| आइतवार, कार्तिक २९, २०८३

अमरसिँह थापाको जन्मस्थल सिरानचोकको कोट तथा गढी प्रबर्धन अभियान सुरु

गोरखाको सिरानचोक गाउँपालिका ले ऐतिहासिक सिरानचोककोट र गडीको संरक्षण गरी पर्यटन प्रबर्धनको काम सुरु गरेको छ । सिरानचोककोट तथा गडीको संरक्षण गर्न तथा पर्यटन प्रबद्र्धन गर्नका लागि चालु आर्थिक बर्ष करीब एक करोड रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।
इतिहासको खोजी तथा पर्यटन प्रबद्र्धनका लागि विज्ञहरुको दुई छुट्टाछुट्टै समिति गठन गरी सिरानचोक कोटको इतिहासको खोजी तथा संरक्षणको काम थालेको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए ।
गाउँपालिकाले सिरानचोक दरबारको इतिहास तथा अमरसिंह थापाको खोज तथा अनुसन्धानका लागी डाक्टर हिमलाल घिमिरेको संयोजकत्वमा समिति गठन गरेको छ । यस्तै, पूर्व योजना आयोगका सदस्य डाक्टर सुनिलबाबु श्रेष्ठको संयोजकत्वमा सो क्षेत्रमा पर्यटन प्रबद्र्धनका लागी गुरुयोजना बनाउन समिति गठन गरेको छ ।
दुबै समितिले चैतमा प्रारम्भीक प्रतिवेदन तयार पार्नेगरि अध्ययन गरिरहेको गाउँपालिका अध्यक्ष गुरुङले बताए । ‘दुबै समितिले स्थलगत अध्ययन, छलफल, खोज अनुसन्धान लगायतका काम गरिरहेको छ’ उनले भने‘ हामी तत्काल यहाँ तारबार र संरक्षणको काम गर्छौ समितिको प्रतिवेदन आएपछि दिर्घकालिन रुपमा गुरुयोजना अनुसार काम गर्छौ ।’
गाउँपालिकाले रणसिंह दल गणसाग समन्वय गरि शनिवारबाट सिरानचोक कोटमा सरसफाई तथा तारबारको काम शुरु गरेको छ । नेपाली सेनाको एक समुह ५ दिनसम्म कोटमा तारबार तथा सरसफाईमा जुट्ने अध्यक्ष गुरुङले बताए ।
पर्यटन प्रबद्र्धनका लागी सो ठाउँमा भ्यु टावर निर्माण गर्ने, साईकिलिङ रुट तयार गर्ने, ब्यबस्थित रुपमा पिकनिक स्पट बनाउने लगायतका काम गर्ने गाउँपालीकाले जनाएको छ ।
इतिहास अनुसार चौबिसे राज्यको आक्रमणबाट गोर्खा राज्यलाई बचाउन सिरानचोक कोटको महत्वपुर्ण भुमीका रहेको सिरानचोक गाउँपालिकाका अध्यक्ष गुरुङले जानकारी दिए । ‘सिरानचोक कोट गोरखा राज्यलाई चौबिसे राज्यको आक्रमणबाट बचाउने कोटका रुपमा इतिहासमा पाईयो’ उनले भने ‘ चौबिसे राज्यले १८१२ र १८३८ सालमा गोरखा राज्यलाई आक्रमण गर्दा सिरानचोक कोटबाट नै परास्त गरेको पाईन्छ ।
यदि त्यसो नभएको भए गोरखा राज्यको सीमाना हेरफेर पनि हुन्थ्यो होला ।’ लमजुङ, तनहु, पर्वत, कास्कीका राजाहरु मिलेर चौबिसे राज्यले १८१२ मा सिरानचोक कोटमा आक्रमण गर्दा काठमाण्डौ बाट तुरुन्तै पृथ्वी नारायण शाहको आदेशमा उनका भाईको नेतृत्वमा आएको सेनाको समुहले चौबिसे राज्यसँग लडाई गरि उनिहरुलाई भगाएको इतिहास छ । सो सेनाको समुहमा कालु पाण्डेको नेतृत्वमा लडाई गरेर चौबिसेलाई सिरानचोकबाट परास्त गरेको गाउँपालिका अध्यक्ष गुरुङले बताए ।
यस्तै, १८३८ मा चौबिसे राज्यले आक्रमण गर्दा अमसरसिंह थापा नेतृत्वको सेनाले लमजुङका फौजलाई परास्त गरेको थियो । लमजुङ सेनाको नेतृत्व गरेका भक्ती थापालाई अमरसिंह थापाको समुहले सिरानचोकमा कब्जा लिएपछि उनि गोरखाको सेनामा भर्ति भएका थिए । इतिहास अनुसार अमरसिंह थापाको जन्म सिरानचोकमै भएको पाईएकाले यस बिषयमा पनि खोज तथा अनुसन्धान शुरु गरेको गाउँपालिका अध्यक्ष गुरुङले बताए । थालाजुङ, छोप्राक, श्रीनाथकोट, जौवारी र गाखुँको सिरका रुपमा रहेको सिरानचोक कोटमा जेठो, माईलो र कान्छो गरि तिनवटा कोट छन् । त्यहाँ दशैं घर, टुडीखेल, सीतापधेँरो लगायतका ऐतिहासीक तथा धार्मिक सम्पदाहरु छन् । गुरासे जंगलको बिचमा रहेको कोटमा श्रीथान मण्डलीको मन्दिर पनि छ । सो मन्दिर पृथ्वी नारायण शाहले नेपाल एकिकरण गर्नुभन्दा अघि स्थापना भएको स्थानियले बताएका छन् । मन्दिरमा गुरुङ समुदायका दुई पुजारीले दैनिक पुजाआजा गर्दै आएका छन् । मंसिरको न्वागी मेला र बालाचतुर्दशीमा मन्दिरमा मेला लाग्ने गर्दछ । सो ठाउँका श्रृङगी ऋषिले तपस्या गरेको स्थानियको दाबी छ । सिरानचोक कोटबाट मनास्लु, माछापुछेू, अन्नपुर्ण, फिस्टेल, गणेश लगायतका हिमश्रृखंला पनि देख्न सकिन्छ । कोटको जंगलमा मृग, कालिज,खरायो, चितुवा लगायतका जंगली जनावर पनि देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्