| आइतवार, कार्तिक २९, २०८३

लाप्राकीले बस्ती निर्माण ढिला हुनुको कारण मागे

भूकम्पले बिस्थापित भएको ४६ महिना बितिसक्दा पनि एकीकृत बस्ती निर्माण नगर्नुको जवाफ लाप्राकबासीले एनआरएनसंग माग गरेका छन् ।
दुईबर्षअघिको दशैंसम्ममा निर्माण सम्पन्न गर्ने आश्वासन दिए पनि अहिलेसम्म सम्पन्न नगरेपछि आक्रोशित भएका उनीहरुले आइतबार गाउँमा आइपुगेका एनआरएनएका प्रमुख कार्यकारी अधिकृत(सिइओ) हेमन्त दवाडीसंग जवाफ मागेका हुन् ।
सामान ढुवानीमा समस्या, गुप्सीपाखाको बिषम हावापानीका कारण सिर्जित समस्या तथा काठको समस्याका कारण लक्ष्यअनुसार काम गर्न नसकिएको दवाडीले जवाफ दिएका गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले गुप्सीपाखामा ५७३ घर बनाउने जिम्मा लिएको थियो । एकीकृत बस्तीका लागि २० हजार क्यूफिट काठ र ढुंगागिटी जुटाउन एनआरएनएले स्थानीय बासीलाई आग्रह गरेको छ । ढुंगागिटी जुटाइसके पनि काठका लागि भने समस्या भएको थियो । ‘आजको छलफलमा नाताङ सामुदायिक वनको काठ एनआरएनएले काट्ने र गाउँलेले बोक्ने भनेर सहमति भयो’, अध्यक्ष गुरुङले भने, ‘वनको फेदसम्म एनआरएनएले सडक बनाइदिने, अनि सडकसम्म गाउँलेले काठ ल्याउने, एनआरएनएले गाडीमा ओसार्ने काम गर्ने सहमतिमा विवाद टुंगियो ।’
अहिलेसम्म ७५ प्रतिशत काम सम्पन्न भएको सिइओ दवाडीले जानकारी दिएका छन् । काठका कारण बाँकी काम रोकिएको भन्दै उनले काठ उपलब्ध भएपछि धमाधम काम सम्पन्न गर्नतिर लाग्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्