
गोरखा दरबार पुनर्निर्माणमा ढिलाइ, १५ महिनामा जम्मा जगमात्र तयार
अनुपमा खनाल
पुनर्निमाणको काम सुरु भएको १५ महिनाको अबधिमा गोरखा दरबारको जग तहसम्मको मात्रै काम सकिएको छ । गतबर्षको कात्तिकबाट निर्माण कार्य सुरु भएको दरबारको पुनर्निर्माणको अहिलेसम्म जगमात्रै निर्माण गरिएको गोरखा दरबार हेरचाह अड्डाका निमित्त प्रमुख रामेश्वर कट्टेलले जानकारी दिए ।
दरबार पुनर्निर्माणको ठेक्का पचली सिभाको जेभी नामको ठेकेदार कम्पनीले लिएको हो । ‘अहिलेसम्म जग बलियो बनाउने काम भएको छ’, उनले भने ‘इलमथाम राख्नका लागि ढुंगा काटेर चुनासुर्कीले सेट गर्ने काम भैरहेको छ । पुरानो शैलिमा नै थाम राखेर भुकम्प रहित बनाउन काठको लकासी दिएर कस्ने कामको पनि सुरुवात भएको छ ।’ यसका लागि दरबार परिसरमा नै काठ चिर्ने मेसिन राखेर काम थालिएको उनले बताए ।
पुरातात्विक शैलिमा पुननिर्माण गर्नुपर्ने भएकाले आबश्यक निर्माण सामाग्री जुटाउन ठेकेदार कम्पनीलाई समस्या परेको निमित्त प्रमुख कट्टेलले जानकारी दिए । ‘काठ जुटाउन नै समस्या छ’, उनले भने, ‘सय सेफ्टि काठ चाहिनेमा अहिलेसम्म करीब ४० सेफ्ठिको मात्रै जोहो भएको छ । ठूला साईजका काठ चाहिने रहेछ । ठेकेदार कम्पनीले धेरै ठाउँमा बुझेका छन् । काठ पाईएको छैन ।’ चार करोड ३३ लाख रुपैयाँको ठेक्का लिएको गोरखा दरबार पुनर्निर्माणको काम पचलीले आगामी मङसीर महिनाभित्र सम्पन्न गर्नेगरी सम्झौता गरेपनि कामले गति लिन सकेको छैन । यही गतिमा काम भए पुननिर्माणको काम निर्धारित समयमा सम्पन्न हुन नसक्ने निमित्त प्रमुख कट्टेलले टिप्पणी गरे । ‘पुनर्निमाण सुरु भएपछि केहि समय ठेकेदार र प्राविधिकले पनि बेवास्ता गरे, आएका कामदार पनि फर्कने अबस्था आयो’ उनले भने ‘अहिले ठेकेदार कम्पनीले काममा गति त दिएको छ, तर साना साना अल्झनले पनि ढिलाई भएको छ । आफ्नै सुरले बनाउन मिलेन । अब राजगद्दी भन्दा पछाडिको ढुंगामा लकासी राख्नुपर्नेछ । ढुंगा फुटाउन मिल्ने नमिल्ने भन्ने टुंङ्ग्याउन फेरि स्टूक्चर इन्जिनियरको रिर्पोट चाहिन्छ । रिर्पोट नआई त्यहाँ काम भएन ।’ दरबार पुननिर्माणमा अहिले दशजना मजदुर खटिएका छन् । पुरातत्व विभाग अन्तरगतका दुई र ठेकेदार कम्पनी अन्तरगतका एक इन्जिनियरले पुननिर्माणको अबस्था निरीक्षण गरिरहेका अड्डाले जनाएको छ । दरवार जगैदेखि भत्काएर जस्ताको टहरो बनाई पुननिर्माण थालिएकोे हो । दरबार भत्काए पछिको इट्टा, झिंगटी, काठ लगायतका सामाग्री सुरक्षित साथ भण्डारण गरिएको छ ।
पुनर्निमाणका क्रममा प्रयोग गर्न मिल्ने सबै पुराना सामाग्री प्रयोग गर्ने पुरातत्व विभागले जनाएको छ । पुरानै शैलिमा दरबारको पुनर्निमाण गरिने भएको हो । दरबारका ऐतिहासिक र महत्वपुर्ण संरचना जस्ताको तस्तै राखिने निमित्त प्रमुख कट्टेलले बताए । ‘राजगद्दी भएको ठाउँ हामीले केही गर्दैनौ’, उनले भने ‘राजगद्दी भएको ठाउँका ढुंगा जस्ताको तस्तै रुपमा अब बन्ने दरबार भित्र नै रहन्छ । महत्वपूर्ण संरचनालाई पुनर्निमाणका क्रममा जोगाउने छौँ ।’ १९९० सालको भुकम्पले कमजोर बनाएको दरबार २०७२ सालको भुकम्पले क्षतिग्रस्त भएको थियो ।




