| बुधबार, जेष्ठ १९, २०८३

गोरखा संग्रहालयमा ऐतिहासिक सम्पदाहरुको ‘फोटो प्रदर्शनी’

ऐतिहासिक तथा पुरातात्विक सामग्रीहरुले भरिएको गोरखा संग्रहालयमा हनुमानढोका दरबार संग्रहालयले फोटो प्रदर्शनी कार्यक्रम गरेको छ । गत शनिबारबाट सुरु भएको साताव्यापी फोटो प्रदर्शनीका ग्यालरीमा देशभरका प्राचीनकालीन तथा मध्यकालीन इतिहास झल्कने तस्वीरहरु राखिएका छन् ।

गोरखा संग्रहालको पटाङ्गिनीमा राखिएको ग्यालरीमा गोरखा दरबार, नुवाकोट दरबार, पाल्पा दरबार, जनकपुरको राम जानकी मन्दिर, कपिलबस्तुको लुम्बिनी, काठमाडौँको सेतो मछिन्द्रनाथको जात्रा, नौतले दरबार लगायतका ५० भन्दा बढी सम्पदाका फोटोहरु प्रदर्शनीमा राखिएका गोरखा संग्रहालयका प्रमुख जयनारायण कार्कीले बताए ।

कार्यक्रम अबधिभर संग्रहालयको प्राङ्गणमा विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका विभिन्न सम्पदाहरुसहित देशैभरका ऐतिहासिक एवं पुरातात्विक सम्पदाहरुको फोटो प्रदर्शनी भैरहेको उनले जानकारी दिए ।
फोटो प्रदर्शनीमा गोरखा नगरपालिकाभरिका तथा अन्य पालिकाबाट पनि विद्यार्थीहरु सामुहिक रुपमा सहभागी हुन आएका छन् ।

‘स्कूल, कलेजका पाठ्यक्रममा समावेश भएका सम्पदाको फोटोहरु राखिएकाले शिक्षक, विद्यार्थीहरुको रुचि बढेको हो’, कार्कीले भने, ‘स्कूल कलेजका विद्यार्थीहरुलाई निशुल्क फोटोहरुको अवलोकन गर्ने व्यवस्था गरेका छौँ ।’ विद्यार्थीबाहेक अरु अवलोकनकर्ताका लागि पनि अतिरिक्त शुल्क नलिने गरेको उनको भनाइ छ । ‘फोटो प्रदर्शनी कार्यक्रममा सहभागी हुन कुनै अतिरिक्त शुल्क लाग्दैन् । संग्रहालय आउँदा लाग्ने नियमित शुल्कबाटै हेर्न सकिन्छ’, उनले भने ।


फोटो प्रदर्शनी कार्यक्रममा हालसम्ममा एकहजार बढीले अवलोकन गरिसकेको संग्रहालय प्रमुख कार्कीले बताएका छन् । विषेश गरी विभिन्न विद्यालयहरुबाट उल्लेखनीय सङ्ख्यामा विद्यार्थीहरुले कार्यक्रम अवलोकन गरेको उनको भनाइ छ ।
विद्यार्थी एवं सर्वसाधारणहरुलाई नेपालको ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेका सम्पदाहरुको बारेमा जानकारी दिने उद्देश्यसहित फोटो प्रदर्शनी कार्यक्रम आयोजना गरेको संग्रहालय प्रमुख कार्कीले बताएका छन् ।
उनी भन्छन्, ‘हनुमान ढोका दरबार संग्रहालयले यस्तो फोटो प्रदर्शनी कार्यक्रमहरु देशैभरका संग्रहालयमा बेलाबखत गरिरहन्छ । यो वर्ष भने गोरखामा गरेको हो ।’