
गोनपाको राष्ट्रपति रनिङ शिल्ड शक्ति माविको पोल्टामा, पानपामा अमरज्योति जनता मावि विजयी
गोरखा नगरपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि शक्ति मावि पाटेचौरले हात पारेको छ । ७ स्वर्ण, १ रजत र ३ कास्य गरी कुल ११ पदक हात पार्दै शक्ति मावि उपाधि जित्न सफल बनेको हो ।
प्रतियोगितामा ४ स्वर्ण, ५ रजत र ५ कास्य गरी कुल १४ पदकसहित गोनपा–९ लक्ष्मीबजारको महालक्ष्मी मावि दोस्रो बनेको छ भने ४ स्वर्ण, ३ रजत र ५ कास्य गरी कुल १२ पदकसहित तारा मावि छेवेटार तेस्रो बनेको छ ।
शनिबार आयोजित समापन समारोहमा बिजेताहरुलाई गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा पालिकाभित्रका १९ सामुदायिक विद्यालयहरुले सहभागिता जनाएका थिए । तीन दिनसम्म चलेको प्रतियोगितामा छात्रा र छात्र दुबैतर्फ गरी २८ विधामा खेलहरु भएको थियो । गोनपा–१० को अध्यक्ष प्रदीप कुँवरको अध्यक्षता एवं मेयर कृष्ण रानाको प्रमुख आतिथ्यतामा प्रतियोगिताको समापन समारोह सम्पन्न भएको हो ।
यसैगरी, पालुङटार नगरपालिकाको चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अमरज्योति जनता माविले हात पारेको छ । नगरपालिकाको आयोजना तथा पानपा–७ च्याङ्गलीस्थित जीवनज्योती माविको संयोजनमा सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र ४ कास्य गरी कुल १९ पदक हात पार्दै अमरज्योती पदक जित्न सफल बनेको हो ।
यस्तै, ६ स्वर्ण, ५ रजत र २ कास्य गरी कुल १३ पदक सहित रजगरे मावि दोस्रो बनेको छ भने ३ स्वर्ण, ५ रजत र २ कास्य गरी कुल १० पदकसहित जीवनज्योती मावि प्रतियोगितामा तेस्रो बनेको छ । प्रतियोगितामा पालिकाभित्रका १७ विद्यालयहरुले सहभागिता जनाएका थिए । तीन दिनसम्म चलेको प्रतियोगितामा छात्रा र छात्र दुबैतर्फ गरी २८ विधामा खेलहरु भएको थियो ।




