
देशकै सबैभन्दा ठूलो झण्डा हेर्न लिगलिगकोटमा पर्यटक बढे
शिव उप्रेती : द्रव्य शाह दौडेर राजा भएको ऐतिहासिक स्थल लिगलिगकोटमा देशकै सबैभन्दा ठूलो नेपालको राष्टिूय झण्डा स्थापना भएको छ । ६० फिट अग्लो राष्टिूय झण्डा स्थापना भएपछि लिगलिगकोटमा पर्यटकको आवागमन बढेको छ । यसअघि फाट्टफुट्ट आउने पर्यटक अहिले दैनिक पाँचसय देखि एकहजारजनासम्म आउने गरेको पालुङ्टार नगरपालिकाले जनाएको छ ।
पालुङ्टार नगरपालिका कार्यालयले वडा नं. २ को सातहजार फिट अग्लो ऐतिहासिक लिगलिगकोटको थुम्कामा ६० फिट अग्लो खम्बा गाडी ४० फिट अग्लो झण्डा स्थापना गरेको हो । पृथ्वीजयन्तीको अबसर पारी मेयर दीपकबाबु कँडेलले झण्डाको उद्घाटन गरेका थिए ।
देशकै ठूलो झण्डाको प्रचारप्रसार भएपछि आन्तरिक पर्यटक उल्लेख्य मात्रामा वृद्धि भएको मेयर कँडेलले जानकारी दिए । पर्यटकलाई आकर्षण गर्न त्यहाँसम्म पुग्ने बाटोको स्तरवृद्धि गर्ने र झण्डालाई रातमा झल्झली बल्ने गरी बत्ती राख्ने नगरपालिकाले तयारी गरेको कँडेलले बताए ।
स्थानीय अशोक गान्धारीका अनुसार अहिले दैनिक पाँचसयदेखि एकहजारजनासम्म आन्तरिक पर्यटक आउने गरेका छन् । ‘गनेको त छैन तैपनि अन्दाजमा दिनको पाँचसयदेखि एकहजार जनासम्म पर्यटक आउँछन्’, गान्धारीले भने, ‘कोही बसमा कोही साना गाडीमा आएर हेरेर फर्किन्छन् ।’ पर्यटक आउन थालेपछि यहाँ चिया, कफी पसल, रेष्टुरेन्टहरु पनि खुल्न थालेका उनले बताए । राष्टिूय एकताको पहिचानको उद्गमस्थलको रुपमा विकास गराउन लिगलिगकोटमा देशकै सबैभन्दा ठूलो राष्टिूय झण्डा स्थापना गरेको नगरपालिकाकी उपमेयर पम्फा बसेलले जानकारी दिइन् । ‘द्रव्यशाह दौडेर राजा भएको लिगलिगकोटलाई राष्टिूय एकताको पहिचानको रुपमा प्रचार र विकास गर्ने हाम्रो लक्ष्य हो’, उपमेयर बसेलले भनिन्, ‘अहिले पर्यटक ओइरिएको देखेर हाम्रो लक्ष्य पूरा हुनेछ भन्ने विश्वास छ ।’ झण्डा स्थापना गरिएको ठाउँसम्मको बाटोको स्तरवृद्धि गर्ने, अन्य पूर्वाधारहरु तयार गर्ने नगरपालिकाको कार्यक्रम रहेको उनको भनाइ छ । लिगलिगकोटसम्म आउने पर्यटक का लागि लिगलिग दौड सुरु हुने मस्र्याङ्दी र चेपे दोभान, लिगलिग कोट, ऐतिहासिक कालु पाण्डेको जन्मस्थल, कोटगढी, प्रसिद्ध धार्मिक स्थल अन्नपूर्ण मन्दिर, तालपोखरी, तातोपानी भुलभुले खार, थानीमाई मन्दिर पर्यटन पदमार्ग बनाउने लक्ष्य नगरपालिकाले राखेको उपमेयर बसेलको भनाइ छ ।




