| आइतवार, कार्तिक २९, २०८३

एकै दिनमा एकै ठाउँका सात , दुई महिनामा १२ फिरफिरे दर्ता

शिव उप्रेती : बालुवाको कारोबार बढ्न थालेपछि गत मंसीर र पुस महिनामा १२ वटा फिरफिरे(बालुवा धुने मेसिन) दर्ता भएका छन् । ती सबै फिरफिरे गण्डकी गाउँपालिका घ्याल्चोकको ठेगानामा दर्ता भएका हुन् । गतबर्षसम्म एउटा पनि फिरफिरे दर्ता नभएको गोरखा यसबर्ष एकै दिनमा सातवटा फिरफिरे उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले जनाएको छ ।
जिल्लामा बालुवा ब्यबसायीको चलखेल बढ्न थालेपछि एकै दिनमा एकै ठाउँका सातवटा फिरफिरे उद्योग दर्ता भएका छन् । गत मङ्सीरको १३ गते गण्डकी गाउँपालिका ८ का छ वटा र वडा नं. ७ का एउटा फिरफिरे उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समिति गोरखाले जनाएको छ ।
गण्डकी गाउँपालिका वडा नं. ८ का नमोवुद्ध बालुवा प्रशोधनकेन्द्र, मोर्यन स्याण्ड वासिङ प्रालि, गोरखकाली स्याण्ड वासिङ प्रालि, सेरा बालुवा प्रशोधन केन्द्र, चित्रादेवी बालुवा प्रशोधन केन्द्र, बुढीगण्डकी मल्टिप्रपोज प्रालि दर्ता भएका हुन् । त्यस्तै वडा नं.७ को गोरखा रिसोर्स म्यानेजमेण्ट प्रालि दर्ता भएको कार्यालयले जनाएको छ ।
बालुवाको चलखेल बढ्न थालेपछि सोही ठाउँका छ वटा फिरफिरे पुस १३ गते एकै दिनमा दर्ता भएका छन् । कालिका बालुवा प्रशोधन केन्द्र, न्यूगण्डकी बालुवा प्रशोधन केन्द्र, न्यू गण्डकी बालुवा प्रशोधन उद्योग, घ्याल्चोक सिद्धिदर्शन सप्लायर्स र जिया बालुवा प्रशोधन केन्द्र पुस महिनामा दर्ता भएका कार्यालयका कर्मचारी बन्दना शर्माले जानकारी दिइन् ।
तीनबर्षदेखि रोकिएर बसेका फिरफिरे धमाधम एकै दिनमा यति धेरै दर्ता भए पनि यसलाई अस्वभाविक मान्न नहुने कार्यालय प्रमुख नवराज रावतको भनाइ छ । ‘भित्रि कुरा हामीलाई थाह हुन्न’, उनी भन्छन्, ‘तर प्रक्रिया पु¥याएर आएपछि दर्ता हुन्छन् । यसलाई हामीले अस्वभाविक भन्न मिल्दैन ।’ घरेलु तथा साना उद्योग विकास समितिमा दर्ताका लागि गण्डकी गाउँपालिका कार्यालयले सिफारिस गरेको छ । घरेलु कार्यालयबाट प्राप्त दर्ता प्रमाण पत्र र प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन(आईईई)को अध्ययन गरेर फिरफिरे सञ्चालनका लागि अनुमति दिने गाउँपालिकाका प्रमुख होमबहादुर रानाले जानकारी दिए ।
गोरखाको घ्याल्चोकमा बालुवा खानी नभएकाले धादिङका छिमेकी गाउँमा सञ्चालित खानीको बालुवा धुने भन्दै गोरखाको घ्याल्चोकमा फिरफिरे दर्ता गरिएका स्थानीयबासीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्