| मङ्लबार, असार १५, २०८३

नुब्री मनास्लु कपको उपाधि पाँचौ पटक पनि साम्दो एफसीलाई

मनासलु हिमालको फेदीमा सम्पन्न नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको उपाधि पाँचौँ पटक पनि साम्दो एफसीले कब्जा गरेको छ । सोमबार सम्पन्न मनास्लु कपको फाइनल खेलमा सामागाउँ एफसीलाई २–१ गोल अन्तरले पछि पार्दै साम्दोले उपाधि जितेको हो ।

त्यस्तै स्याला ए एफसीलाई पछि पार्दै स्याला बी एफसीले तेस्रो स्थान हाँसिल गरेको छ । विजेता साम्दो एफसीले नगद रु एक लाख ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेता बनेको सामागाउँ एफसीले रु ७५ हजार र प्रतियोगितामा तेस्रो हुने स्याला एफसीले नगद रु ४५ हजार पुरस्कार प्राप्त गरेको छ ।

महिलातर्फको प्रतियोगितामा स्याला एफसी प्रथम बनेको छ । उपविजेता सेराङ एफसी र तेस्रो सामा एफसी बनेको छ । बिजेता टिमले ४५ हजार, नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै उपविजेताले २० हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कार जितेका छन् ।

प्रतियोगितामा अनुशासित खेलाडी, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट गोलरक्षकहरुले पनि पुरस्कार प्राप्त गरेका छन् ।
उनीहरुलाई प्रमुख अतिथि खेन्पो ग्याल्जेन, लामा जिग्मेलगायतले पुरस्कार वितरण गरेका थिए । समुद्री सतहदेखि ३५०० मिटर उचाइको स्याला खेलमैदानमा बुधबारदेखि हाई अल्टिच्यूड मनास्लु कप फुटबल प्रतियोगिता भएको थियो । आलोपालो पद्धति अनुसार यस पटकको प्रतियोगिता बिही सेराङ्गी हिमाली युवा क्लवले आयोजना गरेको थियो । आउँदो नवौं श्रृङ्खला सिर्दिबास एफसीले आयोजना गर्ने निर्णय भएको साम्दोका कर्मा साम्द्रुप लामाले जानकारी दिए ।

उत्तरी गोरखा हिमाली भेगका युवाहरु बीच मेलमिलापको भावना विकास गर्न र स्थानीयहरु बीच एकआपसमा मेलमिलापको भावना जगाउन लामा गुरु सोनाम दोर्जे रिम्पोछेले पहिलो पटक २०७३ सालबाट नुब्री मनास्लु कप फुटबल प्रतियोगिता नाम दिएर हाइअल्टिच्यूड फुटबल खेलको सुरुवात गरेका थिए । सोही समयबाट निरन्तर प्रतियोगिता आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्