
अनुदान लिएर बनाएको घर पनि भत्किएपछि खानीगाउका पीडितको बिचल्ली
गोरखा : २०७२ सालको भूकम्पले धार्चे ७ खानीगाउँका बासिन्दाको घर मात्रै भत्काएन, जोङकङदेखि झरेको पहिरो गाउँको बीच भाग भएरै बग्यो । निरन्तरको कम्पन र पहिरोको त्रासले त्यहाँका ९० घरधुरीको उठिबास लाग्यो । उनीहरु आसपासको भीरपाखामा गएर बसे । त्रास कम हुदै गएपछि पुरानै थातथलोमा फर्के । लाभग्राहीले पाउने नीजि आवास पुननिर्माणको तीनलाख रुपियाँ लिएर घर पनि बनाए तर गत साउनमा भीषण पहिरो आयो र २० घर बगाइदियो । उनीहरु फेरि भागेर सुरक्षित ठाउँ खोज्दै गए । ‘राङ्तमा ११ घर छन्, प्ल्याङचेतमा नौ घर छन्’, स्थानीय सचिन गुरुङले भने, ‘कोही टहरो बनाएर बसेका छन्, कोहीले जस्ताको छानो हालिसकेका छन् ।’ सरकारले दिएको तीनलाखले नपुगेर तीनचारलाख रुपैया थपेर घर बनाएका गाउँलेलाई फेरि अर्को घर बनाउनु पर्दा समस्या माथि समस्या थपिएको उनको भनाइ छ । ‘एकफेर घर बनाउँदैमा तीनचार लाख रुपैयाँ रिनको भारी बोक्नु परेको थियो’, उनले भने, ‘फेरि नयाँ घर बनाउँदा कति मर्का परेको छ भनिसाध्यै छैन । अब हामीले फेरि अनुदान पाउँछौं कि पाउँदैनौं ?’ आठ जनाले पक्की संरचना बनाएको उनको भनाइ छ ।
साउन अन्तिमसाताको पहिरोले स्थानीय पुनराम गुरुङ, चित्रबहादुर, माहिला, सचिन, सेते, बिमाया, जिते, बिसबहादुर गुरुङ बिस्थापित भएका हुन् । त्यस्तै, बुधमान गुरुङ, उत्पाल, आशबहादुर, कान्छा, पेल्सिङ, मनताल, शेरमान, कान्छा, सुकपाल, चन्द्रमान, बनघरे र बिस्नी गुरुङ बिस्थापित भएका सचिन गुरुङले बताए । बिस्थापित हरुले उदारोमा अर्काको जग्गा लिएर घर बनाएका स्थानीयबासी बताउँछन् । ‘पछि पैसा दिन्छु भनेर जग्गा लिएर घर बनाएको हो, पैसा दिन सकेको छैन । हाम्रोतिर त यस्तो चल्छ’, उनले भने, ‘सरकारले जग्गा किनेर घर बनाउने खर्च दिए हुन्थ्यो । एकीकृत बस्ती बनाइदिए पनि हुन्थ्यो ।’ बास पनि र काम गरेर खाने बारी पनि बगाएपछि पीडितहरु थप मर्कामा छन् । ‘पहिले आफ्नै पाखा पखेरामा पाखुरा चलाएर खान पुग्थ्यो’, स्थानीय सचिन गुरुङले भने, ‘अहिले गाउँको बारी पनि सत्यनाशै बनाइदियो, कसैकसैको त बेशीको पनि बगाइदिएको छ’, उनले भने । उनीहरुलाई सुरक्षित ठाउँमा एकीकृत बस्ती बनाएर राख्न सके धेरै उपयुक्त हुने वडा अध्यक्ष सूर्यमान गुरुङको सुझाव छ । ‘अहिले त आफ्नै पहलमा झुप्रो बनाएर बस्न पनि सकिएको छ’, उनले भने, ‘हिउँद छँदै नसोच्ने हो भने अब बर्खामा के गर्ने ?’ पूरै भत्किएको २० घर र अलिअलि चर्किएको २० घरलाई पनि बिकल्प सोच्नु पर्ने उनले बताए ।




