
नासिँदै दुईसय बर्ष पुराना भीमसेनथापाकालीन सम्पदा
किरण लोहनी : गोरखा बोर्लाङका श्रीप्रसाद भट्ट नयाँ घर निर्माणका लागि घडेरी खार्दै हुनुहुन्थ्यो । जेसिविले भित्तो काट्ने क्रममा पुराना इँट्टा र झिँगटीको लहर देखियो ।
यसअघि आसपासका अन्य घर बनाउने क्रममा पनि त्यस्तै खालका संरचना देखिएका थिए । ‘यो त पुरानो नहर पो रहेछ’ स्थानीय बासिन्दा पवन थापाले भने, ‘झिँगटीको डुँड बनाएर पौवाको धारोसम्म पानी ल्याइएको रहेछ ।’ हालको भीमसेनथापा गाउँपालिका ८ को महादेवटारमा नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाकालीन ऐतिहासिक धारो छ । पुरानो इँट्टा प्रयोग गरी निकै कलात्मक रुपमा बनाइएको धारोमा पानी ल्याउनका लागि झिँगटी प्रयोग गरेर नहर बनाइएको कुरा स्थानीय बासिन्दाले पछिमात्रै थाहा पाए ।
विसं १८७३ मा बनेको धारो जीर्ण अवस्थामा अहिले पनि छँदै छ, तर धारोमा पानी ल्याउन बनाइएको झण्डै एक किलोमिटर लामो परम्परागत नहर भने मासिँदै जान थालेको छ । ‘चारवटा झिँगटीलाई आपसमा जोडेर डुँड बनाइएको रहेछ, अनि माथिबाट ढुंगाले पुरिएको रहेछ’ स्थानीय राजनीतिकर्मी ऋषि भट्टले भने, ‘भीमसेन थापाकी आमा सत्यरुपाले नहर र धारो बनाउन लगाएको बूढापाकाहरुले बताएको हामीले पनि सुनेका हौं ।’ दुई सय वर्षभन्दा पुरानो उक्त धारो अहिले जागेश्वर मावि परिसरमा समेटिएको छ । वरपर पलाएको घाँसपात हेर्दा सो ऐतिहासिक सम्पदा पूरै उपेक्षित रहेको प्रस्टै हुन्छ ।
धारो नजिकै रहेको पौवा भने मासिएको छ । ‘पुरानो पौवा थियो, तल ३ र माथि ३ कोठा भएको, मान्छेहरु बास बसेको, त्यहीँ खाना पकाएर खाएको अलिअलि सम्झना हामीलाई पनि छ’ पौवा नजिकै घर भएका पवन थापाले भने, ‘पछि स्कुल बनाउने क्रममा पौवा भत्काइयो, जीर्ण भएकाले भत्किएर दुर्घटना हुन सक्छ भनेर २०३६ सालतिर भत्काइयो ।’
बोर्लाङ गाउँ नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको जन्मस्थल हो ।
त्यसकारण पनि सो गाउँमा उनीसँग सम्बन्धित अरु धेरै ऐतिहासिक संरचनाहरु छन् तर सबैजसो जीर्ण अवस्थामा । बोर्लाङ गाउँमा रहेको दरवारको भग्नावशेष मात्रै बाँकी छ ।
कहिले बनेको यकिन नभएपनि सो दरवार थापाको शासनकाल भन्दा पहिले नै बनेको स्थानीय अगुवा बताउँछन् ।
खण्डहर दरवारको भग्नावशेषमा साविकको बोर्लाङ गाविसले डोजर लगाउँदा धेरैजसो प्रमाण नासिएर गएका छन् ।
वर्गाकार दरवारको जग र पुराना ढुंगा अहिले पनि देख्न सकिन्छ । दरवारमा प्रयोग भएको पुराना इँटा र काठपात भग्नावशेष आसपास छरिएर रहेका छन् । ‘नयाँ दरवार बनाउने भनेर हामीले पुरानो भग्नावशेष हटायौं, तर कसरी काम अघि बढाउने भन्ने अलमल छ’ भीमसेन थापा गाउँपालिका ७ का वडाध्यक्ष नारायण श्रेष्ठले भने, ‘यो वर्ष गाउँपालिकाले १० लाख वजेट पनि छुट्याएको छ ।’
पुरानो दरवार नजिकैको ढुंगेधारा भने संरक्षण पनि चालु अवस्थामा छ । बोर्लाङकै बुंकोटघाटमा भीमसेन थापाकालीन ऐतिहासिक भीम विरेश्वर मन्दिर पनि उपेक्षित अवस्थामा छ ।
बोर्लाङभर अरु धेरै धारो, पाटीपौवा लगायतका संरचना छन् तर संरक्षण हुन सकेको छैन ।
बूढीगण्डकी जलविद्युत आयोजनाको डुवान क्षेत्रमा पर्ने भएकाले बुंकोटघाट स्थित भीम विरेश्वर मन्दिरको संरक्षण नगरेपनि डुवानमा नपर्ने सम्पदाहरुको संरक्षण गर्नुपर्ने स्थानीयको माग छ ।
महादेवटारको माथिल्लो क्षेत्र डुवानमा नपर्ने भएकाले त्यहाँ रहेका संरचनाको संरक्षण गर्न सकिने स्थानीय पवन थापाले बताए । पुरातत्व विभागले भने डुवानमा पर्ने र नपर्ने बारे यकिन नभएकाले संरक्षणको काम थाल्न समस्या परेको बताएको छ ।
स्थानीय तहले डुवानमा नपर्ने क्षेत्रको सम्पदा बारे लेखि पठाएमा तत्काल अध्ययन र संरक्षणको काम थाल्न सकिने विभागका निमित्त महानिर्देशक दामोदर गौतमको भनाई छ ।
‘सो क्षेत्रमा थुप्रै ऐतिहासिक र पुरातात्विक सम्पदा छन्, हामी थप अध्ययनको क्रममा पनि छौं’ उनले भने, ‘स्थानीय तहले तिनको विवरण लेखेर पठाएमा हामी विज्ञहरुलाई पठाएर थप अध्ययन गर्नेछौं ।’ देशको इतिहास बोकेका सम्पदा संरक्षणमा तीनै तहका सरकारले मिलेर काम गर्नुपर्ने गौतमको भनाई छ ।
ऐतिहासिक सम्पदा संरक्षणको काम स्थानीय, प्रदेश र संघीय सरकारको साझा अधिकारक्षेत्रभित्र पर्ने भएकाले सहकार्य गर्नुपर्नेमा उनले जोड दिए ।




