
खानीगाउँको भौगर्भिक अध्ययन, पूरै बस्ती सार्न सिफारिस
किरण लोहनी
भूकम्प र त्यसपछिको पहिरोको चपेटामा रहेका धार्चे ७ खानी गाउँको पूरै बस्ती स्थानान्तरण गर्नुपर्ने भूगर्भविदले सुझाव दिएका छन् ।
भूगर्भविदको टोलीले गतहप्ता गरेको भौगर्भिक सर्भेक्षण अनुसार एकसय २१ घरधुरीको सो गाउँ पहिरोको उच्च जोखिममा छ । ‘स्थानीय दुङ्स्योङ खोलाले तीब्र रुपमा जमिन कटान गरेको पाइयो, पहिरो क्रमशः बस्तीतिर सर्दै गएको छ’, खानीगाउँ पुगेर फर्केका राष्टिूय पुननिर्माण प्राधिकरणका भूगर्भविद् लेखप्रसाद भट्टले भने, ‘अहिले पनि बस्तीको ठाउँठाउँमा चिरा पर्ने क्रम जारी नै छ । अबको बर्षायाममा झन् धेरै जोखिम बढ्ने देखिन्छ ।’ गएको बर्खायाममा पहिरोको जोखिम बढेपछि खानीगाउँका ४० घरधुरी बिस्थापित भएका थिए । गाउँलेहरु कसैको घर पहिराले भत्काइसकेको छ भने बाँकी परिवार पनि पुरानो घरमा बस्न सक्ने अवस्था नभएको गाउँलेहरु बताउँछन् ।

बिस्थापित भएर नयाँ बसोबास गरेको ठाउँ जोखिम नदेखिए पनि भित्रभित्र जमिन खोक्रो रहेको भूगर्भविद भट्टको भनाइ छ । ‘उनीहरु अहिले विस्थापित भएर बसिरहेको ठाउँ पनि कमजोर छ’ भूगर्भविद् भट्टले भने, ‘बाहिरबाट हेर्दा जमिन सामान्यजस्तो देखिएपछि भित्रभित्रै कमजोर बनिसकेको छ ।’ प्राधिकरणको जग्गा ब्यवस्थापन तथा भौगर्भिक अध्ययन शाखाले स्थानीयले प्रस्ताव गरेको जग्गामा नयाँ बस्ती बसाल्न मिल्ने नमिल्नेबारे पनि अध्ययन गरेको छ । ‘उहाँहरुले गाउँ नजिकैको दुई ठाउँ देखाउनुभयो, एक ठाउँ पूरै ओसिलो छ, अर्को ठाउँमा पनि बस्ती बसाल्न त्यति उपयुक्त देखिदैन’ भूगर्भविद् भट्टले भने ।
जिल्ला विपद् ब्यवस्थापन समितिको सिफारिस अनुसार पुनर्निर्माण प्राधिकरणले आरुघाट गाउँपालिका १ मान्बुको स्याम्चेत र कटुञ्जेको पनि भौगर्भिक अध्ययन गरेको छ । ‘स्याम्चेत र कटुञ्जेमा चाहिँ जोखिम नियन्त्रण गर्न सकिने सम्भावना देखियो, तर खानीगाउँमा त्यसो गर्दा पनि जोखिम कम गर्न गाह्रो देखिन्छ’, भट्टले भने, ‘अहिले बायो(इन्जिनियरिङको काम गरेपनि त्यसको प्रतिफल आउन पाँचवर्ष जति लाग्छ, त्यो विचमा थप जोखिम निम्तिन सक्ने देखियो ।’
गएको साउन १ र २ गतेको लगातारको वर्षाका कारण स्याम्चेतका १ शय २० घरधुरी जोखिममा परेका थिए । दुइ वर्षदेखि नै सो बस्ती पहिरोको उच्च जोखिममा रहेको थियो । गाउँमाथिको मजङ पाखाबाट बग्ने लेदो माटो बस्तीमा नआउने गरि तर्काउन सके सो बस्तीलाई सुरक्षित बनाउन सकिने भट्टको भनाई छ । कटुञ्जे गाउँमा पनि पहिरोको जोखिम नियन्त्रणका उपाय अपनाउन सकिने उनले बताए । जिल्ला विपद् ब्यवस्थापन समितिले यी दुई सहित अरु ३ बस्तीको भौगर्भिक अध्ययनका लागि प्राधिकरणमा पत्राचार गरेको थियो । यसअघि घैरुङको अँधेरी, बारपाकको तसरा गाउँको भने प्राविधिक टोलीले अध्ययन गरिसकेको छ । ती दुबै बस्तीमा जोखिम न्यूनीकरणका उपाय अपनाएमा साविककै ठाउँमा बस्ती बसाल्न सकिने देखिएको प्राधिकरण अन्तर्गतको जग्गा ब्यवस्थापन तथा भौगर्भिक अध्ययन शाखाका भूगर्भविद् भट्टले बताए । खानीगाउँलाई स्थानान्तरण गरी नयाँ ठाउँमा एकीकृत बस्ती बसाल्न सकिनेबारे छलफल थालिएको पुननिर्माण प्राधिकरण कार्यकारी समिति सदस्य हरेराम पराजुलीले बताए । ‘म आफैं भूगर्भविद्को टोलीसँग अध्ययन गरेर फर्किएको छु, भौगर्भिक हिसावले जोखिम छ भन्ने प्रारम्भिक जानकारी छ’ उनले भने, ‘प्राधिकरणबाट निर्णय गरेर एकिकृत बस्ती विकासको काम गर्न सकिन्छ ।’ अहिले अध्ययन गर्न लागिएको दुई बस्तीका बासिन्दा लाई स्थानान्तरण गर्नु परेमा दुई वटा विकल्प रहेको पराजुलीले बताए । विस्थापितहरुले आफ्नो इच्छा अनुसार बसोबास गर्न चाहेमा प्राधिकरणले घडेरी किन्नका लागि २ लाख रुपैया दिनेछ । उनीहरु एकिकृत रुपमा बस्न चाहेमा भने स्थानीय सरकारले जग्गाको ब्यवस्थापन गरिदिनुपर्ने पराजुलीले बताए । ‘बस्तीमा आवश्यक पर्ने अरु पूर्वाधार बनाउने काम हामी गर्छौं, पहिले स्थानीय तहले सुरक्षित ठाउँमा जग्गा खोजिदिनुपर्छ ।’ उनले भने ।




