
गोरखा मेयर कप फुटबलको उपाधी वडा नम्वर ३ लाई, उपमेयर कप महिला भलिबलतर्फ धादिङको निलकण्ठ बिजयी
गोरखा नगरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगिताको उपाधी वडा नम्वर ३ ले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा वडा नम्वर ९ लाई पेनाल्टी सुटआउटमा हराउँदै वडा नम्वर ३ उपाधी विजेता बनेको हो । विजेता टिमले १ लाख १ हजार १ सय ११ रुपैया नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उप–विजेता टिमले ५१ हजार १ सय ११ रुपैया नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक गोरखा नगरपालिकाले जनाएको छ । प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको वडा नं १० ले नगद रु ३० हजार १ सय ११ रुपैयासहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सान्त्वना भएको वडा नम्वर ७ ले १५ हजार १ सय ११ रुपैँया नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ताका रुपमा पृथ्वी राना पुरस्कृत भएका छन् । वडा नम्वर ९ बाट खेलेका उनले प्रतियोगिता अवधीभर उनले ५ गोल गरेका थिए । गोनपा–३ का प्रमोदजंग कुँवर उत्कृष्ट गोलरक्षक घोषित भए । गोनपा–१० का प्रविन कुमाल सर्वाेकृष्ट खेलाडी घोषित भए भने गोनपा–३ का भिम बहादुर कुमाल उत्कृष्ट प्रशिक्षक बने । उनीहरुलाई नगद पुरस्कार दिइएको छ । प्रतियोगितामा नगरभित्रका १४ वटै वडाको सहभागीता रहेको थियो ।
यता प्रथम उपमेयर कप महिला भलिवल प्रतियोगिताको उपाधी भने धादिङको निलकण्ठ नगरपालिकाले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा बारपाक सुलिकोटलाई हराउँदै निलकण्ड नगरपालिका उपाधी बिजेता बनेको हो । गोरखा नगरपालिकासँग भगिनी सम्बन्ध भएकाले निलकण्ठ नगरपालिकालाई प्रतियोगितामा सहभागी गराइएको हो ।
उपाधी बिजेता उक्त नगरपालिकाले १ लाख १ हजार १ सय ११ रुपैया नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपाधी उपबिजेता बनेको बारपाक सुलिकोट गाउँपालिकाले ५१ हजार १ सय ११ नगद पुरस्कार पाएको छ । तेस्रो स्थान हासिल गरेको शहिदलखन गाउँपालिका र चौथो बनेको आरुघाट गाउँपालिकाले क्रमश ३० हजार १ सय ११ र १५ हजार १ सय ११ रुपैया नगद पुरस्कार प्राप्त गरेको आयोजक गोनपाले जनाएको छ । साथमा ट्रफी, मेडल र प्रमाणपत्र पनि प्रदान गरिएको बताइएको छ ।
प्रतियोगितामा निलकण्ठ गाउँपालिकाकी कृशला बराम उत्कृष्ट सर्भर बन्न सफल भइन् । उत्कृष्ट डिफेन्डरको उपाधी बारपाक सुलिकोट गाउँपालिकाकी संगिता बरामले प्राप्त गरिन् भने उत्कृष्ट सेटर निलकण्ठ नगरपालिकाकी जमुना गुरुङ बनिन् । यस्तै, उत्कृष्ट स्पाइकर निलकण्ठकी सलिना गुरुङ, उत्कृष्ट ब्लकर बारपाक सुलिकोटकी रुपा विक र उत्कृष्ट प्रशिक्षक निलकण्ठका महेन्द्र ढुङ्गाना घोषित भए । उनीहरुले नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
सर्वोत्कृष्ट खेलाडी निलकण्ठकी गंगा गुरुङ बनिन् । उनलाई पनि नगद पुरस्कार प्राप्त गरिन् । प्रतियोगितामा जिल्लाका सात र धादिङको निलकण्ठ सहित आठ टिमबीच प्रतिस्पर्धा भएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम भएको थियो । कार्यक्रममा गोरखा नगरपालिका मेयर कृष्ण राना, उपमेयर मसली माया थोकर, प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधी लगायतको सहभागीता रहेको थियो ।




