| आइतवार, कार्तिक २९, २०८३

बाँसको घोचामा नाङ्गो तार, विजुलीको त्रासमा लिगलिग गाउँ

ऐतिहासिक लिगलिगकोट गाउँमा विजुली त पुगेको छ तर बाँसको साना घोचा गाडेर नाङ्गो तार टाँगिएको छ । होचो र थोत्रो बाँसको घोचामा टाँगिएको नाङ्गो तारको त्रासमा बस्नु परेको स्थानीयबासीको गुनासो छ ।
लिगलिग गाउँमा २८ घरधुरी दलित र एउटा ठकुरीको परिबारको बसोबास छ ।
बर्षौंदेखि नाङ्गो तारको त्रासमा बस्नु परेको स्थानीय अशोक गान्धारी बताउँछन् । ‘हावा आउँदा बाँसको घोचो ढल्छ । पानी परेपछि बारीभरि करेण्ट आउँछ’, उनले भने, ‘हिजोअस्ति भर्खर पनि ढल्यो । अनि आज बल्लतल्ल गाउँले मिलेर अर्को घोचा फेरेको हो ।’
अहिलेसम्म दुर्घटना नभए पनि डरैडरमा बस्न सकस भएको उनले बताए । ‘जोगिने बानी भैसक्यो’, उनले भने ‘हावापानी आउन थालेपछि गाउँले बारीमा जाँदैनन् ।’ बालबच्चा र पशुचौपायालाई भने जोगाउन गाह्रो हुने उनी बताउँछन् । ‘हामीले भन्ने त वडा अध्यक्षलाई हो । बारम्बार भनेका छौं’, गान्धारीले भने, ‘तर खै अहिलेसम्म यस्तै छ ।’

तत्काल फलामे पोल गाड्न लामो समयदेखि आग्रह गर्दा पनि विद्युत प्राधिकरणले अटेरी गरेको पालुङ्टार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले बताए । ‘त्यहाँको अबस्था देखेर मैले विद्युत प्राधिकरणलाई कराउन थालेको पनि एकबर्ष भइसक्यो तर पटक्कै टेरेको छैन’, कँडेलले भने, ‘दुई म हिनाअघि फलामे पोल ल्याएर राखेको छ भन्ने सुनेको छु तर अहिलेसम्म गाड्ने सुरसार छैन ।’
सो क्षेत्रका पूर्व सांसद हितराज पाण्डेले आफ्नो निर्वाचन क्षेत्र विकास कार्यक्रमको तीन करोड रुपियाँ सबै काठेपोल विस्थापित गरी फलामे पोल राख्ने कार्यक्रमका लागि खर्च गरेका थिए । जिल्ला समन्वय समितिले पनि बर्षेनी विद्युत रोयल्टीको बजेट काठेपोल विस्थापन शीर्षकमा खर्च गर्ने गरेको छ ।
दलितहरुको बस्ती रहेको लिग लिगकोटको विद्युत वितरणको अबस्था परिवर्तन भएको छैन । गाउँको अबस्था बारे जानकारी पाएको विद्युत प्राधि करण, गोरखा वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताएका छन् । ‘त्यहाँको गुनासो आइरहेको छ’, उनले भने, ‘त्यस क्षेत्रलाई भनेर हामीले पोल लगेर राखेका पनि छौं । प्राविधिक कारण ढिला भएको हो । पहिला त्यहीँबाट काम सुरु गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्