
युवाहरु फर्केपछि गाउँ गुल्जार
स्कूले जीवन पार गरेका जल्दाबल्दा युवाहरु देश, विदेशतिर पलायन भएपछि सिरानचोक ७ पाण्डेगाउँ १० बर्षअघिसम्म वृद्धाश्रम जस्तो थियो । बचेखुचेका युवाहरुमा पनि राजनीतिक मतभेदका कारण मेलापात, आवतजावत, बोलचाल समेत बन्द थियो ।
२०७२ सालको भूकम्पमा जब गाउँ थला प¥यो, सहर पसेका, विदेश पुगेका गाउँका युवाहरु भेला भए । राहत उद्धारमा खटिए । त्यसबेलादेखि उनीहरुले आफ्नो गाउँ आफै बनाउनु पर्छ भन्ने अठोट गरे । ‘सहरमा स्थापित भएका युवाहरु अहिले नियमित रुपमा आफ्नो गाउँ आउन थालेका छन्’, वडा अध्यक्ष सुरज ढकालले भने, ‘२०७२ सालको भूकम्पदेखि यो परम्परा सुरु भएको हो । कामको सिलसिलामा जहाँ गएको भएपनि गाउँको सुखदुखमा साथ दिन समय समयमा आउनुपर्ने नियम लागु गरिएको छ ।’ भूकम्पमा दुख पाएका गाउँलेलाई उद्धार तथा राहतका लागि गाउँ आएका युवाहरुले यस्तो नियम बनाएका उनले बताए । त्यसबेलादेखि चारबर्षसम्म यो चलनले निरन्तरता पाएको उनले बताए ।
युवाहरु नियमित रुपमा गाउँमा आउन थालेपछि २८ बर्ष पुरानो युवा समाजको भवन निर्माण भएको छ । गाउँका दुखी गरीब तथा समस्यामा परेकाहरुलाई सहायता गर्ने, स्थानीय जनकल्याण माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न कोष स्थापना गरेका छन् । मुख्य सडकदेखि गाउँसम्मको करिब दुई किलोमिटर सडक पनि आफैले अर्थ संकलन गरेर निर्माण गरेका छन् । ‘युवाहरुले गाउँमा एम्बुलेन्स खरिदका लागि पैसा जुटाइसकेका छन्’, उनले भने, ‘पुस्तकालय खोल्ने पनि तयारी गरिरहेका छन् ।’ गाउँपालिकाको र वडाको बजेट तथा कार्यक्रमको बारेमा पनि सहर पसेका युवाहरुले चासो लिने गरेका उनले बताए । ‘गाउँमा विद्युतीकरणका लागि पनि सहर पसेका युवाहरुले महत्वपूर्ण योगदान दिएका छन्’ वडा अध्यक्ष ढकालले भने, ‘अहिले त गाउँपालिकाको र वडाको बजेट र कार्यक्रमको बारेमा चासो लिने अनि विकासको कामको समीक्षा पनि गर्ने गरेका छन् । मैले पनि उनीहरुसंग परामर्श गरेर कार्यक्रम तथा योजना बनाउने गरेको छु ।’
सहर पसेका युवाहरु मात्र होइन, काम खोज्दै विदेशमा बसेका युवाहरुले पनि गाउँ विकासमा सहयोग गरिरहेका काठमाडौंको रिड नामक संस्थामा कार्यरत परशुराम पाण्डेले बताए । ‘प्राय सबैतिर गाउँका युवाहरु सहरीकरण भइरहने र सहरमै पलायन भइरहेका छन् । यसको अन्त्य गरी आफ्नो जन्मथलोमा आइरहने र गाउँको विकास लागि काम गर्न हाम्रो गाउँका युवाहरु सहमत भयौं’, उनले भने, ‘हाम्रो गाउँका लागि हामीले नगरे अरुले गर्दिदैनन् । त्यसैले गाउँ बिर्सने होइन, गाउँसंग निरन्तर जोडिरहनु पर्छ भनेर यस्तो निर्णय गरेका हौं ।’
साव्लाबुङ पुस्तकालय अभियानसंग को सहकार्यमा गाउँमा पुस्तकालय स्थापना गर्न लागेको अभियन्ता ज्ञान्दरी कैनीले जानकारी दिइन् ।
युवाहरुले गाउँ छोडेपछि गाउँ वृद्धाश्रम जस्तो बनेको र गाउँको विकास नभएकाले सहर पसेका युवाहरु सँधैका लागि नसके पनि बेलाबेला गाउँ आएर विकासका लागि जागरुक बनेको प्राक्टिल एक्शन नेपालका वित्त प्रशासन प्रमुख पदमा कार्यरत अर्का युवा तीर्थराज भट्टको भनाइ छ । आफूहरु गाउँ आउन थालेपछि भावी पुस्तालाई पनि गाउँप्रतिको मोह बढ्न थालेको अनुभव उनले सुनाए । ‘हामी गाउँसंग नियमित जोडिन थालेपछि हाम्रा सन्तानहरु लाई पनि आफ्नो पैत्रिक थलोप्रति मोह बढेको पायौं’, उनले भने, ‘हामीबाट उनीहरुले पनि संस्कार सिक्नेछन् । आफ्नो पैत्रिकथलोलाई माया गर्नेछन् । सकेसम्म विकास गर्नेछन् भन्ने विश्वास छ ।’
सहर पसेका युवाहरु गाउँ फर्कन थालेपछि गाउँको रुपरङ्ग फेरिएको छ । ‘सहर पसेका युवाहरु बेला बेला गाउँमा आउन थालेपछि पहिलेभन्दा गाउँमा सरसफाइ भएको देखिन्छ’, स्थानीय युवा विनोद पाण्डे भन्छन्, ‘गाउँमा कोही दुख, बिरामी पर्दा म एक्लै छैन, सबैले हेर्नेछन् भनेर आधार मिलेको छ । घरमा गाह्रो अप्ठेरो पर्दा टेवा दिन युवाहरु जागरुक छन् भन्ने छाप विदेशमा रहेकालाई पनि परेको छ ।’ गाउँमा मर्दापर्दा सबैले मानामुठी उठाएर काजकिरियामा सहयोग गर्ने, बिहे बटुलमा पनि सरसहयोग जुटाएर बिहे उठाउने चलन रहेको उनको भनाइ छ ।
सहरको व्यस्त समयको बाबजुद गाउँमा आउनु पर्दा आनन्द आउने अर्का स्थानीय ठाकुरप्रसाद पाण्डेको भनाइ छ । ‘सहरको व्यस्तताबाट रिफ्रेस हुन कहिलेकहीँ बाहिर निस्कौं भनेर आफ्नै गाउँमा पुग्दा आनन्द आउँछ’, उनी भन्छन्, ‘पहिले बाटो कच्ची थियो, गाह्रो हुन्थ्यो । अहिले त गाउँसम्म पुग्न सडक पनि सहज छ ।’ जागिरदारहरुले पाँचदिनको तलब गाउँका लागि भनेर छुट्याउने गरेको उनले बताए । ‘गाउँको विकासका लागि भनेर सहरमा बसेकाहरुले देउसी, भैलोबाट पनि पैसा संकलन गर्छन्’, पाण्डेले भने, ‘जागिरे जीवनभरिमध्य पाँच दिनको तलब कोषमा राख्ने नियम बनाएर लागु गरिएको छ ।’ स्टूेचरबाट सुरु गरिएको अभियान अहिले एम्बुलेन्स खरिद गर्नेसम्म पुगेको उनी बताउँछन् ।
युवाहरु सहर पलायन हुन थालेपछि खण्डहर बनेको गाउँ फर्कन थालेपछि गुल्जार भएको स्थानीयको भनाइ छ । गाउँ फर्केका युवाहरुले गाउँका बेरोजगार युवाहरुलाई रोजगार दिन तथा आयआर्जन वृद्धि गर्न कृषि सहकारी संस्था स्थापना गरी बाख्रापालन, व्यबसायिक तरकारीखेती पनि सुरु गरेका छन् ।
दातृनिकायसम्म सम्बन्ध सम्पर्क बढाएर, ऋण तथा अनुदान जुटाएर विकासका कामहरु गरिरहेका छन् । विदेशमा रहेकाहरुले पनि च्यारिटी डिनर कार्यक्रम गरी अर्थ संकलन गरेर गाउँमा काम गरिरहेका तीर्थराज भट्ट बताउँछन् ।
भूकम्पले भत्किएका घर पुनर्निर्माण गरेर सहर पसेका युवाहरुले गाउँमा आइरहने वातावरण बनाएका स्थानीयबासी बताउँछन् ।




