
दरौँदी, म र व्यवसायिक पत्रकारीता
सन्तोष अधिकारी ।
मिति २०७० भदौ २१
करिस्मा केसी (दिदी) – सन्ते भाइ दरौँदीमा कामका लागि मान्छे खोजेको छ, तिमी जाने हो?
म– हो र दिदी म अहिले काम गरिरहेको ठाउँमा कुरा गरेर मात्रै यता भन्न सक्छु ।
ं(ठ्याक्कै प्लस टु सकिएको समय थियो। त्यतिबेला हरमटारीस्थित ढकाल फर्निचर उद्योगमा दिनभरको हेरविचार गर्ने, आइपरे सामान तथा दाउरा बेच्ने गर्थेँ।)
करिस्मा– तिम्लाई इच्छा छ भने र नेपाली टाइप आउँछ भने अफिसमा आउ सरहरुसँग कुरा गर ।
म– हुन्छ नि दिदी म भन्छु तपाईँलाई ।
दिदी, भाइबीच कुरा भएको दोस्रो दिन म शक्तिचोकस्थित दरौँदी दैनिकको कार्यालयमा गएँ। (दिदी त्यतिबेला दरौँदीको व्यवस्थापन पक्षमा हुनुहुन्थो।)
कार्यालयमा तीन चारजना हुनुहुन्थ्यो । प्राय सबै मैले चिनेको तर मलाई नचिनेकाहरु भेटेँ। केहीबेरमा करिस्मा दिदी आउनु् भयो। भन्नु भयो– ए आयौ! ल पख म शिव सर (शिव उप्रेती)लाई फोन गर्छु।
शिव सर आउन केहीबेर लाग्ने भयो। त्यहीक्रममा कार्यालयमा हुनु भएको प्रशन्न पोखरेल दाइसँग चिनजान भयो। घर कता, के भन्नेलगायत कुरा भयो ।
यत्तिकैमा शिव सर पनि आइपुग्नु भयो। दिदीले म आएको कुरा सरलाई भन्नु भयो। सरसँग परिचय गरेँ। भन्नु भयो– सुरुमा केही दिन काम हेर्छाैँ। अनि हामी मिलाएर पैसा पनि दिन्छौँ।
सरको कुरा सुनेपछि मैले म ढकाल फर्निचरमा अहिले तत्काल काम छोड्दिन यता पैसा पाउने पक्का भएपछि मात्रै छोड्ने निर्णय मनमनै गरेँ। किनकी दरौँदीमा दिउँसो खासै समाचारको काम नहुने र साँझ धेरै हुने गथ्र्याे। फर्निचरमा दिउँसो मात्रै।
२०७० भदौ २३ गते आइतबार बिहान ९ बजे आसपास म दरौँदीको कार्यालय पसेर उद्योगतिर जाने सोँचले गएँ। दरौँदी पुग्दा शिव सर कम्प्युटरमा व्यस्त हुनुहुन्थ्यो। सरसँग सर मलाई कुनै काम दिन आग्रह गरेँ।
सरले त्यतिबेलाको चर्चित डेरी उद्योग थियो विरेन्चोकमा (डेरीको ठ्याक्कै नाम बिर्सिएँ) त्यहाँ आर्थिक हिसाबकिताबको विवाद भएको रहेछ। त्यसबारे रिपोर्टिङ गरेर आउन भन्नु भयो। साथमा उहाँले गोरखा आयुर्वेदिक कम्पनीको पनि रिपोर्टिङ गर्न सक्छौ भन्नु भयो। यति कुरा भइसकेपछि म निस्किएँ। आज उद्योगमा अलि ढिलो हुन्छ भनेर खबर छोडेर हरमटारीबाट गाडी चढेर विरेन्चोक पुगेँ। म दरौँदी दैनिकबाट आएको भन्दै शिव सरले भन्नु भएको विषयहरुबारे त्यहाँ जानकारी मागेँ। मैले जानकारी त मागेँ तर त्यहाँ डेरीको काम गर्ने मान्छेहरु मात्रै हुनुहुँदो रहेछ। उहाँहरुसँग कुनै हिसाबकिताबको विवरण पाउने त कुरै भएन।
प्रशासनका कर्मचारी केहीबेरमा आउँछन् बस्नुस् भनियो। बसेँ एक घन्टा बसेँ तर कोही नआएपछि गोरखा बजारको लागि गाडी चढेर फर्किँए फर्निचरमै। साँझ पाँचबजेपछि दरौँदी गएँ। डेरीको रिपोर्टीङमा कुनै उपलब्धी नभएको सुनाएँ। ठिक छ भन्दै शिव सरले फेरि प्रयास गर्नुपर्छ भनेर एउटा कम्प्युटरमा बस्न भन्नु भयो। अलिअलि नेपाली टाइप जानेकोले मालपोतको ३५ दिने सूचना टाइप गर्ने काम पनि दिनुभयो। जसोतसो टाइप गरेर त्यस दिन निस्किएँ।
मैले काम गरिरहेको ढकाल फर्निचर उद्योग र गोरखा आयुर्वेदिक कम्पनी नजिकै थियो। २०७० भदौ २४ दिउँसोको समय मिलाएर आयुर्वेदिक कम्पनी गएँ। त्यहाँ मेरो गाउँ अहिलेको अजिरकोट गाउँपालिकाको भच्चेकका एकनाथ अधिकारी काम गर्नुहुन्थ्यो, अहिले पनि गर्नुहुन्छ। उहाँलाई भेट्ने भनि गेटबाट भित्र गएर म समाचार लेख्न आएको के छ दाइ यहाँ त्यस्तो भनेर सोधेँ।
के होला र यहाँ त विभिन्न औषधिहरु बन्छ समाचार बनाउने भए यीनैको बनाऊ भन्नु भयो। कुराकानीकै क्रममा दाइले यहाँको च्यवनप्राश विदेशमा पनि जान्छ भन्नु भयो। मैले यसैलाई समाचार बनाउने निधो गरेँ। अनि कम्पनीका प्रमुखलगायतसँग दाइले नै भेट्टाइदिनु भयो। कुराकानी भयो। सबै कापीमा टिपेँ (नोकियाको टुकटुके मोबाइलमा रेकर्ड हुन्थेन।)
साँझ दरौँदी पुगेँ गोरखा आयुर्वेदिक कम्पनीको रिपोर्टिङ गरेको कुरा शिव सर र प्रशन्न दाइलाई सुनाएँ। समाचार लेख्ने भनेर बसेको लिड सुरु गर्नै समय लाग्यो। जसोतसो लेखेँ। करिब एक हजार शब्दको समाचार लेखेछु। (यही लेख्दा हो मैले टाइप गरेको शब्द कम्युटरमा हेर्न मिल्छ भनेर थाहा पाएको)।
मैले लेखेको त समाचार नै भएनछ निबन्ध भएछ। शिव सरले आफ्नो छेउमा राखेर मैले लेखेकोलाई सम्पादन गर्नुभयो। मेरो एक हजार हाराहारीको शब्दको निबन्ध समाचार बन्दा करिब तीनसय जतिको शब्द भयो।
त्यसदिन पनि निस्किएँ। भोलिपल्ट फर्निचर उद्योगमा पुगेर हेरेको दरौँदीको अगाडि पेजमा मेरो नामसहितको समाचार आयो। शिर्षक थियो– गोरखा आयुर्वेदिक कम्पनीको च्वनप्राश विदेशमा। समाचारमा पहिलोपटक आफ्नो नाम आएपछिको खुसी कति हुन्छ कि मलाई सोध्नू कि म जस्तै सिकिरहेकोलाई सोध्नू।
अनि दोस्रो बाइलाइन समाचार थियो। ‘तन्नम गोरे जिम्मल’। त्यसपछिका दिनमा त कति समाचार लेखियो, लेखियो नि।
यसरी नै काम सिक्दै गएँ। दरौँदीमा नियमित लेख्न थालेँ। अनि म पत्रकार बनेँ त्यहीँको तलब खाने गरी। दरौँदीसँग धेरै मायाँ र सद्भाव जोडिएका छन्। किनकी मैले पत्रकारीताको गुरु पाएको ठाउँ हो। पत्रकारीतामा मेरो गुरु शिव सर हुनुहुन्छ। दरौँदीमा ६ वर्ष निरन्तर काम गर्दा कहिल्यै नराम्रो भएन।
स्कूले जीवनमा निबन्ध लेख्ने, बत्तित्वकला प्रतियोगितामा भागलिने, विभिन्न रेडियो कार्यक्रममा भाग लिने गर्दै पत्रकारीतामा प्रवेश गरेको मलाई दरौँदीले नै पत्रकारीता सिकायो ।
आज दरौँदीले नै समाचारको परिभाषा सिकाएको छ । गोरखाली पत्रकारीतामा अधिकांशको प्लेटफर्म भनेकै कसैको दरौँदी पाक्षिक, कसैको दरौँदी साप्ताहिक र कसैको दरौँदी दैनिक।
आज दरौँदी पनि फेरिँदो छ । अनि हाम्रो पत्रकारीता पनि। फेरिँदो पत्रकारीतालाई पक्रेर अगाडि बढ्ने अवसरमा दरौँदी अडिक रहेकै छ । समाजका विभिन्न बेतिथीहरुसँग समाचारको माध्यमबाट जुध्न यहि दरौँदीले सिकायो । गोरखाका विभिन्न गाउँ गाउँमा जाँदा होस् या आज देशको राजधानीमा हुँदा होस् समाचार पहिचान गर्न सिकाउने यहि दरौँदी हो ।
विश्वमा संचारको विकाससँगै गोरखाको पत्रकारीता र दरौँदी पनि मिसन पत्रकारीतामा जनतालाई सुसुचित बनाउन अडिक छ । पत्रकार भनेको लेख रचना तथा समाचारका माध्ययमबाट कलमको तागत देखाउने शक्ति हो । त्यहि शक्ति बलियो बनाउने क्रममा समाचार लेखेकै कारण दरौँदी जल्यो तर पनि दरौँदीले आफ्नो निरन्तरतालाई तपाईँ सबै पाठकका माझ ल्याइरहेको छ । आफ्नो शक्तिलाई गलाउन चाहेन । बीचमा रोकिएको दरौँदीको यात्रालाई सम्पादक शिव उप्रेतीले जसरी दरौँदी नदि झैँ निरन्तर बगाइरहनु भएको छ ।
म पनि निरन्तरता दिन यात्री बन्न आइपुगेँ । त्यहि तागतका साथ आज दरौँदी दैनिक जिल्लाका ताजा खबरलाई तत्कालै देश तथा विश्वव्यापी बनाउने पत्रकारीताको माध्यमको रुपमा स्थापना भएको छ । गाउँ बस्तीका घटना, दुर्घटना, बसोबास, गतिविधि, रितिरिवाज, कलासंस्कृति, भेषभुषा, संगती विसंगतिजस्ता गतिविधिलाई उजागर गर्ने सामथ्र्य पत्रकारीता पेशासँग छ । जिल्लामा राजनीतिक दलका गल्ति कमजोरीलाई समाचारमा समेट्दा पत्रकार नराम्रो भन्ने प्रचलन बढ्ने गरेको पाइएको छ । होला तपाईँले सोचे अनुरुपको समाचार दरौँदीमा आएन होला तर म ठोक्काका साथ भन्न सक्छु दरौँदीको समाचारमा कुनै बार्गेनिङ छैन । त्यसका लागि सम्पादक शिवप्रसाद उप्रेतीलाई पनि मेरो आभार । अनि तत्कालीन अध्यक्ष भाइचन्द्र श्रेष्ठलाई पनि। उहाँ कहिल्यै समाचार यसोत्यसो भनेर गुनासो गर्न र निर्देशन दिन आउनु भएन।
दरौँदी दैनिकबाट सुरु मेरो पत्रकारीताको यात्रा आज अलि फराकिलो बनेको छ । म अहिले देशको राजधानी काठमाडौँमा छु पत्रकारकै रुपमा छु । जुन अवसर मैले दरौँदीमा काम गरेकै फल हो । गोरखामा पत्रकारीता गर्दा धेरै आरोह अबरोहहरु नआएका होइनन् । पत्रकारले एक पार्टीको समाचार लेख्दा अर्काे पार्टीले पत्रकारलाई उक्साउने भोलि त्यहि पार्टीको केही कुरा पत्रिकामा प्रकाशन भयो भने पत्रकारलाई हेर्ने दृष्टिकोणका बाबजुत पनि समाचार लेखनका कार्यहरु अगाडि बढेका छन् पत्रकारको समाथ्र्य बढेको छ ।
दरौँदी अहिले अझ पाको भएको छ । दरौँदी २७ वर्षे लक्का जवान हो । जवान भएपनि यसले आफुलाई परिपक्क बयस्कको रुपमा समाचार सम्प्रेषण गर्ने हैसियत बनाएको छ । ‘र त दरौँदी गोरखाको नम्बर एक दैनिक पत्रिका बनेको छ । यसले अब यूवाको जोश र सामथ्र्य निकालेर पाठको सूचना पाउने अधिकार, ठगिन नदिन र सचेत गराउन भिन्न खालको रणनिती अपनानु जरुरी छ ।
गोरखामा त केहि पत्रकारको काम भनेको राजनितिक आडमा अन्य साथीहरुको खोइरो खन्नबाहेक केहि देखिन्न । अहिले गोरखामा व्यवसायिकता कम र दलकारिता बढी छ यो मैले भन्नुभन्दा पनि पाठकले थाहा पाइसक्नु भएको होला।
पत्रकारलाई प्रयोग गर्न चाहनेहरुँंग पत्रकारको सम्बन्ध राम्रो देखाए पनि उनीहरुको कार्यप्रति चाख देखाउने खालको हुनु पर्दछ । जो सुकैको भए पनि नकारात्मक रुप र कार्य ढाकछोप गर्न चाहनेको आर्थिकको लोभमापर्नु, राजनीतिक पार्टीको नशामा चल्नु, पत्रकारको दुरदशा सुरुहुनु हो । यसबाट पनि पत्रकारहरु टाढिन सक्नुपर्दछ । पत्रकारको पत्रकारीता स्वच्छता, निश्पक्षता र विषय वस्तुसँग सम्बन्धित व्यक्तिको मुखमा नकारात्म शब्द रोक्न सक्ने हुन सकेमा मात्र पत्रकारले समाज परिवर्तन गर्न सक्छ ।
कलमको तागत देखाउन सक्छ । यहाँ कसैकसैले दलको आडमा रहेर कलमको तागत देखाउन खोजीरहेका छन् । उनीहरु विस्तारै पत्रकारीता भन्दा पाटीकारिता, तथा जनताले नपत्याउने नेता बन्ने निश्चित छ । जो प्रयोग हुन्छन् । जिल्लामा पत्रकारिताको लहर जागे पनि व्यवसायीक पत्रकारीता अझै सुरु नभइसकेको हुनाले जिल्लाका सम्पूर्ण क्रियाशिल पत्रकारहरु व्यवसायीक रुपमा लाग्न जरुरी छ । पत्रकारितामा लाग्नु सहज भए पनि काम गर्न र भित्र बसेर समाचार संप्रेषण गर्नु कम कठिनाइको कुरा हैन। अझै नेपाली पत्रकारितामा पत्रकारको जोखिम मोल्दाको तुस भने बाँकी नै छ ।
समाजको परिवर्तन र आवाज नभएकाको बुलन्द विचार समेट्न सक्नु आजको सञ्चार माध्यम र पत्रकारीताको धर्म हो । विशेषत जिल्लाको उत्तरी गोरखाको समाचार संकलनमा देखिएका चुनौती र त्यहाँको रिपोटिङ्गले गोरखाको पत्रकारीतालाई केहि उचाइमा पुगेको भान भएको छ । आगामी दिनमा पनि अझ सजक भएर दरौँदी सँगको नाता गाढा पार्दै जाने संकल्प गर्दछु । मैले कार्यथलो जहाँ बनाए पनि दरौँदी मन मुटुमै छ । दरौँदीलाई अहिले चुनौती थपिएको छ । गोरखा ११ स्थानीय तहमो छ । सबै तहको सूचना सबै क्षेत्रका मानिसले थाहा पाउनु अधिकार हो । त्यसैले ती हिमाली र पहाडी भएका तहका समाचार सहजै सम्प्रेषण कसरी गर्न सकिन्छ यो समग्र गोरखाको चुनौती हो ।
दरौँदी २०५४÷०५५ सालमा पाक्षिक रुपमा प्रकाशन सुरु गरी विभिन्न बाधाअवरोहहरु पार गर्दै साप्ताहिक हुँदै विगत दैनिक रुपमा आफ्नो प्रकाशन जारी राखेको छ । दरौँदीले आफ्नो ओहोदा कायम राख्न सकेकै कारणले आज यो स्थानमा छ । यसले आफ्नो कर्मचारी र पाठकलाई भरपुर सन्तुष्ट राख्न सकोस् शयौँ वर्षको आयू राख्नू दरौँदीलाई शुभकामना !




