
सन्दर्भ : १४२ औं शहीद लखन स्मृति दिवस, प्रजातन्त्र स्थापनामा लखन थापाको योगदान
जीवन आले मगर, बुङ्कोट
नेपालको राजनीतिक इतिहासमा वि.सं. १९२७ देखि १९३३ सम्म जनसंगठन गरी लखन थापामगरको नेतृत्वमा भएको विद्रोह नै राणातन्त्र विरुद्ध जनस्तरबाट उठेको पहिलो विद्रोह थियो । जुन विद्रोहले जंग बहादुर राणाद्वारा स्थापित एकतन्त्रीय तानाशाही शासनको अँध्यारो कालरात्रीमा अधिकारविहिन अवस्थामा पिल्सिरहेका नेपाली जनताहरुलाई संगठित गरी पहिलोपटक प्रजातन्त्र प्राप्तिको विद्रोहमा सहभागी गराउने सफलता प्राप्त ग¥यो ।

जंगबहादुरको निरंकुश शासन विरुद्ध जनताद्वारा बैकल्पिक सत्ता स्थापना गरेर अगाडि बढेको यो सशस्त्र विद्रोह यस्तो ऐतिहासिक महत्वको बन्न पुग्यो जुन विद्रोहले जंगबहादुरको मुटु हल्लाईदियो । यस घटनाले नेपाली समाजमा राजनीतिक चेतनाको दियो बाल्ने र प्रजातान्त्रिक आन्दोलनको जग बसाल्ने काम गर्न सक्योे । लखनको नेतृत्वमा जनस्तरबाट उठेको विद्रोह र उनले प्राप्त गरेको शहादत पछिल्ला पुस्ताका निम्ति प्रेरणाको स्रोत बन्न पुग्यो, जुन मार्गलाई शुक्रराज, धर्मभक्त, गंगालाल र दशरथ जस्ता नेपाली सपूतहरुले अबलम्बन गरे । फलस्वरूप नेपालमा प्रजातन्त्र, बहुदल, लोकतन्त्र हुदैँ गणतान्त्रिक व्यवस्था समेत स्थापना भएको छ । त्यसैले प्रथम शहीद लखन थापा मगर लोकतान्त्रिक शासन ब्यवस्थाका प्रवर्तक हुन् ।
वि.सं. १८९१ मा गोरखा जिल्लाको शहीद लखन गाउँपालिका वडा नं. ७ वुङ्कोट काहुले भंगारमाजन्मिएका लखन थापा मगर वि.सं. १९११ मा पुरानो गोरख पल्टनमा भर्ना भएका थिए । तत्कालीन समयमा नेपाली जनताहरु जंग बहादुर राणाद्वारा सुत्रपात गरिएको निरंकुश जहाँनिया शासनको जाँतोमुनि पिल्सिएर बस्नु परेको थियो । जंगबहादुरको अधिनायकवादी हुकुमी शासन विरुद्ध कोही कसैले ‘चुँ’ सम्म गर्न सक्ने स्थिति थिएन । त्यतिबेला नेपाली समाजमा ‘कालको औषधि छैन, हुकुमको जवाफ छैन’ भन्ने आहान नै चलेको थियो ।
नेपालमा जंगबहादुरको निरंकुश शासन रहेको वखत भारतमा अंगे्रजको औपनिवेशिक शासन कायम थियो । १० मे १८५७ ई.सं. को मेरठ गोलीकाण्ड पछि भारतमा अंग्रेज उपनिवेशको विरुद्धमा सैनिक विद्रोहको जन्म भयो । विद्रोहले उग्र रुप लिएपछि भारतीय(अंग्रेज सरकारको अनुरोधमा ई.सं. १८५७ डिसेम्बर १० का दिन जंगबहादुर् २७ वटा नेपाली पल्टनको नेतृत्व गर्दै भारत प्रस्थान गरे । अंगे्रज र नेपाली संयुक्त फौजले लखनउ लगायतका विभिन्न स्थानमा फौजी कारवाही संचालन गरी भारतीय स्वतन्त्रता का निम्ति विद्रोह गर्नेहरुमाथि निर्ममतापूर्वक दमन ग¥यो । जंगबहादुरले भारतीय जनताद्वारा स्वतन्त्रता प्राप्तिका लागि गरिएको आन्दोलनलाई दवाउन भारतीय अंग्रेजलाई सहयोग गरेकाले त्यतिवेला नै ‘जंगबहादुरले नेपाल म्लेच्छ (अंग्रेज) लाई बेच्यो’ भनी लखन थापाले उद्घोष गरेका थिए ।
लखन थापामगर आफ्नो सैन्य सीप र कौशलका कारण वि.सं. १९२५ मा नेपाली सेनाको क्याप्टेन भइसकेका थिए । तर पद र भौतिक सुविधाको कुनै पर्वाह नगरी वि.सं. १९२७ सालमा आफ्ना मित्र जयसिंह चुमीलाई साथमा लिई सेनाको जागिर छाडेर जंगबहादुरको शासन विरुद्ध जनताहरुलाई संगठित बनाउने कार्यमा सक्रियतापूर्वक लागे ।

गोरखाको वुंकोट काहुले भङ्गारमा लखनले जनसमुदायको सहयोगमा एउटा बलियो किल्ला निर्माण गरे । किल्लामा भेला भएका जनताहरुलाई राजनीतिक चेतना प्रदान गरी जंगबहादुरको अत्याचारी शासन विरुद्ध जन मिलिसिया तयार गर्ने काम जोडतोडले भैरहेको थियो । लखनको तार्किक क्षमता र असल व्यक्तित्वले गर्दा छोटो समयमानै जंगबहादुरको विरुद्ध धेरै जनताहरु संगठित भैसकेका थिए ।
लखनले त्यतिवेला संगठित जनतासामु ‘म सिद्ध लखन थापाको अवतार हुँ । जंगबहादुरले नेपाल म्लेच्छ (अंगे्रज)लाई बेच्यो । दुनियाँलाई त्राही(त्राही पारिरहेको छ । जंगबहादुरलाई हटाएर नेपालमा प्रजातान्त्रिक युग फिराऔं भनी मनकामना माताले मलाई आज्ञा दिएकी छन्, लौ भाई हो तयार होऔँ’ भन्ने उद्घोष गरे ।
लखनको उद्घोषले समाजमा गहिरो प्रभाव पार्न सक्यो र जंगबहादुरको विरुद्धमा ठूलो जनमत सिर्जना गर्न सफलता प्राप्त ग¥यो । जंगबहादुरको दमन, अत्याचार र अन्याय विरुद्धको विद्रोही अभियानमा जनसमर्थन जुटाउन मनकामना र सिद्ध लखन थापाको प्रसिद्धिलाई रणनीतिक रुपमा प्रयोग गरिएको थियो । वि.सं. १९३२ सालमा जंगबहादुरको शासनविरुद्ध एकतावद्ध जनसमुदायले लखन थापालाई प्रधानमन्त्री र जयसिंह चुमीलाई सेनापति घोषणा ग¥यो । यो नै जंगबहादुरको सत्ता विरुद्ध नेपाली जनताद्धारा घोषित पहिलो बैकल्पिक सत्ता थियो । इतिहासकार पदमजंग राणाका अनुसार लखन थापाले हातहतियार सहित पन्ध्र सय मानिसहरु एकत्रित गरिसकेका थिए भने राजधानी गएर हमला गर्ने धम्की समेत दिएका थिए । जंग बहादुरको अन्त्य गरेर नेपालको शासन अधिकार हातमा लिई नेपालको इतिहासमा सुनौलो प्रजातान्त्रिक युग आरम्भ गर्ने लखन थापाको योजना थियो ।
तत्कालिन समयमा गोरखाको मुद्दामामिला हेर्ने सर्वजित थापा क्षेत्रीले लखनको नेतृत्वमा सशस्त्र जनविद्रोहको तयारी भइरहेको उजुरी जंगबहादुर समक्ष जाहेर गरे । यो सूचना पाएपछि जंगबहादुर क्रुद्ध भइ लखन लगायत उनका सहयोगीहरुलाई पक्रेर ल्याउन धीर शमशेरलाई आदेश दिए । आदेश बमोजिम देवीदत्त पल्टनका सैनिकहरु गोरखा पुगी लखनको किल्लालाई चारैतिरबाट घेरा हाले । देवीदत्त पल्टन र विद्रोही सेनाबीच भिडन्त भयो । अन्तमा विद्रोहीहरु पक्राउ परे । उनीहरुलाई बाँसको पिंजडामा कैद गरी यातनापूर्वक काठमाडौँ पु¥याईयो । इतिहासकार प्रमोद शमशेर राणाका अनुसार विद्रोहीहरुमाथि वर्वरतापूवर्क कोर्रा हानी ठूलो यातना दिई थापाथली दरबारमा मुद्दा चलाइयो ।
लखन र उनका सहयोगीहरु लाई झुण्ड्याएर मार्ने फैसला भयो । तर राणा शासक सामुु उनीहरु झुकेनन् । वि.सं. १९३३ फागुन २ गते सबै भन्दा पहिले विद्रोही नेता लखन थापालाई गोरखा बुंकोट काहुले भंगारको आफ्नै किल्ला परिसरको मनकामना मन्दिर अगाडिको खिर्राको बोटमा छाला समेत काढेर बर्बरतापूर्वक झुण्ड्याइयो । सँगसँगै अन्य विद्रोहीहरुलाई पनि बलीमा चढाईयो । यस विद्रोहका नायक लखन थापा मगरको बलिदान र योगदानको कदर गर्दै नेपाल सरकारले उनलाई वि.सं. २०५६ मा शहीद घोषणा ग¥यो भने वि.सं. २०७२ साल असोज ३ गते औपचारिक रुपले नेपालको पहिलो शहीदको दर्जा प्रदान ग¥यो । साथै वि.सं. २०७३ मा प्रथम शहीद लखनको नाम र फोटो अंकित हुलाक टिकट प्रकाशन गरेको छ । संघीयता कार्यान्वयनसँगै लखनको नाममा गोरखामा शहीद लखन गाउँपालिका बनेको छ । निश्चय नै यो पदवी उनको बलिदानीपूर्ण त्याग र जनअधिकार स्थापनाका लागि गरेको कठिन संघर्षप्रतिको सम्मान हो । साथै यो सम्मान लोकतन्त्र र न्यायप्रेमी सम्पूर्ण नेपाली जनताहरुको गौरवको विषय पनि हो ।
शहीद लखन थापा मगरकोे जन्मभूमि, विद्रोही अभियान संचालन गरी शहादत समेत प्राप्त गरेको स्थल शहीद लखनको ऐतिहासिक किल्ला परिसरमा नेपाल मगर संघको विशेष पहलमा वि.सं. २०६० मा लखनको अर्धकदको प्रतिमा स्थापना गरिएको छ । यस किल्ला परिसरलाई ऐतिहासिकं पर्यटकीय स्थलको रुपमा संरक्षण र विकास गर्न शहीद लखन गाउँपालिकाले गुरुयोजना तयार गरेको छ । त्यसैगरी नेपाल मगर संघ, नागरिक समाज एवं बुद्धिजीवीहरुको पहलमा पोखरा, बुटवल, धादिङ्ग, पाल्पा, इलाम, दाङ, चितवन लगायतका ठाउँहरुमा लखन थापा मगरको सालिक स्थापना गरिएका छन् भने स्वदेशी एवं विदेशी इतिहासकार, अनुसन्धानकर्ता, वुद्धिजीवी एवं लेखकहरुले उनको बलिदानी र ऐतिहासिक योगदानबारे चर्चा गरेका छन् । लोकतान्त्रिक शासन ब्यवस्था स्थापनार्थ उनले पु¥याएको बलिदानी एवं योगदानलाई आम नेपाली माझ जीवन्त राख्न उनका ऐतिहासिक धरोहरहरुको संरक्षण एवं विकास र उनका योगदान बारे प्रचारप्रसार हुन आवश्यक छ । उनको १४२ औँ स्मृति दिवसको अवसरमा हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछु ।




