| आइतवार, कार्तिक २९, २०८३

मध्यपहाडी लोकमार्गको गोरखा खण्डको नालीबेली : छिटो गराउन प्रशासन कार्यालयको ताकेता

अनुपमा खनाल :
पुष्पलाल (मध्यपहाडी) राजमार्ग सडक अन्तरगत गोरखामा पर्ने ६४ किलोमिटर सडक आगामि आर्थिक बर्षसम्ममा कालोपत्रे गरिने भएको छ । पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय पालुङटार मार्फत गोरखाको आरुघाटदेखि चेपेसम्मको सडक आगामि आर्थिक बर्षसम्म कालोपत्रे गरिसक्ने लक्ष्य रहेको कार्यालय प्रमुख रमेश डिष्टीले बताए ।
आरुघाटदेखि चेपेसम्म चारवटा प्याकेज बनाएर काम गरिएको उनले बताए । पहिलो प्याकेजमा आरुघाटदेखि ओख्लेसम्म १३ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा रसुवा इलाईट सुर्य जेभीले लिएको छ । आर्थिक बर्ष २०७१÷०७२ मा २५ करोड ४२ लाख रुपैयाँमा ठेक्का पारेको रसुवाले एकबर्ष अघि नै काम सक्नुपर्ने थियो । तर हालसम्म जम्मा ६५ प्रतिशत मात्र काम पूरा भएको सुचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।
‘भुकम्प, नाकाबन्दी, निर्माण सामाग्री अभाव लगायतका कारण यो सडक निर्माणमा ढिलाई भएको हो’ पाण्डेले भने ‘चार किलोमिटर कालोपत्रे भैसक्यो । बाँकी ७.५ किलोमिटर सडक असारसम्ममा कालोपत्रे सकिन्छ ।’ सो खण्डमा ३.३ किलोमिटर सडक बुढिगण्डकी जलविद्युत आयोजना को डुबानमा पर्ने भएकाले सरकारले निर्माणमा रोक लगाएको छ ।
तर राजनीतिक पार्टीका नेताहरुले डुबानका नाममा स्थानीयलाई विकासबाट बञ्चित गर्न नहुने बताएकाले सरकारले यसबारेमा पुनर्विचार गर्न जरुरी रहेको कार्यालय प्रमुख डिष्टीले बताए । ‘हामीलाई तत्काल नै स्पस्ट निर्देशन आउनुप¥यो’, उनले भने ‘अहिले नै निर्देशन आएमा बाँकी खण्ड पनि असार मसान्तमा कालोपत्रे सक्ने वातवारण बनाउछौं ।’
दोस्रो प्याकेज अन्तरगत ओख्लेदेखि निवेलसम्म १६ किलोमिटर सडक कालोपत्रेको जिम्मा एनपिईसिसि एससिएफ जेभीले पाएको छ । ३२ करोड ९१ लाख रुपैयाँमा सो खण्ड निर्माण भैरहेको कार्यालयले जनाएको छ । आर्थिक बर्ष २०७२÷०७३ मा सम्झौता भई काम थालेको एनपिले चालु आर्थिक बर्षमा काम सक्नुपर्ने भएपनि हालसम्म ५० प्रतिशत मात्रै काम पूरा गरेको छ । सो खण्डमा भूगोलका कारण निर्माणमा समस्या परेको सुचना अधिकारी पाण्डेले बताए । ‘यो ठाउँमा पहिरो खसिरहने, ओसिलो भएकाले थोरै पानी परेपछि पनि दबिने समस्याका कारण ढिलाई भएको छ’, उनले भने, ‘हामी असारसम्म ग्राभेल सक्नेगरी काम गराउँछौँ । कालोपत्रेका लागि म्याद थपको तयारी छ ।’
निवेलदेखि पालुङटारसम्मको २८ किलोमिटर खण्डको काम तेस्रो प्याकेजको रुपमा रहेको छ ।
सो सडक ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजनाले मध्यपहाडीलाई हस्तान्तरण गरिसकेको छैन । चौथो प्याकेजमा पालुङटारदेखि लमजुङको पाउँदीसम्म १६ किलोमिटरको सडकखण्ड रहेको छ ।
सो मध्य सात किलोमिटर मात्र गोरखाको क्षेत्रभित्र पर्छ । बज्रगुरु कञ्चनजंगा जेभी मार्फत ३५ करोड ४४ लाख रुपैयाँको लागतमा बन्ने सो खण्ड चालु आर्थिक बर्ष कालोपत्रे गर्ने योजना छ । हालसम्म सो खण्डको ७० प्रतिशत प्रगति रहेको कार्यालयले जनाएको छ ।
मध्यपहाडी राजमार्ग अन्तरगत निर्माण हुने सडकमा दायाँ बायाँ आधा मिटर ग्राभेलको बिचमा सात मिटर कालोपत्रे रहनेछ ।
सो सडकको बुधबार अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले सबै प्याकेज अन्तरगत हुने कामको कार्यतालिका माग गरेका छन् ।
‘कहिले के काम हुन्छ भन्ने बारे कार्यतालिका मागेको छु’, उनले भने, ‘कार्यतालिका अनुसार भए नभएको अनुगमन गर्छौँ । समयमा नै गुणस्तरीय काम गर्न मेरो तर्फबाट निर्वाह गर्नुपर्ने भुमिकाका लागि तयार छु ।’ नीतिगत रुपमा निर्णय गर्नुपर्ने विषय केन्द्रमा जानकारी गराउने उनको भनाई छ ।
‘तेस्रो खण्ड निर्माणको स्वामित्व कसको भन्ने टुंगाउन समन्वय गर्नेछु’, उनले भने, ‘सडक विभाग अन्तरगत रहने वा मध्यपहाडीलाई हस्तान्तरण गर्ने यो विषयमा टुंगाउनु पर्नेछ ।’
मध्यपहाडी राजमार्ग अन्तरगत नै गोरखामा तीन वटा मोटरेवल पुल पनि निर्माण भैरहेका छन् । कार्यालय अन्तरगतका ६ जना प्राविधिक सडक निर्माणमा खटिएका छन् ।
पाँचथरको चिवाभन्ज्याङ देखि बैतडीको झुलाघाटसम्म १७ सय ५० किलोमिटर सडक पुष्पलाल मध्यपहाडी सडकका रुपमा बन्दैछ ।
चिवाभन्ज्याङदेखि झुलाघाटसम्म पुग्दा यो राजमार्गले पहाडका ३९ जिल्लामध्ये २४ जिल्ला पार गर्छ । ती जिल्लामध्ये पनि १९ जिल्लाका सदरमुकाम छिचोलेर वा छोएर जान्छ ।
पूर्व पश्चिमसम्म जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्ग पछिको यो तेस्रो राजमार्ग हो।

प्रतिक्रिया दिनुहोस्