
लाप्राकको मणिकामदेवी माविमा ट्रेकिङ गाइड तालिम सुरु
गोरखाको धार्चे गाउँपालिका ४ लाप्राकको मणिकामदेवी माविमा ट्रेकिङ गाइड तालिम सुरु भएको छ । पदयात्रा र पर्वतारोहणको क्षेत्रमा यहाँका स्थानीयहरुको आकर्षण बढिरहेकाले दक्षता सहितको ट्रेकिङ गाइड उत्पादन गर्नका लागि नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्यटन बोर्डको साझेदारीमा बुधबारबाट ३४ औ ट्रेकिङ गाइड तालिम सुरु भएको हो ।
मणिकामदेवी माविको ११ र १२ मा पर्यटन र पवर्तरोहण विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई ट्रेकिङ गाइड तालिम दिएको विद्यालयका प्रधानाध्यापक धनबहादुर गुरुङले जानकारी दिए । १६ गतेदेखि ३० गतेसम्म संचालन हुने तालिममा विद्यालयमा अध्ययतर ५५ जना विद्यार्थीहरु सहभागी छन् । पढ्दै कमाउदै रोजगार मुलक शिक्षा, जीविकोपार्जन स्वरोजागारमुलक शिक्षालाई जोड दिदै तालिम दिएको उनले बताए ।
लाप्राकका धेरै व्यवसायी पर्यटन क्षेत्रमा आबद्ध रहेको र मणिकामदेवी माविमा पर्यटन सम्बन्धी विषय अध्ययन गर्ने विद्यार्थीहरुको आकर्षण बढिराखेकाले उनीहरुलाई ट्रेकिङ सम्बन्धी तालिम दिइएको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका निर्देशक उत्तम भट्टराईले बताए ।
‘लाप्राकमा पर्यटन व्यवसायीहरु धेरै छन् । यहाँका विद्यार्थीहरुमा पनि पर्यटन क्षेत्रप्रतिको आकर्षण बढ्दै गएको छ’, उनले भने, ‘त्यसैले किताबमा भएको कोर्सलाई प्राक्टिकल रुपमा देखाउन तालिम सुरु गरिएको हो ।’
ट्रेकिङ जाँदा आइपर्ने समस्या, जलबायु परिवर्तनका असरहरु, पर्यटन क्षेत्रमा टे«किङ गाइडको भूमिका कसरी निर्वाह गर्ने, विदेशी पाहुनालाई कसरी स्वागत सत्कार गर्ने, पर्यटकको सुरक्षा कसरी गर्ने लगायतका कुराहरु तालिममा सिकाईने भट्टराईले जानकारी दिए ।
यसअघि यस प्रकारका तालिमहरु काठमाण्डौमा मात्र हुने गरेको र दुर्गमका विद्यार्थीहरुलाई आउजान गर्न समस्या हुने र बढी खर्च हुने भएकाले अहिले सम्बन्धित ठाउँमै लगेर तालिम दिएको उनले बताए । तालिमका क्रममा रुपीनाला ट्रेकिङ र इपिसेन्टर पदयात्रामा प्राक्टिकल गराइने उनले बताए । उनका अनुसार तालिमपश्चात सबै विद्यार्थीले गाइड लाइसेन्स पाउनेछन् ।

१५ दिनसम्म चल्ने तालिममा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानबाट हिमाल पण्डित र अनिस दाहाल प्रशिक्षकमा रुप खटिएका छन् ।
ट्रेकिङ गाइड तालिम पर्यटन, पर्वतारोहण, पदयात्रा पर्यटन लगायतका विषयमा प्रशिक्षण दिइने तालिमका संयोजक तथा प्रशिक्षक हिमाल पण्डितले जानकारी दिए । जसअन्तरगत हिमाली, पहाड, तराईमा भएका धर्म संस्कृतिका बारेमा, हिमाली क्षेत्रमा पदयात्रा गर्दा अपनाउनुपर्ने उपायहरु, उच्च हिमाली क्षेत्रमा हुने जोखिमहरुबाट कसरी बच्ने, दुर्घटना भइहाले प्राथमिक उपचार कसरी गर्ने भन्ने बारेमा जानकारी दिइने उनले बताए ।
त्यस्तै, रक क्लाइम्विङ, हाइकिङ, प्याकिङदेखि पदयात्रामा गर्नुपर्ने अधिकांश सीपहरु तालिमका क्रममा सिकाइने उनको भनाइ छ । हिमाली क्षेत्रमा पदयात्रा गर्दा कुन ठाउँमा कसरी अस्थायी घर निर्माण गर्ने, खानापान, लुगाफाटा व्यवस्थापन कसरी गर्ने, दुर्लभ बन्यजन्तु, वनस्पतिका बारेमा जानकारी दिनुका साथै सरकारी राष्ट्रिय निकुञ्चका नियमहरुका बारेमा पनि जानकारी गराइने प्रशिक्षक पण्डितले बताए ।
त्यस्तै, विदेशी पाहुनालाई कसरी सत्कार गर्ने, मौलिक परम्परालाई कसरी जानकारी दिने, आफनो गाउँठाउँमा भएको हिमाल, ताल, नदी पोखरीका बारेमा पर्यटकलाई कसरी जानकारी भनेर सिकाइने उनले बताए । पर्यटकलाई भ्रमण गराउँदा प्रभावकारी व्यवस्थापन गर्नसक्ने दक्षतासहितको ट्रेकिङ गाइड उत्पादन गर्न तालिम दिइएको उनले बताए ।




