
किचलोले अबरुद्ध चुमनुब्री गाउपालिकाको चौथो गाउसभा सम्पन्न, न्यायिक समिति र सहकारी ऐन पारित
अनुपमा खनाल :
गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङसहित केही वडा अध्यक्षहरुले सार्बजनिक सुनुवाइको माग गर्दै अबरुद्ध गरेको चुमनुब्री गाउपालिकाको चौथो गाउँसभा बिहि बार सम्पन्न भएको छ ।
सार्ब जनिक सुनुवाई सम्पन्न गरे पछि सौहार्द वातावरणमा गाउँसभा सम्पन्न गरेको गाउँपालिकाका बेदप्रकाश ढकालले जानकारी दिए । चौथो गाउँसभाले सहकारी ऐन २०७५ र न्यायिक समितिको कार्यबिधि पारित गरेको छ । फिलिमस्थित गाउँ कार्यपालिकाको कार्यालयमा बिहिबार आयोजित गाउँसभाले उपाध्यक्ष कुमारी गुरुङले प्रस्तुत गरेको सहकारी ऐन २०७५ र न्यायिक समितिको कार्यबिधी सर्वसम्मतले पारित गरेको हो ।
गाउँसभाले चालु आर्थिक बर्षका दुई वटा योजना संसोधन गरेको योजना शाखा प्रमुख बेदप्रकाश ढकालले जानकारी दिए । ‘योजनामा दोहोरोपना नहोस भनेर हामीले केहि योजना संसोधन गरेका छौ’ उनले भने ‘साम्दो र चुम्चेतको एउटा÷ एउटा योजना संसोधन भएको छ ।’ साम्दो ढल निकासका लागि विनियोजीत सात लाख रुपैयाँ बजेट साम्दोको भाउखोला देखि साम्दो गाउँसम्म सुख्खा पर्खाल निर्माणका लागि थप गरिएको उनले बताए । पर्खाल निर्माणका लागि विनियोजन गरिएको २० लाख अपुग भएपछि ढल निकास शीर्षकको बजेट थप गरिएको योजना शाखा प्रमुख ढकालले बताए । ‘साम्दो ढल निकासका लागी एमक्यापले काम गर्ने भएकाले बजेट डुप्लिकेशन नहोओस् भनेर शीर्षक परिवर्तन गरिएको हो ।’
गाउँसभाले वडा नं ६ चुम्चेतको कयङगपु गुम्बा मर्मतको लागि विनियोजित १० लाख रुपैयाँ चुम्चेत स्वास्थ्य चौकी भवन निर्माणका लाग थप गर्ने निर्णय गरेको छ । गुम्बा मर्मतका लागी गुम्बा विकास समितिलाई आग्रह गर्ने निर्णय गर्दै गाउँसभाले स्वास्थ्यचौकी निर्माणका लागि बजेट थप गरेको योजना शाखा प्रमुख ढकालले बताए । ‘स्वास्थ्य चौकी निर्माणका लागि १५ लाख रुपैयाँ बजेट थियो’ उनले भने ‘ स्थानीयबाट पहिले स्वास्थ्यचौकी बन्नुपर्ने आवाज आएपछि गुम्बाको बजेट पनि यतै थपेर २५ लाख बजेट पु¥याएका हौ ।’ फागुन ७ र ८ गते बसेको चुमनुब्री गाउँकार्य पालिकाको बैठकको निर्णयलाई अनुमोदन गर्दै गाउँसभाले सो क्षेत्रको विकासका लागि प्रदेश सरकारसँग १२ योजना माग गरेको छ । सभाले गाउँपालिका भित्र रहेका जिर्ण अबस्थाका झोलुङ्गे पुल मर्मत सम्भारका लागि सम्बन्धीत निकायसँग माग गर्ने निर्णय पनि गरेको छ। वडा नं १ मा ५, २ मा १०, ३ मा १७, ४ मा ५ , ५ मा १०, ६ मा ५ र ७ मा ५ वटा झोलुङ्गे पुल मर्मत गर्नुपर्ने अबस्थामा रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशभक्त त्रिपाठीले बताए । चालु आर्थिक बर्षको हालसम्म गाउँपालिकाको पुजिँगत बजेट जम्मा दुई प्रतिशत मात्रै खर्च भएको लेखा शाखा प्रमुख मुकेश प्रजापतीले जानकारी दिए । चालु आर्थिक बर्षको ८० योजनामध्ये दुईवटा योजना मात्रै निर्माण सम्पन्न भएकाले पुजिँगत बजेट कम खर्च भएको उनको भनाई छ । हालसम्म ४३ योजना मात्रै सम्झौता भएका छन् ।
गाउँपालिकाका प्रमुख धनबहादुर गुरुङको अध्यक्षतामा गाउँसभा भएको हो । कार्यपालिका बैठकले पुषको दोस्रो साता नै गाउँसभा गर्ने तयारी गरेको थियो । तर गाउँ पालिकाकी उपाध्यक्ष गुरुङले सार्वजनिक सुनुवाई नगरेसम्म गाउँसभा हुन नदिने अडान राखे पछि गाउँसभा रोकिएको थियो । वडा तथा गाउँपालिकास्तरीय सार्वजनिक सुनुवाई सम्पन्न गरेर सौहादपुर्ण वातावरणमा गाउँसभा सम्पन्न भएको योजना शाखा प्रमुख ढकालले जानकारी दिए ।




