
सुत्केरी शिक्षकको सट्टामा शिक्षक राख्ने असल अभ्यास
गोरखाका केही पालिकाहरुले महिला शिक्षक सुत्केरी हुँदा उनको सट्टामा अर्को शिक्षक राख्ने नीति अपनाएका छन् । पालुङटार नगरपालिका, आरुघाट गाउँपालिका, गोरखा नगरपालिका लगायतले यसरी सट्टामा शिक्षक राख्ने नीति अपनाएका हुन् । जानकारीमा नआएका अरु पालिकाले पनि अपनाएका हुनसक्छन् ।
महिला शिक्षक सुत्केरी हुँदा तीन महिना(९० दिनसम्म) विदा पाउने व्यवस्था छ । तीन महिनासम्म एक जना शिक्षक अनुपस्थित हुँदा विद्यार्थीहरुको पठनपाठनमा समस्या नहोओस् भन्ने उद्देश्यले पालिकाहरुले सट्टा शिक्षक राख्ने व्यवस्था गरेका हुन् ।
आरुघाट गाउँपालिकाले विगत तीन बर्षदेखि उक्त कार्यक्रम लागू गर्दै आएको हो । कुनै महिला शिक्षक सुत्केरी भइन् भने पालिका स्वयंले तीन महिनाका लागि तहगत तथा विषयगत शिक्षक नियुक्त गर्छ । अनि हाजिरीको आधारमा पालिकाले विद्यालयलाई रकम उपलब्ध गराउँछ ।
कार्यालय सहयोगीको हकमा मासिक ५ हजार, बालबिकास शिक्षकको हकमा १० हजार, प्राथमिक तहको हकमा १२ हजार ५ सय, निम्न माध्यमिक तहको हकमा १५ हजार र माध्यमिक तहको हकमा १७ हजार ५ सय रुपैया उपलब्ध गराउने गरेको छ । यस कार्यक्रम अन्तर्गत पालिकाले गत आर्थिक बर्ष ८० हजार २४० रुपैया खर्च ग¥यो । चालु आर्थिक बर्षको हालसम्म १ लाख ९ हजार ६७ रुपैया निकासा भइसकेको छ् ।
पालुङटार नगरपालिकाले पनि सुत्केरी बिदामा बस्ने शिक्षकहरुको सट्टामा सहयोगी शिक्षकको व्यवस्था गरेको छ । पालुङ्टारले भने बिदा अवधिभर घुम्ति शिक्षक खटाउने गर्दछ । सहयोगी शिक्षक राख्न नगरपालिकाले नगर अनुदानमा सहयोगी शिक्षक व्यवस्थापन कार्यविधि बनाएको छ । घुम्ति शिक्षक भनेर अर्चना घिमिरे, बिना दुवाडी र सरिता देवकोटालाई नगरपालिकाको अनुदानमा करारमा नियुक्त गरिसकेको छ । उनीहरुलाई नै आवश्यक परेको ठाउँमा खटाउने गर्छ ।
महिलाको विशेष अवस्थालाई मध्यनजर गरी गरिएको यो खर्चलाई मनासिब रुपमा लिनु पर्दछ ।




