
नेकपाका नेता कार्यकर्ताविरुद्ध २० बर्षदेखि युद्धकालीन मुद्दा
ठूला नेताको मुद्दा फिर्ता, साना कार्यकर्ताको मुद्दा यथावत,
मुद्दा खेपिरहेका धेरैको मृत्यू,
जनप्रतिनिधिको नाममा अहिले पनि युद्धकालीन मुद्दा,
२०५२ साल फागुन १ गते दिउँसो तीन बजे गोरखाको च्याङ्लीस्थित साना किसान विकास आयोजनाको कार्यालयसहित देशका बिभिन्न सात ठाउँमा एकैसाथ आक्रमण गरी तत्कालीन माओवादीले जनयुद्ध थालेको स्मरणमा बुधबार जनयुद्ध दिवस मनाइँदैछ । जनयुद्ध लडेका र नलडेका दुई ठूला सहितका कम्युनिष्ट पार्टी मिलेर बनेको नेकपाले फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरेको हो ।
तर गोरखाका बिभिन्न घटनामा संलग्न भएको आरोप लागेका २९ जनाले माओवादी जनयुद्धका बेला लागेको मुद्धा झेलिरहेका छन् ।
२०५४ साल फागुन ५ गते भुम्लिचोकस्थित साना किसान विकास आयोजनामा आगजनी गरेको अभियोगमा बाबुराम देवकोटा, कृष्ण पन्त, द्रोण दाहाल, कृष्ण दाहाल, मधुवावु अर्याल, रामवावु कार्की, पिताम्बर लामिछाने र ऋषिराम अधिकारीले अगजनी तथा कर्तव्य ज्यानको उद्योग सम्बन्धी मुद्दा खेपिरहेका हुन् ।
त्यस्तै २०५५ सालमा सौरपानीका नन्दलाल कोइरालाको हत्या गरेको आरोपमा खिलप्रसाद ढकाल, गोमा ढकाल, रिता ढकाल र प्रेम ढकालले २० बर्षदेखि कर्तव्य ज्यानको मुद्दा खेपिरहेका छन् ।
सरस्वती तिवारी, इश्वरी न्यौपाने, विष्णु भट्ट, सञ्जय कार्की, जानुका पौडेल, कौशिला गुरुङ, राजकुमार बगाले, सिताराम खनाल, चुडामणि खड्का, अर्जुन देवकोटा, ठाकुर देवकोटा, भगवती देवकोटा, राजेन्द्र ढकाल, शिव लामिछाने, हरिशरण आचार्य र महेन्द्र श्रेष्ठको नाममा पनि गोरखा जिल्ला अदालतमा मुद्दा छ । उनीहरु विरुद्ध २०५५ साल कात्तिक १७ गते मुद्दा दर्ता भएको अदालतले जनाएको छ ।
त्यस्तै फुजेलका रामजी तिवारीको हत्या गरेको आरोपमा दीपक देवकोटा, अर्जुन देवकोटा, ठाकुर देवकोटा, जनुका पौडेल, राज कुमार बगाले, सिताराम खनाल, चुडामणि खड्का, सुशीला थापा, कौशिला गुरुङ, हरिश्चन्द्र श्रेष्ठ, विष्णु भट्ट, चन्द्रप्रसाद देवकोटा विरुद्ध २०५५ साल असोज २० गते अदालतमा दर्ता भएको मुद्दा अहिलेसम्म मुल्तबीमा रहेको अदालतको अभिलेखमा उल्लेख छ । २०५५ साल मंसीर १५ गते गोरखा बजारमा नेविसंघका नेता श्यामसुन्दर श्रेष्ठको हत्या गरेको आरोपमा शिव लामिछाने, खेमबहादुर अधिकारी, मिरा श्रेष्ठ, इश्वरी श्रेष्ठ, सुनिता श्रेष्ठ, सिताराम न्यौपाने र चुडामणि खड्का विरुद्ध लागेको कर्तव्य ज्यानसम्बन्धी मुद्दा पनि जिल्ला अदालतको मुल्तवी फाइलमा अहिलेसम्म यथावत रहेको जिल्ला अदालतका श्रेस्तेदार विनोदप्रसाद अधिकारीले जानकारी दिए ।
मुद्दा खेपिरहेका उनीहरुको अंश रोक्का गरिएको अदालतले जनाएको छ । ‘मुद्दा मुल्तबीमा रहेपछि कुनै पनि बेला जाग्न सक्छ’, श्रेस्तेदार अधिकारी भन्छन्, ‘उनीहरुको अंश रोक्का गरिएको हुन्छ । आवश्यक परेका बेला प्रहरी रिपोर्ट बन्दैन ।’
ठूलाको मुद्दा फिर्ता, सानाको कायम
२०५७ सालको असार एक गते गोरखा बजारको पेटूोलपम्प नजिकै एम्बुसमा पारी आठ प्रहरीको हत्या आरोपमा तत्कालीन माओवादी नेता पुष्पकमल दाहाल(प्रचण्ड), बाबुराम भट्टराई, हितराज पाण्डे, मातृका यादव लगायत ६० जना नेता, कार्यकर्ताविरुद्ध गोरखा जिल्ला अदालतमा कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता भयो ।
त्यस्तै २०५७ साल फागुन १४ गते ताङ्लिचोक ५ साँदीखोलामा एम्बुस थापी दुई प्रहरीको हत्या गरेको आरोपमा प्रचण्ड, बाबुराम भट्टराई, हितराज पाण्डे, मातृका यादव, हरि अधिकारीलगायतका ६९ जना नेता कार्यकर्ताविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता भएको थियो । शान्ति प्रक्रियामा आएपछि २०६५ कात्तिक ११ गतेको मन्त्री परिषदको बैठकको निर्णय र २०६५ साल पुस सात गतेको महान्यायाधिवक्तको कार्यालयको पत्रअनुसार सबैको मुद्धा फिर्ता भएको अदालतका श्रेस्तेदार विनोदप्रसाद अधिकारी बताउँछन् । नाम्जुङ ६ गैरीखोलामा एम्बुस थापी प्रहरी मारेको आरोपमा मुद्दा खेपेका मातृका यादव, हितराज पाण्डे र हरि अधिकारीलगायतका नेताहरुको पनि मुद्दा फिर्ता भएको छ ।
२०५६ साल पुस ६ गते तान्द्राङ मोदीखोलामा एम्बुस थापी प्रहरी मारेको आरोपमा मुद्दा खेपेका हितराज पाण्डे, हरि अधिकारी सहितका नेताको मुद्दा पनि फिर्ता भएको छ । त्यस्तै देउराली ५ मस्र्याङ्दीमा एम्बुस थापी प्रहरी मारेको अभियोगमा कर्तव्य मुद्दा खेपेका नेता हितराज पाण्डे, लेख बहादुर थापा, अमर तमु, कृष्ण धिताल लगायतका नेताविरुद्धको मुद्दा पनि एउटै मितिको सरकारी निर्णयले फिर्ता भएको छ ।
ठूला नेताको मुद्दा फिर्ता भए पनि साना तहका कार्यकर्ताको भने अझै फिर्ता भएको छैन । बिभिन्न चार पटक मन्त्री परिषदको निर्णयले गोरखाका एकसय भन्दा धेरैजनाको मुद्दा फिर्ता भए पनि उनीहरुको मुद्दा मुल्तबीमै रहेको हो ।
मुद्दा खेपिरहेका धेरैको मृत्यू
द्वन्द्वकालीन मुद्दा खेपिरहेका धेरै माओवादी नेता कार्यकर्ताको मृत्यू भइसकेको छ । कतिपयको युद्धकै क्रममा मृत्यू भएको छ भने कतिपयको शान्ति प्रक्रियामा आएपछि मृत्यू भएको हो । मृत्यू भए पनि उनीहरुको मुद्दा भने यथावत रहिरहेको अदालतले जनाएको छ ।
बिभिन्न घटनाको मुद्दा खेपेका शिव लामिछाने, खेमबहादुर अधिकारी, सिताराम खनाल, मिरा श्रेष्ठ, इश्वरी श्रेष्ठ, कौशिला गुरुङ, हरिश्चन्द्र श्रेष्ठ, ऋषिराम अधिकारी, प्रेम ढकाल, रिता ढकालको मृत्यू भइसकेको छ ।
मुद्दा खेपिरहेका राजेन्द्र ढकाल बेपत्ताको सूचीमा छन् भने सिताराम न्यौपानेको पनि मृत्यू भइसकेको छ ।
मुद्दा खेप्ने जनप्रतिनिधि
बहालवाला प्रतिनिधिसभा संसद, प्रदेशसभा संसद तथा स्थानीय तहमा विजयी जनप्रतिनिधिको नाममा पनि कर्तव्य ज्यान लगायतका द्वन्द्वकालीन मुद्दा कायमै छन् । प्रतिनिधिसभा सांसद चुडामणि खड्काको नाममा श्यामसुन्दर श्रेष्ठ र रामजी तिवारी हत्या र ज्यानमार्ने तथा आगजनी आरोपको तीनवटा मुद्दा अदालतमा कायमै छ । त्यस्तै गण्डकी प्रदेशसभाका सांसद हरिशरण आचार्यको नाममा ज्यानमार्ने उद्योग तथा आगजनी मुद्दा यथावत छ ।
अर्का नेता विष्णु भट्ट बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष पदमा बहाल छन् । उनीविरुद्ध आगजनी तथा ज्यानमार्ने उद्योगको मुद्धा मुल्तबीमा रहेको श्रेस्तेदार अधिकारीले बताए ।




