| आइतवार, कार्तिक २९, २०८३

हिउँले रोक्यो गुप्सीपाखामा बस्ती निर्माणको एनआरएनएको काम

अनुपमा खनाल :
एकसातादेखिको हिमपातले लाप्राकको गुप्सीपाखामा एकीकृत नमुना बस्ती निमार्ण रोकिएको छ । धार्चे गाउँपालिका ४ लाप्राकको गुप्सीपाखामा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भुकम्प पिडीत लाप्राकीका लागि बनाउदै गरेको पाँचसय ७३ घर निर्माण कार्य रोकिएको हो ।
बस्ती हिउँले ढाकिएपछि काम रोकिएको एनआरएनएका साइट म्यानेजर लक्ष्मण अर्यालले जानकारी दिए । ‘हिउँले बस्ती ढाकिएपछि काम गर्न सकिएन’, उनले भने, ‘यहाँका एक सय ३५ कामदारलाई विदा दिएका छौँ । उनीहरु केहिदिनका लागि घरविदामा गएका छन् ।’ हिउँ जमेर चिसो बढेपछि एक सतायता काम गर्न नसकेको उनले बताए ।

गुप्सीपाखामा करीब ३ फिट हिउँ जमेको छ । २० गतेबाट मेसिन लगाएर भएपनि काम सुरु गर्ने तयारी भएको अर्यालले बताए । ‘हामीले बैशाख १२ मा घर हस्तान्तरण गर्न पनि काम छिटो गर्नुपर्नेछ’ उनले भने ‘२० गतेसम्मको मौसम हेरौं, मौसम राम्रो नभए मेसिन लगाएर भएपनि हिउँ हटाएर काम सुरु गर्छौ ।’ एकीकृत बस्ती निर्माणमा एकसय ६० जना नेपाली सेना सहित एनआरएनएका एकसय ३५ कामदार छन् । हालसम्म ८९ घरमा छाना लगाईसकिएको साईट म्यानेजर अर्यालले बताए ।
‘तीनसय ८५ घरमा टूस हालिसक्यौँ । दोस्रो तल्लामा एकसय ३० घरमा एसीब्लक लगाईसकेका छौं । नमूनाबस्तीका सबै घरमा पहिलो तलाको काम सकिएको छ । गुप्सीपाखाको १८.३ हेक्टर क्षेत्रलफल जग्गा स्वामित्वमा लिएर बस्ती निर्माण थालिएको हो । दुईतले चारकोठे घर बनाईने छ । २०७३ माघमा बस्ती शिलान्यासका क्रममा एनआरएनका तात्कालीन अध्यक्ष शेष घलेले एकबर्षभित्र लाप्राकबासीलाई नयाँ घरमा सार्ने प्रतिबद्धता गरेका थिए । तर २०७४ असोजसम्म काम नसके पछि एकबर्षको समय थपिएको थियो । असोजमा पनि निर्माण नसकिएपछि घर हस्तान्तरणका लागि आउँदो बैशाखको म्याद राखिएको छ । तर हालसम्म ५ घर मात्रै निर्माण सम्पन्न भएको छ ।

मौसम प्रतिकुलताका कारण निर्माणमा ढिलाई भैरहेको साईट म्यानेजर अर्यालले बताए । ‘हामीले चाहेर पनि काम गर्न सकेका छैनौँ’, उनले भने, ‘यहाँ बर्षामा बजारबाट सामान ढुवानी गर्न समस्या छ, बाटो राम्रो छैन । हिउँदमा हिउँले काम गर्न दिदैन । फागुनसम्म हिउँ पर्छ । त्यसैले पनि ढिलो भएको छ । तर अब कामदार थपेर भएपनि बैशाख १२ सम्म काम सक्छाँै ।’ घर हस्तान्तरण गरेपनि नमुना बस्तीका अन्य पूर्वाधार भने चरणबद्ध रुपमा बनाउँदै जाने उनले बताए । तर बैशाख १२ सम्ममा घर बन्न सक्ने अबस्था नरहेको लाप्राकका लक्ष्मण गुरुङले सुनाए । ‘यहाँ त फागुनसम्म हिउँ पर्छ’, उनले प्रश्न गरे ‘हिउँमा काम हुँदैन अनि कसरी घर बन्छ बैशाखसम्म ?’ मौसमी प्रतिकुलता तथा एन आर एन ए को ब्यबस्था पकीय कमजोरीका कारण पनि बस्ती निर्माणमा ढिलाई हुँदा लाप्राकीहरु पुरानै बस्तीमा जोखिमपुर्ण रुपमा बस्नुपरेको उनले बताए । नमुना बस्तीमा प्रत्येक घर ३ आना ३ पैसा क्षेत्रफलमा बन्नेछ । गुरुयोजना अनुसार पहिलो तला सीमेन्ट, इट्टा र बालुवाको प्रयोगले बनाइनेछ भने दोस्रो तल्लामा एसिब्लक प्रयोग गरिनेछ । ट्रस हालेर पिभिसी पाताले छाइनेछ ।
स्थानीयको श्रमदान समेत गरी प्रतिघर १२ लाख रुपैयाँको लागतमा घर बन्ने एनआरएनएले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्