्टा छोटिन्छ । जनतालाई ठूलो राहत हुन्छ ।’ काशिगाउँसम्म मोटर पुगेपछि केरौंजाका लागि पनि राहत पुग्ने विश्वास स्थानीयबासीको छ । ‘केरौंजाबाट माछाखोला जान आउन एकदम चर्को उकालो ओह्रालो हिड्नु पर्छ । काशिगाउँ आउन जान तेर्सोपर्छ’, अध्यक्ष घलेले भने, ‘त्यसैले रड, सिमेण्ट, पाइप जस्ता निर्माण सामग्री ढुवानी गर्न पनि सजिलो पर्छ । पहिरो खस्ने ढुंगा खस्ने बाटो पनि नहुँदा उनीहरुलाई पनि सजिलो हुन्छ ।’ केरौंजा जोड्ने सडकका लागि प्रदेश सरकार एक करोड ६० लाख रुपैयाँको बजेट परेको र टेण्डर पनि भइसकेको उनले बताए ।


उहिया र केरौंजालाई पनि सडक सञ्जालले जोड्ने योजना प्राथमिकतामा रहेको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ बताउँछन् । ‘बिगतका बर्षहरुमा टुक्रे योजना थिए, ठूलो काम हुन सकेको थिएन । हामीले काशिगाउँ जोड्न एक करोड ६६ लाख रुपैंया बजेट बिनियोजन गर्यौं । देखिने काम भयो’, उनले भने, ‘यस्तै ठूलो शीर्षकमा बजेट तथा कार्यक्रम बनाएर बाँकी गाउँपालिका पनि हामी सडक सञ्जालले जोड्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्