| सोमवार, साउन १०, २०८३

आहा त्यो बेलाको दशै !

नबिन क्षेत्री । साच्चै दशै त त्यो बेलामै क्या रमाइलो हुन्थ्यो ! दशै आउन १ महिना अगाडी देखि नै मन फुरुङ्ग हुन्थ्यो ! स्कुल बिदा कहिले होला भनेर दिन गन्दै बसिन्थ्यो ! दशै बिदा हुने दिनमा स्कुलको वरपर सबै विद्यार्थीहरु मिलेर मज्जाले सरसफाइ गरिन्थ्यो ! कुटो कोदालो लिएर बाक्लो झारहरु उखेल्दै खाल्डाखुल्डीहरु पुरिन्थ्यो ! स्कुलले सथिहरु सङ्ग जिस्किदै रमाइलो गर्दै काम गरेको पत्तो हुदैन थियो ! आफ्नो घरघर बाट बिभिन्न फुलहरु ल्याएर सारिन्थ्यो ,स्कुल लाई चिटिक्क पारिन्थ्यो र त्यो दिन देखि दशै बिदाको लागी स्कुल बिदा हुन्थ्यो !

दशै आउन लगभग ! हप्ता अगाडि देखि नै गाउका युवा युवती बुढापाका सबै मिलेर बाटो घाटो ,चौतारा,मठ मन्दिर जस्ता ठाउहरुको झारपात उखेल्दै साघुरो गल्लिहरु कोदालोले खनेर खाल्डो खुल्टिहरु सम्म पारिन्थ्यो ! साथै ढुङ्गा माटो बाट बनेको घरहरुमा सेतो कमेरो माटोले रङ्गाउने चलन थियो ! कमेरो माटो खन्न अधेरी खोलाको प्रत्येक खोल्सा खोल्सिमा कुटो र डालो बोकेर जान्थ्यौ ! सेतो कमेरो कहा बाट निस्कन्छ भन्दै कुटोले जताततै कप्प कप्प कोप्दै हिड्थ्यौ !

सेतो कमेरो देखिने बित्तिकै खनेर सानो सानो डल्ला बनाउदै निकाल्थ्यौ ! आफु लाई कति कमेरो चाहिने हो त्यति नै निकालि सकेपछि र ठुलो ढुङ्गा खोज्दै हिड्थ्यौ ! ठुलो ढुङ्गामा त्यो सेतो कमेरो लाई पानी मिसाउदै ढुङ्गाले वा कुटोले नरम मसिनो हुने गरि कुट्नु पर्थ्यो ! कमेरो कुट्दा कुट्दा शरीर भरि सेताम्मे हुन्थ्यो१ सबैले कमेरो कुटेर सके पछिर त्यहि नुहाइ धुहाइ गरेर कमेरो डालोमा बोकेर घर फर्किन्थ्यौ ! र त्यो कमेरो लाई घरमा लगेर बाल्टिमा पानी सङ्ग घोलेर बाबियोको कुचोले घरको माथि झ्यालको ३ अग्र भागमा सेताम्मे टल्किने गरेर कमेरो लगाइन्थ्यो !

कमेरो दले पछि घर उज्यालो चिटिक्क चमकदार हुन्थ्यो ! अब फेरि रातो माटो खोज्नु पर्थ्यो ! त्यो बेलामा घरहरुमा मुख्य रङ भनेकै सेतो कमेरो र रातो माटो थियो ! रातो माटोले पोते पछि घरको पिढि अनि भित्तोहरु राम्रो सफा चिटिक्क देखिने हुनाले रातो माटोको प्रचलन निकै थियो ! ऐले पनि पोत्ने चलन यथावत नै छ ! रातो माटो लिनको लागी प्राय सबैको घर बाट १/१ जना गइन्थ्यो ! माटो लिनकै लागी डेरागाउँ भन्दा मुनि चाम्ढाले नाम गरेको ठाउमा जानु पर्थ्यो !

त्यहाको माटो निकै रातो भएको हुनाले अन्यत्र बाट पनि मानिसहरु माटो लिन आउथे ! रातो बाटो निकाल्दा निकाल्दा ठुला ठुला डर लाग्दो खाल्डोहरु हुन्थे ! सके जति रातो माटो डालो भरि बोकेर आउथ्यौ ! र घरमा कहा कहा पोत्ने हो त्यहि रातो माटोको प्रयोग गरिन्थ्यो ! दशैमा सबैका बा–आमाले आफ्ना सन्तान लाई नंया कपडारजुत्तारचप्पल त्यसमा पनि चाइनिज चप्पल निकै चलेको थियो !

त्यहि चलेकै चप्पल किन्दिनु हुन्थ्यो ! उबेलाका हाम्रा आमाहरु निकै बाठो, त्यति खेर दशैको नंया लुका निलो रङ्गको पाइन्ट र आकासे कलरको लामो बाहुला भएको सर्ट सिलाइ दिनु हुन्थ्यो ! त्यो सर्ट दशै लाई पनि हुने रदशै सकिए पछि स्कुलमा पनि हुने क्या दिमाग लगाउनु हुदो रैछ ! अनि हुने खानेका छोराछोरीले लाउथे अन्य रङ्गि चङ्गि कपडा त ! नत्र साधारणतय सबैको दशैको नया कपडा त्यहि हो (स्कुलको ड्रेस) साच्चै दशै त त्यो बेलाकै मज्जा हुन्थ्यो !

दशैको लागी भनेर बर्सौ देखि बिदेशिएका लाहुरेहरुको घर आउने ताति नै हुन्थ्यो ! एक जना भरिया लाई साथ लिएर ,मादल आकारको क्यासेट घन्काउदै दशै मान्न आउनेहरुको लर्कोले पनि दशै आएको भान भैरहन्थ्यो ! त्यो क्यासेटमा गित बजिरहेको हुन्थ्यो– (फुलमा भमरा आउदै गर निरमाया माया नमार), भन्दै गायक भगवान भण्डारी र गायिका लक्ष्मी न्यौपानेको गितहरु घन्किन्थ्यो !

दशैको लागि खसि, बोका, रागाहरुको ओसारपसार निकै बाक्लो देखिन्थ्यो ! सबैले दशैको लागी घर घरमा खसि बोका रागाहरु पालेर राखेको हुन्थ्यो ! आहा साच्चै दशै त त्यो बेलाको क्या गजबको हुन्थ्यो ! दशै लागेको भन्ने कुरा मौसमले पनि थाहा गराइ दिन्थ्यो ! वरपर बाट हिमालहरु सेताम्मे देखिने गरि मुसुक्क हासिरहेका हुन्थे ! दशै आउन आउन लागे पछि प्लास्टिकको चङ्गा आफै बनाइन्थ्यो ! गट्टा र धागो चाहि पसलमा किन्नु पर्थ्यो !

अनि डांडा तिर गएर चङ्गा उडाउनुको मज्जा बेग्लै थियो ! चङ्गा उडाउदा उडाउदा आकास तिर हेर्दा हेर्दा आफुले लगाएको पाइन्टमा कुरै कुरो टासिएको पत्तै हुन्थेन ! घरमा आए पछि आमाको गालि खाइसके पछि बल्ल टासिंएको कुरो देखिन्थ्यो !
साच्चै दिन गन्दा गन्दै दशै त मुखैमा आइसकेको हुन्थ्यो फुलपाति भन्दा १/२ दिन अगाडी देखि नै ठाल डाडांमा पिर्के पिङ्ग र लिङ्गे पिङ्ग हाल्ने छलफल भैसकेको हुन्थ्यो !

पिर्के पिङ्ग हाल्न सबै जना जम्मा भैसकेको हुन्थ्यो ! गाउ गाउमा पिर्के पिङ्ग र लिङ्गे पिङ्ग हालेकै हुन्थ्यो ! डराइ डराइ खेल्न क्या मज्जा हुन्थ्यो ! पालै पालो, पालो कुरेर खेल्नुको मज्जा बेग्लै हुन्थ्यो ! त्यहि पिङ्ग भएको ठाउमा बेलुका खाना खाइसके पछि सबै जना जम्मा भएर नाचगानरखैचडिरमादलर बजाउदै रमाइलो गरेको ति दिनहरु खलझलि आइरहेको छन ! आज भोलि भन्दा भन्दै दशै मुखमै आइसकेको हुन्थ्यो, खसि बोका रागा सुङ्गुर बङ्गुर जस्ता जिबहरु दशैका लागी ढलिसकेको हुन्थ्यो !

मासु काट्कुट गर्नेहरु लाई पकाउएर खुवाउने मासु लाई (आटिकुटि) भनिन्थ्यो त्यो मासु पकाए पछि १०/१२ कान्ला माथि सम्म मासुको बास्ना आउथ्यो ! सालको पातको दुनामा रक्ति र २ पिस आटिकुटि खानुको मज्जा आहा ! २ चौटा मासु सक्किसके पछि पनि चोर औला र बुढि औला चाटि चाटि त्यो दुनाको छेउ कुनामा भएको छिटपुट लेदोको स्वाद लिनुको मज्जा आहा !
दशैको टिकाको दिनमा त्यो स्कुलमा लगाउने ड्रेसको नया कपडा लगाउदाको मन फुरुङ्ग !

हल्का हल्का कपुरको बास्ना आएको त्यो सर्ट ! झनै पाइन्टमा हल्का आइरन लगाएको त्यो आइरनको धारको कुरै नगरौ ! चाइनिज चप्पल वा रबरको कालो जुत्ता के बयान गरौ खै ! नयां जुत्ता नयाँ कपडा लगाएर तोरिको तेलले चिप्लो हुने गरि कपालमा तेल दल्दै, बांस बाट बनेको त्यो दुइ तिर बाट कोर्न मिल्ने काइयोले जुल्फि लर्काउनुको त्यो दशै हैट ! टिका सुरु भो घरका ठुला बडा मान्यजन बाट दशैको टिका जमरा लगाएर शुभ आसिर्बाद थाप्ने दिन !

जे जे शुभ आशिर्वाद दिए पनि हामी लाई अक्षताको थालिमा कति कतिको नयां कटकट्टे नोट छ भन्ने मात्र ध्यान हुन्थ्यो ! मलाई टिका लगाएर कति दिन्छन भन्ने मनमा खुलदुलि हुन्थ्यो ! थालमा त १००/५०/२० पनि हुन्थे तर हामिले पाउने भनेको त्यहि ५ रुपिया हुन्थ्यो ! जे भए पनि हात थापेर नमस्कार गरेर गोजिमा हाल्थ्यौ ! घरमा टिका टालो सकिए पछि १/२ जनाको ग्रुप बनाएर टिका लगाउने बहानामा गाउ गाउ जान्थ्यौ ! हामी लाई आशिर्वादको के मतलब कस्ले कतिको नोट दिन्छन भन्ने मुख्य कुरो हो !

गाउका मानिसहरुले टिका लगाइदिए पछि केहि खाउ बाबु भन्थे तर हामि अहस् अन्त पनि जानु छ भन्दै फेरि त्यसै गरि अर्को घर तिर कुलेलाम ठोक्थ्यौ ! टिका लगाउने पैसो थुपार्ने बहानामा गाउ भरिको कुनै घर बाकि राखिन्थेन ! देउराली तिर झण्डि मुकुर खेल्न झर्थ्यौ त्यहि देउरालिको समि चौतारोमा (गौरब–पाण्डब) माइला कान्छाहरु राता राता ५ को नोटहरु थुक लगाउदै १० चोटि गनेर बसिरहेका हुन्थे !

हामिले ५ को नोट साटेर सुका ,मोहर बनाएर ७ चोटि निधारमा ढोकेर बुर्जा दाउमा १ मोहोरको डबल हालिन्थ्यो त्यहि पनि पर्दै पर्दैन थ्यो ! यसो धारापानी तिर टिको लगाउन जादा खेरि बाटैमा जेम्स भान्जा लाई भेटिन्थ्यो ! निधारको टिको बगेर नाकको टुप्पो रातै पार्दै ,हस्याङ्ग र फस्याङ्ग गर्दै बादर लखेटि रहेको हुन्थ्यो १ बिर बानियां मामा माथि बाट बादर लखेट्ने जेम्स भान्जा तल बाट माथि लखेट्ने गर्थे ! त्यो बेलामा उहाहरु को बादर लखेटाइ खुब धित मरुन्जेल हेरिन्थ्यो !

दशैको भोलि पल्ट मामाघर त छुटाउनै भएन ! आमाहरुको साथमा मामा घर ताकु जाने निर्णय भो ! साथमा हामि डनहरु च्बm पचष्कजलब तजबउब अनि च्बवपगmबच त्जबउब अनि म ! हाम्रो गोजि भरि १/२ र ५ को नोटले भरिएको हुन्थ्यो ! बोहरा गाउ रतल्लो कोखे हुदै निबेलमा पुगिन्थ्यो ! निबेल पुगे पछि त्यहिको पसलमा १/१ पेस्तोल र पेस्तोलमा राखेर पड्काउने पटका किन्थ्यौ !

अनि पेस्तोलामा लोड गरेर निखिल उप्रेती पारामा एउटा कान्लो बाट उडेर रजम्प गरेर पेस्तोल पड्काउनुको मज्जा हाइ हाइ ! त्यो बेलामा मै हु हिरोरमै हु आर्मिर मै हु दादा जस्तो लाग्थ्यो ! १ रोल पटका त एकै छिनमा सकिन्थ्यो पड्काएर ! अझै ९ पाकेट पटका त दाहिने गोजिमा बाकि नै हुन्थ्यो ! जराङ्ग खोला माथिको सितल भिर चौतारा पुग्ने त्यो ठाडो उकालोरअनि हपहप गर्मि र बायाँ हेर्यो दरौदि दायाँ हेर्यो जराङ्ग खोला ! त्यहि माथि कहालीलाग्दो सितल भिर !

थकाइले लखन्तार भैइन्थ्यो ,बल्ल बल्ल सितलभिर चौतारामा पुगेर थकाइ मारिन्थ्यो ! अनि चिसो पानीको साटो प्यास मेटाउन सिसाको बोत्तल वाला मिरिण्डारफेन्टा मात्र ! बोतल किन्ने छलफल गरिन्थ्यो ! अनि आफु सङ्ग भएको १/२ अनि ५ को नोट झिकेर तिन जना मिलेर १ सिसि मिरिण्डाको पैसा तिरिन्थ्यो ! स्टिलको गिलासमा तिन जना लाई भाग लगाएर खानुको मज्जा ! त्यो पनि राम कृष्ण भान्जाले औला हाली हालि बराबर नापेर बाढ्थे !

थकाइ मारेर फेरि त्यहा बाट सिधै मामा घर तर्फ लाग्थ्यौ ! मामा घर तिर दशैमा मानिसहरुको निकै चहलपहल हुन्थ्यो ! मामाहरुले निकै माया गर्नु हुन्थ्यो यता गए भान्जा बाबु उता गए भान्जा बाबु ! अब फेरि साझ तिर उहि टिकाटालो अनि आशिर्वाद त थाप्नै पर्यो ! हाम्रो दाउ र आंखा भने उहि टिकाको थालि तिरै हुन्थ्यो ! त्यो बेलामा ५ रुपैया र १० रुपैयाको नोट हातमा पर्यो भने त पुरै युद्ध जिते सरह हुन्थ्यो !

झन मावलिमा त झन २० रुपैयाको नयाँ नोट माइजुले हातमा थमाइ दिनु हुदा त, आहा मन खुशिले त्यसै फुर्फुर ! मामाघरमा लटरम्म फलेका बेलौति (अम्बा) का ठुला ठुला दाना देख्दा मुख रसाएर आउथे ! अनि यसो दायाँबायाँ कोहि छकि भन्दै हेरेर २/४ वटा बेलौति टपक्क टिपेर कप्प टोकि हाल्थ्यौ !उधुम मिठो हुन्थ्यो त्यो बेलाको बेलौति ! मामाघर तिर सबै टिकोटालो सकेर भोलि पर्सि तिर घर फर्किन्थ्यौ ! आहा त्यो बेलाको दशै भन्ने बित्तिकै धेरै कुराको सम्झना आउदो रहेछ !

प्रतिक्रिया दिनुहोस्