
कर्मचारीलाई कार्यालय छाडेर कार्यक्रममा जान प्रतिवन्ध
बारपाक सुलिकोट गाउँपालिकाले कार्यालय छाडेर विभिन्न कार्यक्रममा सहभागी हुन आफु मातहतका कर्मचारीलाई रोक लगाएको छ ।
विभिन्न शाखा र वडा कार्यालयका कर्मचारीहरु कार्यालय छाडेर कार्यक्रमहरुमा सहभागी हुँदा सेवाग्राहीले दुःख पाएको भन्दै गाउँपालिकाले कार्यालय नछाड्न कर्मचारीलाई निर्देशन दिएको हो । मातहतका शाखा र कर्मचारीलाई कार्यालय समयमा बाहिरी कार्यक्रममा सहभागी नहुन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिब गुरुङले पत्राचार गरेको जनाएका छन् ।
विना जानकारी कर्मचारीहरु कार्यालय छाडेर कार्यक्रमहरुमा सहभागी हुँदा कार्यसम्पादनमा समस्या परेकाले कार्यालय नछाड्न निर्देशन दिएको प्रमुख प्रशासकिय अधिकृत गुरुङले जानकारी दिए । ‘गाउँपालिकामा जानकारी विना नै कर्मचारीहरु कार्यक्रममा सहभागी हुन थाले’ उनले भने ‘काम हुन सकेन भन्दै सेवाग्राहीले गुनासो गर्न थालेपछि हामीले कर्मचारीलाई कार्यालयमा रहन निर्देशन दिएका हौं । स्वास्थ्य चौकी, वडा कार्यालय, गाउँ पालिकाका विभिन्न शाखाका कर्मचारीहरुमा यो निर्देशन लागु हुन्छ ।’ गाउँपालिकाले कार्यक्रम हरुमा आफुखुसी कर्मचारीलाई सहभागी गराउने संघसँस्था, विद्यालय, स्वास्थ्यचौकी लगायत लाईपनि कारबाही गर्ने चेतावनी दिएको छ ।
एनजीओ, आइएनजीओले गाउँ पालिका कार्यालयसंग समन्वय नगरी सम्बन्धी कर्मचारीलाई मात्र आफूखुशी निमन्त्रणा गरेर कार्यक्रम गर्दा समस्या उब्जिएकाले यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गुरुङको भनाइ छ ।




