| बुधबार, अशोज १३, २०८३

‘एक घर एक धारा’ कार्यक्रम अन्तरगत गोरखामा ३३ हजार धारा जडान

गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘एक घर एक धारा’ कार्यक्रम अन्तरगत गोरखामा ३३ हजार भन्दा धेरै घरहरुमा खानेपानीका धारा जडान भएका छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाार्फत आर्थिक वर्ष २०८०÷८१ सम्ममा जिल्लाभर ३३ हजार २१५ वटा धाराहरु जडान भएका थिए ।

जिल्लाको कूल लाभग्राहीमध्य यो ९१.५ प्रतिशत हो । कार्यक्रम लागु भएको पाँचबर्षको अवधिमा उल्लेख्य प्रगति भएको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष जिल्लामा थप पाँचसय बढी पानीका धाराहरु जडान भएका कार्यालयका सव–इन्जिनियर दिपक खनालले बताए । ‘हामीले गोरखा र लमजुङको कार्यक्रम हेर्ने गर्दछौँ । चालु आवमा दुवै जिल्लाका लागि ९१५ वटा पानीको धारा जडान गर्ने कार्यक्रम आएको थियो ।

जसमध्य करिब तीन सय पानीको धाराहरु लमजुङमा जडान भएका छन् भने बाँकी गोरखामा जडान भएका हुन्’, उनले भने ।
एक घर एक धारा कार्यक्रमका लागि कार्यालयमा चालु आर्थिक वर्ष ३० करोड ३० लाख रुपैँया बजेट आएको उनले जानकारी दिए । उक्त रकमबाट दुवै जिल्लामा कार्यक्रम संचालन गरिएको सव–इन्जिनियर खनालले बताएका छन् ।

‘हालसम्म जिल्लाको ९१.५प्रतिशत जनसंख्यामा खानेपानीको पहुँच पुगेको छ’, उनले भने, ‘यो तथ्याङ्क अन्य जिल्लाहरुको तुलनाका धेरै राम्रो हो ।’ लम्जुङको आधारभूत खानेपानी पहुँच प्रतिशत भने ८५.८८ प्रतिशत रहेको र त्यहाँ हालसम्म करिब १९ हजार ४२० वटा खानेपानीको धाराहरु जडान् भइसकेको उनको भनाइ छ ।

कार्यालयले पानीको धाराहरु नभएका ठाउँमा धारा निर्माण गर्ने र धारा भएका ठाउँहरुमा मर्मत सम्भारको काम गर्ने गरेको छ । तर, पानीको स्रोत सुनिश्चितताको जिम्मा भने आफूहरुले नरहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाका प्रमुख तुल्सी बस्नेतले बताए । ‘पानीको स्रोत सुनिश्चितता र मुल दर्ताको काम भने स्थानीय सरकारको हो’, बस्नेतले भने, ‘हाम्रो कार्यालयले आयोजना निर्माणको काम मात्र हेर्छ ।’

जिल्लामा आर्थिक वर्ष २०७५/७६ देखि एक घर एक धारा अभियान सुरु भएको थियो । अभियानको हालसम्मको प्रगति विवरण ९१.५ प्रतिशत छ । अभियान अन्तरगत पानीको धारा निर्माणको काम लगभग सम्पन्न भएता पनि मर्मत सम्भार र नयाँ आयोजनाका कामहरु निरन्तर रुपमा संचालन हुने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्