| आइतवार, कार्तिक २९, २०८३

बन्द गरिएको भनिएको फिरफिरे निर्बाध खुल्लै

दरौंदी समाचारदाता

मापदण्ड बिपरीत चलेकाले गाउँपालिका कार्यालयले बन्द गराएको भनिएको घ्याल्चोकको एक फिरफिरे उद्योग निर्बाध चलिरहेको पाइएको छ ।

सो गाउँ पालिका वडा नं. ८ धवादीघाटको सिद्धिदर्शन सप्लायर्स प्रालिले सञ्चालन गरेको फिरफिरेउद्योग गाउँपालिका कार्यालयले गत माघ सात गते पत्राचार गरी बन्द गर्न आग्रह गरेको थियो । तर पत्राचार गरेको एक महिना बिति सक्दा पनि निरन्तर चलिरहेको स्थानीयबासीले बताएका छन् । ‘त्यो मात्र होइन, अरु दुईवटा फिरफिरेपनि चलिरहेका छन्’, एक स्थानीयबासीले दरौंदीलाई टेलिफोन गरी भने, ‘समाचारमा चाहिँ बन्द गरिएको भन्ने पढ्न पाइयो, तर फिल्डमा चाहिँ चलिरहेको छ ।’
गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले प्रदेश सरकारले तयार गरेको मापदण्ड बिपरीत चलेको भन्ने उजुरी आएकाले बन्द गर्न पत्राचार गरिएको जानकारी दिए । ‘एकै ठाउँमा १२ वटा फिरफिरे दर्ता भएका छन् । अरु चलेका छैनन्, दुईतीनवटा चाहिँ चलिरहेका छन्’ नाम उल्लेख नगरिदिन अनुरोध गर्दै उनले भने, ‘धादिङतिरका बालुवा पनि धोइरहेको छ, गोरखातिरैको बालुवा पनि धोइरहेको छ ।’
सिद्धिदर्शन सप्लायर्सले प्रक्रिया नपु¥याएकाले अहिलेसम्म गाउँ पालिकाले अनुमति नदिएको गाउँपालिका अध्यक्ष रानाले बताए । नियमानुसार दर्ता भएर आएमा सञ्चालनका लागि अनुमति दिन सकिने उनले बताए छ ।
सो सप्लायर्सका प्रोपाइटर सुजित रेग्मीले भने स्थानीय भूकम्प पीडितलाई मात्र थोरै थोरै परिमाणमा बालुवा उपलब्ध गराउन मेसिन चलाएको बताएका छन् । ‘बाहिर निर्यात गर्ने उद्देश्यले होइन, आफ्नै गाउँघरका भूकम्प पीडितको घर बनाउनका लागि थोरै थोरै प्रशोधन गरेर बिक्री बितरण गरेको हो ।’ उनले फिरफिरे उद्योग अन्यत्रै स्थानान्तरण गर्ने तयारी गरेकाले अब बन्द गर्ने पनि बताए । ‘गाउँपालिकाले भनेको प्रक्रिया पु¥याउने तयारी गरिरहेको छु’, उनले भने, ‘अब दर्ता भएपछि यो ठाउँमा बन्द गरेर अन्यत्र लगेर चलाउने तयारी गरिरहेको छु’

प्रतिक्रिया दिनुहोस्