| बुधबार, माघ १, २०८२

विश्व एड्स दिवसस् गोरखाको वर्तमान अवस्था, चुनौती र दिगो प्रतिकार्यको आवश्यकता

सीता कोइराला । हिजो १ डिसेम्बर २०२५ का दिन ‘अवरोधहरु पार गरौँ, एड्स प्रतिकार्य रुपान्तरण गरौँ” भन्ने नाराका साथ ३८औँ विश्व एड्स दिवस मनाइदै छ।हरेक वर्ष एचआईभी र एड्सबारे जनचेतना बढाउन, यसलाई लिएर समाजमा हुने कलङ्क र भेदभावलाई कम गर्न, संक्रमित व्यक्तिहरूप्रति समर्थन प्रकट गर्न, तथा एचआईभीका कारण ज्यान गुमाएका मानिसलाई श्रद्धाञ्जली दिन यो दिवस मनाइन्छ ।

पृष्ठभूमि
एड्स एचआईभी संक्रमणको अन्तिम र गम्भीर चरण हो, जसमा शरीरको रोग प्रतिरोधात्मक शक्ति अत्यन्त कमजोर भई व्यक्ति विभिन्न प्राणघातक रोग र अवसरवादी संक्रमणको उच्च जोखिममा पर्छ । नियमित उपचारले एचआईभीलाई एड्ससम्म प्रगति हुनबाट रोक्न सक्छ । विश्वमा सन् १९८१ देखि २०२४ को अन्त्यसम्ममा ९ करोड १४ लाख मानिस एचआईभी संक्रमित भएका छन् भने ४ करोड ४१ लाखको एड्सका कारण मृत्यु भइसकेको छ ।

नेपालमा सन् १९८८ मा पहिलो संक्रमित भेटिएको हो र हाल देशमा करिब ३४,३३७ जना एचआईभी संक्रमित रहेको अनुमान छ । नेपालमा दैनिक करिब १०७ जना नयाँ संक्रमित थपिन्छन् । नेपालमा एचआईभी महामारीलाई केन्द्रिकित महामारीका रूपमा परिभाषित गरिएको छ, जसमा जोखिम समूहहरूमा संक्रमणदर उच्च (५ प्रतिशतभन्दा बढी) तर सामान्य जनसंख्यामा १ प्रतिशतभन्दा कम छ ।

मुख्य जोखिम समूहमा यौनकर्मी, सुई प्रयोग गर्ने लागूपदार्थ प्रयोगकर्ता, पुरुष समलिंगी तथा तेस्रोलिंगी, कैदीबन्दी, तथा विदेश जाने कामदार पर्छन् । सर्वेक्षणहरूअनुसार सुई प्रयोगकर्तामा ३ प्रतिशत, महिला यौनकर्मीमा २.२ प्रतिशत, पुरुष समलिंगीमा ६.२ प्रतिशत र भारत जाने नेपाली कामदारमा ०.२ प्रतिशत संक्रमण देखिन्छ ।

गोरखा जिल्लामा करिब ३४८ जना एचआईभी संक्रमित भएको अनुमान छ । गोरखामा २३६ जना (१२७ पुरुष र १०९ महिला) उपचारमा छन्, जसमा २५–४९ वर्ष उमेर समूहका ११७ जना र ५० वर्षमाथिका १०५ जना छन् । पालुङटार नगरपालिका सबैभन्दा बढी प्रभावित क्षेत्र हो, र जोखिम समूहमध्ये विदेश जाने कामदार तथा उनीहरूको दम्पतिमा सबैभन्दा धेरै संक्रमण पाइएको छ ।

रोकथाम एवं प्रतिकार्यका क्रियाकलापहरुः
विश्वव्यापी एड्स रणनीति २०२१–२०२६ ले सन् २०३० भित्र एड्सलाई जनस्वास्थ्य खतराको अवस्थाबाट अन्त्य गर्ने र २०३० पछि पनि एचआईभी प्रतिकार्यलाई निरन्तर कायम राख्न विश्वव्यापी प्रयासहरूलाई केन्द्रित गर्ने उद्देश्य राखेको छ ।
नेपालको राष्ट्रिय एचआईभी रणनीतिक योजना (२०२१–२०२६) अनुसार सुईद्वारा लागू पदार्थ प्रयोग गर्ने, यौनकर्मी र उनका ग्राहक, पुरुष समलिंगी तथा तेस्रोलिंगी व्यक्तिहरू, रोजगारीका लागि विदेश जानेहरू र उनका दम्पति, तथा जेलका कैदीहरू जस्ता उच्च जोखिम समूहलाई लक्षित गरी एचआईभी रोकथाम, उपचार, हेरचाह र सहयोग कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

आउटरीच शिक्षा, कण्डम र लुब्रिकेन्ट्स प्रवद्र्धन, परामर्श(परीक्षण, यौनरोगको उपचार, जोखिम न्यूनिकरण, पिएमटीसीटी, एआरटी तथा समुदाय सहयोग लगायतका सेवा नियमित रूपमा उपलब्ध छन् । हाल ६४ जिल्लामा ९६ एआरटी केन्द्रमार्फत निःशुल्क उपचार दिइँदैछ । नेपालले २०२६ सम्म एचआईभी नियन्त्रणका लागि ९५–९५–९५को प्रमुख लक्ष्य लिएको छ । जसको अर्थ अनुमानित एचआईभी संक्रमित मध्ये ९५ प्रतिशतलाई आफ्नो एचआईभी को अवस्था थाहा भएको हुनेछ, एचआईभीको अवस्था थाहा भएको मध्ये ९५प्रतिशत उपचारमा हुनेछन्, उपचारमा रहेका मध्ये ९५ प्रतिशतको शरिरमा भाइरल भार नगन्य मात्रामा हुनेछ भन्ने हो ।

त्यसैगरी नयाँ संक्रमण ९५ प्रतिशतले घटाउने, आमाबाट बच्चामा संक्रमण रोक्ने, र जन्मजात भिरिंगीका केसलाई न्यून (५० प्रति लाखभन्दा कम) बनाउने लक्ष्य छ । नेपालमा एचआईभी रोकथाम र उपचारका विभिन्न सेवा र कार्यक्रम सरकार तथा संघ संस्थाहरूमार्फत सञ्चालन भइरहेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले गत वर्ष एचआईभी सम्बन्धी भेदभाव घटाउन प्रदेश अन्तर्गतका विद्यालयहरुमा अभिमुखिकरण कार्यक्रम संचालन एवं एचआईभी सम्बन्धी जनचेतनामुलक सामग्री प्रकाशन तथा प्रसारण गरेको थियो ।

यसवर्ष विश्व एड्स दिवस मनाउने, एचआईभी सम्बन्धी लान्छना तथा भेदभाव कम गर्न जनप्रतिनिधि, पत्रकार, प्रहरी, एचआईभी संक्रमित तथा मुख्य जोखिम समुहमा र विद्यालयहरुमा अभिमुखिकरण कार्यक्रम संचालन गर्ने योजना छ । प्रदेश अस्पताल गोरखामा रहेको एआरटी क्लिनिक मार्फत २३६ जना (१२७ पुरुष र १०९ महिला) ले उपचार पाइराखेका छन् । स्थानीयस्तरमा संक्रमित आमाबाट बच्चामा सर्ने एचआईभी रोकथामका लागि पिएमटीसीटी कार्यक्रम लागू छ र गर्भवती महिलाहरूका लागि निःशुल्क एचआईभी परीक्षण सुविधा उपलब्ध छ ।

त्यस्तै, सबै स्थानीय तहका स्वास्थ्य संस्थाबाट एचआईभी परामर्श र परीक्षण सेवा उपलब्ध छ र एचआईभी रोकथाम प्रवर्धनका लागि सम्पूर्ण सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क कण्डम वितरण हुन्छ । एचआईभी संक्रमणका कारण शरीरको रोग प्रतिरोधात्मक प्रणाली कमजोर हुँदा क्षयरोग र कालाजारको संक्रमणको जोखिम हुने हुनाले सो रोगका बिरामीहरुलाई पनि एचआईभी परीक्षण गरीन्छ । यस जिल्लामा गोरखा एआरटी केन्द्रमार्फत एचआईभी संक्रमितहरुलाई निःशुल्क उपचार हुन्छ ।
व्यक्तिगत स्तरमा एचआईभीरएड्स रोकथामक लागि निम्न रणनीतिहरू अपनाउन सकिन्छ:
यौन सम्पर्कमा सधैं कण्डम प्रयोग गर्ने र एक भन्दा बढी यौनसाथी नबनाउने ।
आफ्नै र यौनसाथीको नियमित एचआईभी परीक्षण गराउने।
संक्रमित रगत वा इन्जेक्सन उपकरण साटासाट नगर्नेस प्रि(एक्सपोजर प्रोफिल्याक्सिस वा पोस्ट(एक्सपोजर प्रोफिल्याक्सिस आवश्यकता अनुसार प्रयोग गर्ने।
गर्भवती महिलाले परीक्षण गराएर आवश्यक भएमा एआरटी लिने।
एचआईभीरएड्सका बारेमा सचेत रहने र सामाजिक लाज वा भेदभाव घटाउने।
चुनौतिहरु:
सन् २०२५ को वित्तीय संकटका कारण अन्तर्राष्ट्रिय सहयोगमा आएको तीव्र गिरावटले विशेष गरी कम–आय र मध्यम–आय भएका देशहरूमा रोकथाम, परीक्षण र समुदाय केन्द्रित सेवाहरूमा ठूलो अवरोध पैदा भएको छ । यसले सन् २०३० सम्मका विश्वव्यापी लक्ष्यहरू नपुग्ने अवस्था बनाइरहेको छ, जसले २०२५–२०३० बीच थप ३.३ मिलियन नयाँ संक्रमण हुनसक्ने अनुमान छ ।

नेपालमा यौनकर्मीहरु, सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरु, पुरुष समलिंगीहरु तथा तेस्रोलिंगीहरु, कारागारमा रहेका कैदी बन्दीहरु र रोजगारीका लागि बिदेशिनेहरुमा अहिले पनि उच्च संक्रमण दर रहेको छ । पनि यसको प्रभावले कार्यक्रम कार्यान्वयनमा विभिन्न चुनौतीहरू थपेको छ । बजेट र कार्यक्रम सीमित हुनु, आवश्यक औषधि तथा उपकरणको आपूर्ति कठिन हुनु, मानव स्रोत अभाव, सामाजिक भेदभाव र आर्थिक बाधा, रोकथाम तथा निगरानी कार्यक्रमको अपर्याप्तता, बाह्य वित्तीय सहयोग घट्नु, र अन्य स्वास्थ्य कार्यक्रमसँग पर्याप्त समन्वय नहुँदा सेवाको प्रभावकारिता र दिगोपन कमजोर बनेको छ ।
अबको निकास

सेवा पहुँचमा बाधा पु¥याउने लान्छना, भेदभाव र असमानता हटाउन जनचेतना र समावेशी कार्यक्रमलाई प्रवद्र्धन गर्दै यौन तथा प्रजनन स्वास्थ्य, क्षयरोग, मातृ–शिशु स्वास्थ्य, प्रयोगशाला लगायतका अन्य जनस्वास्थ्य कार्यक्रमसँग एचआईभी सेवाहरूलाई एकीकृत गर्नु अहिलेको आवश्यकता हो । हामीले राजनीतिक नेतृत्व, अन्तर्राष्ट्रिय सहकार्य, नवप्रवर्तन, मानवअधिकार केन्द्रित सेवा र समुदायको सक्रिय सहभागिताद्वारा एचआईभीरएड्स विरुद्धको प्रतिकार्यलाई पुनरावलोकन गरी थप मजबुत बनाउनु आवश्यक छ ।


निष्कर्ष

एचआईभी र एड्स रोकथाम र नियन्त्रणका लागि व्यक्तिगत र समुदाय स्तरमा सचेतना, सुरक्षित यौन व्यवहार, नियमित परीक्षण, उपचार पालन, तथा मानवअधिकार केन्द्रित र समावेशी कार्यक्रमको माध्यमबाट संक्रमण घटाउने प्रयासलाई बलियो बनाउनु आजको प्राथमिकता हो । यस वर्षको विश्व एड्स दिवस को नाराले एड्स विरुद्धको प्रयासमा हालका चुनौती र अवरोधलाई पहिचान गरी त्यसको समाधानमार्फत प्रतिकार्यलाई प्रभावकारी र दिगो बनाउने आवश्यकतालाई औंल्याउँछ । यसैगरी राजनीतिक नेतृत्व, अन्तर्राष्ट्रिय सहयोग, नवप्रवर्तन र समुदायको सहभागिताले एचआईभी र एड्स विरुद्धको समग्र प्रतिकार्यलाई थप मजबुत र दीगो बनाउन मद्दत गर्नेछ । लेखक प्रदेश जनस्वास्थ्य कार्यालय गोरखामा कार्यरत छिन् ।

प्रतिक्रिया दिनुहोस्