| आइतवार, कार्तिक २९, २०८३

गोरखामा प्रदेश सरकारले पाँच मोटरेबल र सात झोलुंगेपुल बनाउने (कहाँ कहाँ बन्ने भए ? सूचीसहित)

गण्डकी प्रदेश सरकारले गोरखामा पाँच ठाउँमा मोटरेबल पुल निर्माण गर्ने भएको छ । भौतिक पूर्वाधार निर्माण मन्त्रालयले बहुबर्षे योजना अन्तर्गत गोरखामा बिभिन्न पाँच वटा मोटरेबल पुल र सात वटा झोलुङ्गे पुल निर्माणका लागि बजेट बिनियोजन गरेको जनाएको छ ।
मन्त्रालय स्रोतका अनुसार प्रत्येक मोटरबेल पुलका लागि चालु आर्थिक बर्ष ७५ लाख र प्रत्येक झोलुंगेपुलका लागि ११ लाख रुपैंयाका दरले बजेट बिनियोजना भएको छ ।

मन्त्रालयबाट प्राप्त जानकारी अनुसार सहिद लखन गाउँपालिका को राइनास र बुटार जोड्ने गरी जुग्देखोलामा मोटरेबल पुल बन्ने भएको छ । त्यस्तै डनडुरेखोला पुलका लागि पनि मन्त्रालयले ७५ लाख रुपैंया बजेट बिनियोजन गरेको छ । त्यस्तै आरुघाट गाउ ँपालिकाको आर्खेतखोला पुलका लागि पनि प्रदेश सरकारले बजेट बिनियोजन गरेको जनाएको छ ।

पालुङ्टार नगरपालिका ६ साबिक गाईखुर गाविस र तनहूँको भानु नगरपालिका ३ जोड्ने गरी मस्र्याङ्दी नदीमाथि पनि पुल बनाउन प्रदेश सरकारले बजेट बिनियोजन गरेको छ । सेनाले निर्माण गरिरहेको बेनिघाट, आरुघाट, लार्के सडक अन्तर्गत लापुवेशीको नौलीखोलामा पुल निर्माण गर्न पनि प्रदेशले बजेट बिनियोजन गरेको जनाएको छ ।

त्यस्तै प्रदेश सरकारको भौतिक पूर्वाधार निर्माण मन्त्रालयले आरुघाट गाउँपालिकाको देउराली र थुमी भिबोटमा सोतीखोलामाथि झोलुंगे पुल निर्माणका लागि ११ लाख रुपियाँ बिनियोजन गरेको जनाएको छ । सोही गाउँपालिकाको स्याम्राङ डुम्रेखर्कमा पनि पुल बन्ने भएको छ ।
गोरखा नगरपालिका ३ नारेश्वरको कुमालगाउँ र चोरकाटे जोड्ने गरी दरौंदी खोलामा पनि झोलुंगेपुल बन्ने भएको हो । त्यस्तै सिरानचोक गाउँपालिका ६ को चापेखोला र बालुवाफाँटमा पनि झोलुंगेपुल निर्माण हुने भएको छ । सोही गाउँपालिकाको हर्मी र थालाजुङ जोड्ने गरी खारखोलामा पनि झोलुंगेपुल बन्ने मन्त्रालयले जनाएको छ ।

धार्चे २ केरौंजाको म्याक्सिङखोलामा र चुमनुब्री गाउँपालिका ४ प्रोकका खाप्साखोलामा पनि झोलुंगेपुल निर्माणका लागि बजेट निर्माण हुने भएको मन्त्रालयले जनाएको छ ।
भौतिक पूर्वाधार निर्माण मन्त्री रामशरण बस्नेतले आफ्नो कार्यकालमा गोरखाका लागि केही गरेर देखाउने बताएका छन् । यी योजनाका ठेक्का छिट्टै खोल्ने भन्दै उनले योजना सम्पन्न गर्न ढिलाइ गर्ने र भ्रष्टाचार गर्नेलाई ‘ठाउँका ठाउँ ठिक गर्ने’ पनि बताए ।

प्रतिक्रिया दिनुहोस्